हामी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीसँग लामो अन्तर्वार्तामा छौं।
हिजो पहिलो अंकमा प्राधिकरणको ‘बृहत टुँडिखेल’ मास्टरप्लानबारे चर्चा गर्यौं, आज काठमाडौंको ‘कोर–सिटी’ बारे चर्चा गर्दैछौं।
प्रधानमन्त्री केपी ओली अध्यक्ष रहेको पुनर्निर्माण प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रको मास्टरप्लान बनाउँदै छ। त्यसैमध्ये ‘कोर सिटी’ लाई पुरानो वैभव ब्युँताएर ‘सम्पदा सहर’ मा रूपान्तरण गर्ने एक हो।
हिजोको अंकमा मैले सुशील ज्ञवालीको एउटा ट्वीटको कुरा गरेको थिएँ, जसलाई पछ्याउँदै म उनलाई भेट्न गएँ।
मंसिर १२ को उक्त ट्वीटमा उनले भनेका थिए, ‘हामीले हनुमानढोका क्षेत्रमा रहेको प्रहरी कार्यालय भवन भत्काएर त्यहाँ खुला स्थल बनाउने तयारी गरेका छौं। त्यस क्षेत्रमा रहेका महत्वपूर्ण सम्पदाहरू संरक्षण गर्न थप केही संरचना हटाउनेबारे छलफल गरेका छौं। सम्बन्धित निकायहरूसँग समन्वय गरेर अघि बढ्दैछौं।’
ज्ञवालीलाई भेटेपछि थाहा भयो, हनुमानढोका प्रहरी कार्यालय भत्काएर खुला स्थल बनाउने योजना ‘कोर–सिटी’ मास्टरप्लानकै हिस्सा रहेछ।
सुरूआतमा हनुमानढोकाको यो खण्ड कसरी पुनर्निर्माण हुँदैछ, त्यसैको कुरा गरौं।
तपाईंहरूले याद गर्नुभएको होला, दरबारको पछाडि भागमा वसन्तपुरको खुला डबली छ। त्यही डबलीबाट न्यूरोड र झोछेँ जाने बाटो खुल्छ।
अगाडिको भाग भने यत्तिकै खुला र फराकिलो छैन। जबकि, काठमाडौं कोर–सिटीलाई दरबारसँग जोड्ने हिस्सा यही हो। यहीँबाट एउटा बाटो इन्द्रचोक हुँदै असनतिर जान्छ। अर्को बाटोले दरबार क्षेत्रलाई कोर–सिटीको लिच्छविकालीन मार्गसँग जोड्छ। टेकुदेखि छत्रपाटीसम्म तन्किएको यही मार्ग काठमाडौंको प्राचीन सभ्यता झल्काउने ‘लाइफलाइन’ हो।
यति महत्वपूर्ण क्षेत्र के त्यति बेला पनि अहिलेजस्तै सांघुरो थियो होला?
