राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीसँग अन्तर्वार्ताको तेस्रो अंकमा आज हामी धरहरासहित सुन्धारा पुनर्निर्माणको कुरा गर्दैछौं।
यसअघि हामीले ‘बृहत् टुँडिखेल’ र काठमाडौंको ‘कोर–सिटी’ मास्टरप्लानबारे कुरा गर्यौं।
नयाँ बन्ने धरहरालाई लिएर धेरै टीकाटिप्पणी सुनिन्छ। अभियन्ताहरूले ‘झिल्के टावर’ भनेका छन्। सम्पदा संरक्षणको मान्यता मिचेर आधुनिक शैलीमा बनेको आरोप छ।
यसले काठमाडौंको परम्परागत ‘उपाकू’ मार्ग मासेको भन्दै अघिल्लो इन्द्रजात्रामा विरोध भयो। इन्द्रजात्रा बेला वर्षभरि मृत्यु भएका आफन्तको आत्मालाई शान्ति मिलोस् भनेर काठमाडौंको प्राचीन सहर परिक्रमा गर्ने चलन छ, जसलाई ‘उपाकू’ यात्रा भनिन्छ। सुन्धारा यही मार्गमा पर्छ।
धरहरा पुनर्निर्माणका नाममा व्यापारिक कम्प्लेक्स चलाउन खोजेको पनि भनाइ छ।
मैले ज्ञवालीसँग यिनै विषयमा कुराकानी गरेँ।
‘टीकाटिप्पणीहरू मैले पनि सुनेको छु,’ उनले मसँग भने, ‘तपाईंको लेख पनि पढेँ। झिल्के धरहरा बन्न लाग्यो, उपाकू मार्ग मिच्यो, व्यापारिक कम्प्लेक्स बन्दैछ भन्नुभएको रहेछ। यी सबै भ्रम हुन्। हामीले धरहरा र सुन्धारा क्षेत्र कस्तो बनाउँदैछौं भन्ने धेरैले बुझेकै छैनन्।’
‘बुझाउनुस् न त,’ मैले भनेँ।
उनले त्यसपछि धरहरा र सुन्धारा पुनर्निर्माणको मास्टरप्लान विस्तार लगाए।
प्राधिकरणले यहाँ धरहरा मात्र पुनर्निर्माण गरिरहेको छैन। वरपरको ४२ रोपनी खाली गराएको छ। यसमा राष्ट्र बैंकको टक्सार विभागदेखि हुलाकसम्म पर्छ। यी सबै क्षेत्र समेटेपछि धरहरा परिसर पहिलेभन्दा दस गुणा ठूलो हुनेछ। पुरानो धरहरा क्षेत्र जम्मा चार रोपनीको थियो।
यत्रो ठूलो ठाउँ ओगटेर के बनाउँदैछ त प्राधिकरण?
सबभन्दा पहिला, धरहरा र त्यसबारे धेरैले भन्दै आएको ‘झिल्के’ शैलीको कुरा गरौं।
प्राधिकरणले भुइँचालोमा ढलेको धरहराको ठूटो जस्ताको तस्तै राखेको छ। यसलाई ‘भुइँचालो स्मारक’ का रूपमा सिसाले छोपेर राखिनेछ। धरहरा ढल्दा ज्यान गुमाएकाहरूको नाउँ कुँदेर ‘मेमोरियल' पनि निर्माण गरिनेछ। त्यसैको आडमा नयाँ धरहरा बन्दैछ।
नयाँ धरहरा बाहिरबाट हेर्दा ११ तला देखिन्छ, भित्र २२ तलाको हुनेछ। बाहिरबाट देखिने प