मल्लकालमा दरबार क्षेत्र फराकिलो ‘कम्प्लेक्स’ का रूपमा निर्माण गरिन्थ्यो। यहाँ भित्री सहरका सबैजसो साना–ठूला बाटोको मोहडा खुल्थे, जुन अहिले पनि कायम छ। यो मल्लकालीन ‘आर्किटेक्चर’ को नमूना हो। मुख्य जात्राहरू सबै वसन्तपुर डबलीमा हुन्थे। प्रशासनिकदेखि सांस्कृतिक काममा समेत डबली प्रयोग हुन्थ्यो। राज्यभरिका मान्छे जमघट हुने ठाउँ यही थियो।
दरबारको यही ‘कम्प्लेक्स’ भित्र उपत्यकाका सबैजसो मुख्य मन्दिरहरू हामी देख्छौं। मल्लकालमा दाजुभाइबीच राज्य भाग लाग्यो। एउटा ठाउँको मन्दिरमा अर्को राजा जान छाडे। शिवरात्रिमा पशुपति जानु सट्टा पशुपतिलाई नै दरबार अगाडि ल्याए। कृष्णजात्रा हेर्न पाटन जानु नपर्ने भयो, दरबारको मूलढोका अगाडि नै कृष्ण मन्दिर स्थापना गराए।
पाटन र भक्तपुर दरबार स्क्वायरमा पनि यस्तै शैली देखिन्छ। भक्तपुरमा त चारधाम नै स्थापना गरिएको छ।
यसले हामीलाई के बुझाउँछ भने, उपत्यकाका सबै दरबार क्षेत्र खुला र फराकिलो थियो। प्राधिकरणको ‘कोर–सिटी’ मास्टरप्लानले हनुमानढोकालाई पुरानै स्वरूपमा फर्काउने उद्देश्य लिएको छ।
‘हामीले यहाँको मल्लकालीन स्वरूप कस्तो थियो भनी विज्ञहरूसँग छलफल गरेका छौं,’ उनले भने, ‘यस्तो ऐतिहासिक र पुरातात्विक स्थलको बीचमा प्रहरी कार्यालय साह्रै नसुहाउँदो छ। सेनाको जति संरचना अहिले देखिन्छ, ती पनि धेरैजसो नयाँ बनेका हुन्। यसबाहेक दुइटा स्कुल र केही घर नयाँ बनेका छन्।’
उनका अनुसार, पहिलो चरणमा प्रहरी कार्यालय भवन भत्काइँदैछ। भुइँचालोपछि प्रहरीहरू टेकुको नेसनल ट्रेडिङ परिसरमा सरिसके। अब यो प्रहरी अड्डा हनुमानढोका फर्केर आउँदैन। त्यसको सट्टा यहाँ वसन्तपुर डबलीजस्तै खुला स्थल निर्माण गरिनेछ। यसको कार्यान्वयन सुरू भइसक्यो।
त्यसपछि आउँछ, सेनाले ओगटेको क्षेत्र।
प्रहरी कार्यालयसँगै सेनाको ऐतिहासिक कोतघर छ। ‘जंगी निशान’ भनिने सेनाको प्रतीक चिह्न यही ठाउँमा रहेको ज्ञवालीले बताए। सेनाका यी ऐतिहासिक स्थलहरू जस्ताको तस्तै राखिनेछन्। नयाँ बनेका घर र टहरा भने भत्काइनेछ।
सेनाले आफ्नो परिसर वरिपरि अग्लो पर्खाल लगाएको छ। त्यसले दरबार क्षेत्र साँघुरो बनाउँछ। यो पर्खाल भत्काएर हनुमानढोका अगाडिको भाग फराकिलो पारिनेछ।
‘हामीले प्रधानसेनापतिसहित स्थानीय जनप्रतिनिधिहरूलाई वसन्तपुरमै डाकेर छलफल गर्यौं। सेनाको इतिहास जोडिएको क्षेत्र संरक्षण गर्दै पुरानै स्वरूपमा फर्काउने भनेपछि उहाँहरू सहमत हुनुभयो,’ ज्ञवालीले भने, ‘सरोकारवालाहरूको सहमतिपछि मैले त्यहाँ खुला स्थल बनाउने भनेर ट्वीट गरेको हुँ।’
दुइटा सार्वजनिक स्कुल भने वरिपरिका अरू दुइटा स्कुलमा गाभ्ने कुरा भएको छ। यसबारे स्कुल व्यवस्थापन र जनप्रतिनिधिसँग छलफल भइसकेको छ, ज्ञवालीले भने, ‘हनुमानढोका क्षेत्रलाई कोर–सिटीको पर्यटन ‘हब’ बनाउने हाम्रो उद्देश्य हो।’
यो त भयो हनुमानढोका परिसरको कुरा, अब ‘कोर–सिटी’ मास्टरप्लानमा अरू के–के छन्, त्यो हेरौं।
यसमा चारवटा योजना छन्।
पहिलो, कोर–सिटीका मूलसडकदेखि सहायक सडकहरू सबैमा इँटा छापेर प्राचीन ‘आउटलुक’ दिने। र, यी बाटोलाई ‘सम्पदा मार्ग’ का रूपमा विकास गर्ने।
जस्तो, विष्णुमती किनारको टंकेश्वरबाट भीमसेनस्थान, काष्ठमण्डप हुँदै हनुमानढोका पुग्ने बाटो प्राचीन ‘आउटलुक’ सहितको सम्पदा मार्ग बन्नेछ। यही बाटो इन्द्रचोक, असन हुँदै कमलाक्षी र भोटाहिटीसम्म पुग्छ।
टेकुको वन्देनारायणबाट छिर्ने बाटोलाई हनुमानढोका हुँदै यतखा, नरदेवी, छत्रपाटी, थँहिति र ठमेलसम्म सम्पदा मार्ग बनाइनेछ।
न्यूरोड गेटबाट वसन्तपुरसम्म तन्किएको तेर्सो बाटो पनि सम्पदा मार्ग हुनेछ। झोछेँबाट इन्द्रचोक, किलाघः, नघः हुँदै ठमेलसम्म अर्को सम्पदा मार्ग बन्नेछ।
‘हनुमानढोकालाई केन्द्रमा राखेर सहरका चारैतिर सम्पदा मार्गहरू विकास गरेपछि प्रत्येक रूटमा ‘गाइडेड टुर’ चलाउन सकिन्छ,’ ज्ञवालीले भने, ‘विदेशी पर्यटकलाई काठमाडौंको प्राचीन सभ्यता देखाउन यो आकर्षक प्याकेज हुनेछ।’
काठमाडौं महानगरपालिका, सहरी योजना आयोगले पनि यसमा काम गरिरहेको छ। मैले केही साताअघि आयोगका उपाध्यक्ष सरोज बस्नेतलाई भेटेको थिएँ। उनले ‘लिच्छवि र मल्लकालीन सम्पदा झल्काउने चार–पाँचवटा रूटमा काम भइरहेको’ बताएका थिए। यसमा उपाकू मार्ग, मच्छिन्द्रनाथ जात्रा, कुमारी रथयात्रा र काठमाडौंका बहालहरू जोड्ने भित्री गल्लीहरू पर्छन्।
सहरभरिका सडक र गल्लीलाई प्राचीन स्वरूपमा ढालेपछि दोस्रो योजना सुरू हुन्छ।
सडक दायाँबायाँका सबै घरको बाहिरी मोहडा मौलिक नेवार ढाँचामा पुनर्निर्माण गरिनेछ। घरको मोहडा फेर्न सबै स्थानीयको आर्थिक क्षमता नहुनसक्छ। तिनलाई काठ, इँटा र कालिगढ निम्ति अनुदान दिने ज्ञवालीले बताए।
प्राधिकरणले मास्टरप्लान कार्यान्वयन गर्न पहिलो चरणमा साढे दुई अर्ब रुपैयाँ छुट्टयाएको छ। यो रकमबाट हनुमानढोका दरबार क्षेत्र र कोर–सिटी पुनर्निर्माण सुरू गरिनेछ। सडकमा इँटा बिछ्याउने, ढल निकास, खानेपानी पाइप, निजी घरका बाहिरी मोहडा फेर्ने लगायत पर्छन्। केही काम सुरू भइसके। महानगरले पनि यसमा लगानी गर्छ।
‘यी दुवै योजना सुरूमा हनुमानढोका वरिपरि लागू हुनेछ,’ उनले भने, ‘विश्व सम्पदा स्थल र वरपरको क्षेत्र प्राचीन स्वरूपमा ढालेपछि कोर–सिटीका अरू सबै ठाउँमा क्रमिक रूपले लागू गर्दै जानेछौं।’
राष्ट्रसंघीय नियोग ‘युनेस्को’ को निर्देशिकाले भन्छ, सम्पदा स्थल वरिपरि नयाँ संरचना छ भने त्यसलाई सम्पदाकै मर्मअनुसार ढाल्नुपर्छ। त्यसो गर्न सकिन्न भने भत्काएर खुला छाड्नुपर्छ, ज्ञवालीले भने, ‘हामीले सिंगो काठमाडौं सहरलाई विश्व सम्पदामा सूचीकृत गराउने उद्देश्यले यहाँको मौलिक कला, संस्कृति र सभ्यता ब्युँताउने गरी मास्टरप्लान बनाएका हौं।’
‘आधुनिक संरचना बनाउन काठमाडौं, पाटन वा भक्तपुरका कोर–सिटीहरू नै ताक्नुपर्दैन। त्यहाँ त हाम्रा पुर्खाले बनाएका धरोहर छँदैछन्। हामीले आधुनिक इञ्जिनियरिङ देखाउने भनेको त्योभन्दा बाहिरको क्षेत्रमा हो। पुरानो सभ्यता नचलाइकन नयाँ सभ्यता बसाउनुपर्छ। र, ती दुवैलाई जोड्ने काम गर्नुपर्छ,’ उनले भने।
मास्टरप्लानको तेस्रो योजना हो, यहाँका साना–ठूला बहाल, चोक र डबलीहरूको पुनर्निर्माण। यसमा वसन्तपुर, इटुम्बहाल, टेबहाल, यतखा, इन्द्रचोक, असन लगायत पर्छन्।
यी सबै काठमाडौंका मल्लकालीन र कति त्योभन्दा पुराना ‘आर्किटेक्चर’ हुन्। मल्लहरूले इन्द्रचोक, असन, जैसीदेवलजस्ता चोकलाई ‘मार्केट स्क्वायर’ का रूपमा विकास गरेका थिए। यी ठाउँमा अहिले पनि दुई–तीन सय वर्ष पुराना पसल छन्।
बहालहरू सामाजिक जमघटनिम्ति बनेका संरचना हुन्। यहाँ स्थानीयको पूजाआजादेखि बिहे–ब्रतबन्ध र घाम ताप्नेसम्म हुन्छ। बहालभन्दा भित्र स–साना चोकहरू पनि हामी देख्छौं।
काठमाडौंका यी परम्परागत स्थलहरू आधुनिक संरचनाले कुरुप बनेका छन्। ऐतिहासिक घरहरू मासेर व्यापारिक कम्प्लेक्स ठड्याउने होड छ। बहालहरूमा गाडी र मोटरसाइकल पार्किङ हुन्छ। कतिपय ठाउँमा स्थानीयबाटै अनधिकृत संरचना बनाएर मिचिएका छन्।
ती संरचना भत्काएर र पार्किङ हटाएर खुला सार्वजनिक स्थलमा परिणत गरिने ज्ञवालीले बताए। भुइँचालोले क्षति पुगेका मन्दिर र चैत्यहरू जीर्णोद्धार गरिनेछन्। चोक र बहाललाई ‘जतिसक्दो वास्तविक स्वरूपमै फर्काउने’ योजना छ।
‘काठमाडौंका पुरातात्विक तथा सांस्कृतिक सम्पदा स्थलहरू विभिन्न निकायबाट अतिक्रमण भएका छन्। सरकारी निकायबाट पनि जानेर–नजानेर अतिक्रमण भएको छ। अरू विभिन्न संघ–संस्था र जनताले पनि बहालहरू मिचेका छन्। अनधिकृत पार्किङ चलाइरहेका छन्। काठमाडौं मण्डलका सबै सडक, चोक, गल्ली, बहाल र निजी घरसमेतलाई हिजोको स्वरूपमा फर्काउन सक्यौं भने मात्र हाम्रो संस्कृति र सम्पदाको मूल्य–मान्यता ब्युँतनेछ,’ ज्ञवालीले विस्तार लगाए।
‘कोर–सिटी’ मास्टरप्लानले सवारीमुक्त सहरको योजना पनि समेटेको छ। यसले भित्री बस्तीका सम्पदा मार्गहरूमा सवारी आवागमन निषेध गर्छ।
ज्ञवालीका अनुसार, सर्वसाधारण र पर्यटकको सुविस्ता हेरेर बिजुलीबाट चल्ने ट्राम, गल्फ कोर्समा चल्नेजस्ता गाडी, तीनपाङ्ग्रे लगायत विभिन्न विकल्पमा छलफल भइरहेको छ।
महानगरको सहरी योजना आयोगले पनि यसमा काम गर्दैछ। मैले आयोगका उपाध्यक्ष बस्नेतसँग कुरा गर्दा उनले सबभन्दा पहिला न्यूरोडलाई पुरानो स्वरूपमा लैजाने योजना सुनाए।
बिक्रम सम्बत् १९९० सालको भुइँचालोपछि जुद्धशमशेर राणाले न्यूरोड, अर्थात् नयाँसडक निर्माण गरेका हुन्। जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको बाटोमा लश्करै पसलहरू बनेको त्यही बेला हो। तपाईंले विशाल बजारको झ्यालबाट हेर्नुभयो भने कतिपय पुराना घर आज पनि उही स्वरूपमा जस्ताको तस्तै देखिन्छन्।
न्यूरोडलाई काठमाडौंको व्यापार केन्द्रका रूपमा विकास गर्ने जुद्धशमशेरको सोच थियो। त्यही भएर उनले न्यूरोड हुँदै काठमाडौंको मध्यबस्ती छिर्न कलात्मक गेट बनाए। फराकिलो सडक खनाए। अहिले यहाँ सडकले धान्न नसक्ने गाडीको ताँती लाग्छ। कहिलेकाहीँ मान्छेलाई पाइला टेक्ने ठाउँ हुन्न। काठमाडौंको यो पुरानो बजार बिरुप छ। यसलाई सपार्न न्यूरोड गेटबाटै सवारी साधनहरू पस्न दिइने छैन। सडक र पेटी सराबरी हुने गरी परम्परागत इँटा वा ढुंगा बिछ्याएर पैदलमार्गमा परिणत गरिनेछ।
भूगोल पार्क वरिपरिको पर्खाल पनि भत्काइनेछ। पर्खाल भत्काउनेबित्तिकै पार्कको क्षेत्रफल ठूलो हुन्छ। यसलाई सुन्दर बगैंचाका रूपमा विकास गरिनेछ। बगैंचाकै छेउछाउ र न्यूरोडका विभिन्न ठाउँमा पैदलयात्रु सुस्ताउन बेन्चहरू राखिनेछन्। न्यूरोड र जुद्ध सडक किनारका घरहरूको बाहिरी मोहडा पुरानै ढाँचा ढालिनेछ।
यो योजना वसन्तपुर, काष्ठमण्डप, इन्द्रचोक, असन, नरदेवी, किलागल हुँदै छत्रपाटी, ठमेल र थँहितिसम्म विस्तार गरिने बस्नेतले बताएका छन्। ‘केही वर्षभित्र पूरै मध्य–काठमाडौंमा सवारी निषेध गर्ने योजना छ,’ उनले भने।
सवारीमुक्त अवधारणामा सर्वसाधारणलाई विश्वासमा लिने चुनौती छ। सवारी निषेध गर्दा ग्राहक नआएर व्यापार चौपट होला भन्ने धेरैलाई चिन्ता हुन सक्छ। त्योभन्दा ठूलो चिन्ता, मध्य–काठमाडौंमै बसोबास गर्नेहरूले आफ्नो सवारी कहाँ राख्ने भन्ने पनि छ।
वडा कार्यालयहरूमार्फत् स्थानीयसँग छलफल गर्दै सबैको चासो सम्बोधन गर्ने ज्ञवाली बताउँछन्।
‘हामीले हाम्रा मौलिक सम्पदा जोगाउने र यो सहरलाई सवारीमुक्त गरेर पुरानै स्वरूपमा फर्काउने भनेको स्थानीय बासिन्दाकै भविष्य निम्ति हो। यो कुरा उनीहरूलाई बुझाएर विश्वासमा लिन सक्नुपर्छ,’ उनले भने, ‘यो काम स्थानीय जनप्रतिनिधिहरूमार्फत् हुनेछ।’
स्थानीयलाई सरिक गराउन उनीहरूको आर्थिक क्रियाकलाप बढ्ने खालका कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए।
सवारीमुक्त अभियानले जनताको आर्थिक क्रियाकलाप कसरी बढ्छ?
मेरो यो प्रश्नमा ज्ञवालीले कोपनहेगन, मेड्रिड, ओस्लो लगायत विभिन्न युरोपेली तथा अमेरिकी सहरहरूको उदाहरण दिए। सवारीमुक्त गरेपछि त्यहाँका भित्री बजारमा पैदल घुम्न आउने पर्यटक संख्या बढेको उनले बताए।
संसारभरिका अध्ययन र अनुभवले पनि यही भन्छ– मान्छे तिनै ठाउँमा बढ्ता घुम्न रुचाउँछ, जहाँ गाडीको घन्चमन्च हुँदैन। जहाँ मान्छे बढ्ता घुम्छन्, कारोबार फस्टाउने त्यहीँ हो।
व्यवसायीले लाख कोशिस गर्दा पनि ग्राहक तान्न नसकेका ठाउँमा एउटा सुविधाजनक सडकले पासा पल्टाइदिएका अनेक उदाहरण छन्। गाडीको भीडभाडबीच सुकेको आर्थिक कारोबार मान्छेको निर्वाध घुमफिरले चम्काइदिएको छ।
‘काठमाडौं यसको उदाहरण बन्न सक्छ,’ ज्ञवालीका अनुसार सम्पदालाई समृद्धिसँग कसरी जोड्न सकिन्छ भनेर विभिन्न विकल्पमा छलफल भइरहेको छ।
स्थानीयले खुला सडक र चोकहरूमा नेवार परिकारहरू बेच्न सक्छन्। सडक किनारका पसलले आफ्ना सामान आकर्षक ढंगमा सजाउन सक्छन्। सडकमै सानातिना पसल खुल्न सक्छ। रेस्टुरेन्टहरू चल्न सक्छ।
पर्यटक निम्ति मध्य–सहरका पुराना घरमा ‘होम–स्टे’ प्याकेज सुरू गर्न सकिन्छ। पुराना कलात्मक घरहरू मर्मत गरेर ‘हेरिटेज होटल’ चलाउन सकिन्छ। इच्छुक व्यक्तिहरूले आफ्नो घर प्राचीन शैलीमा पुनर्निर्माण गराउन सक्छन्। सरकार वा महानगरले आर्थिक सहयोग गर्नेछ। पाटन र भक्तपुरका धेरै ठाउँमा यस्ता ‘होम–स्टे’ र हेरिटेज होटलहरू चलिरहेका छन्।
पर्यटक निम्ति हाम्रा परम्परागत जात्रा र सांस्कृतिक झाँकीहरू विशेष आकर्षण हुन सक्छन्। काठमाडौं यस्तो सहर हो, जहाँ हरेक दिन कुनै न कुनै चोक वा गल्लीमा धिमे बाजा घन्केकै हुन्छ, जात्रा चलेकै हुन्छ। इन्द्रजात्रा, गाईजात्राजस्ता ठूला पर्वमा मात्र होइन, अरू स–साना जात्रालाई पनि मूल सडकमै ल्याएर भव्य बनाउन सकिन्छ। यसको निम्ति सम्बन्धित गुठियारहरूसँग छलफल गरिनेछ। सरकारले पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत यस्ता गतिविधिलाई आर्थिक सहयोग गर्नेछ।
यति मात्र होइन, हनुमानढोका दरबारको भित्तामा ऐतिहासिक कालखण्ड झल्काउने र काठमाडौंका कथा–किम्बदन्तीहरू बुझाउने ‘लाइट एन्ड साउन्ड शो’ आयोजना गरिने ज्ञवालीले बताए।
संसारका विभिन्न देशमा यस्तो कार्यक्रम हुँदै आएको छ। भारतको लालकिल्लामा हरेक साँझ हुन्छ। हनुमानढोकामा पनि राष्ट्रसंघीय नियोगहरूले विभिन्न अवसरमा यस्तो कार्यक्रम गर्छन्। यसलाई काठमाडौंको सम्पदा कथासँग जोडेर आकर्षक बनाउन सकिने ज्ञवालीको भनाइ छ।
‘कोर–सिटी’ सवारीमुक्त गर्दा यहाँ घुम्न आउने वा स्थानीय बासिन्दाका गाडी कहाँ पार्किङ गराउने भनी विभिन्न विकल्पमा गृहकार्य भइरहेको उनले जानकारी दिए। त्यसैमध्ये टुँडिखेलको ‘अन्डरग्राउन्ड’ पार्किङ एक हो, जसका बारेमा मैले हिजोको अंकमा चर्चा गरेँ।
(हेर्नुहोस्: बृहत् टुँडिखेल पार्कको मास्टरप्लान बनाउँदै सरकार)
उनले सहरका विभिन्न क्षेत्रलाई पायक पर्ने गरी पार्किङ ‘स्पेस’ निकाल्न गृहकार्य भइरहेको पनि बताए।
विष्णुमती किनारको करिडोरमा एउटा पार्किङ स्थल हुन सक्छ। भीमसेनस्थानदेखि काष्ठमण्डप, मरू, नरदेवी, यतखासम्मका स्थानीयलाई यो ठाउँ सहज हुनेछ।
छत्रपाटी, थँहिति र ठमेलका बासिन्दालाई पायक पर्ने गरी लैनचौरमा ‘भूमिगत’ पार्किङ निर्माण गर्न सकिन्छ। अहिलेको सञ्चय कोष भवनको पार्किङलाई पनि नयाँ ढंगले विस्तार गर्न सकिन्छ।
असन, इन्द्रचोक, न्यूरोड क्षेत्रका स्थानीयले टुँडिखेलको भूमिगत पार्किङ प्रयोग गर्न सक्छन्।
यसबाहेक काठमाडौंको मुटुमै एउटा विशाल पार्किङ निर्माण हुँदैछ। छ हजार मोटरसाइकल र छ सय गाडी अट्ने उक्त पार्किङ दुई वर्षभित्र पूरा हुनेछ। त्यो हो, निर्माणाधीन धरहरामुनि बन्दै गरेको भूमिगत पार्किङ। जसले कम्तिमा न्यूरोड, खिचापोखरी, सुन्धारा क्षेत्रलाई सवारीमुक्त गर्न पुग्ने गरी पार्किङ स्थल दिने ज्ञवाली बताउँछन्।
‘दुई वर्षमा धरहरा निर्माण सकिएपछि भूमिगत पार्किङ सञ्चालनमा आउनेछ,’ ज्ञवालीले भने, ‘लगत्तै हामी पहिलो चरणको सवारीमुक्त अभियान सुरू गर्नेछौं। कम्तिमा न्यूरोड, खिचापोखरी र वरपरका क्षेत्र अबको दुई वर्षमा सवारीमुक्त हुनेछ।’
२०७२ को भुइँचालोमा ढलेको धरहरालाई अभियन्ताहरूले ‘झिल्के टावर’ भनी विरोध गरिरहेका छन्। कस्तो बन्दैछ यो संरचना? कस्तो बन्दैछ सुन्धारा क्षेत्र? के यसलाई व्यापारिक कम्प्लेक्समा परिणत गर्न खोजिँदैछ? कि, अर्कै योजना छ?
धरहरासहित सुन्धारा पुनर्निर्माणको मास्टरप्लानबारे हामी अर्को अंकमा चर्चा गर्नेछौं।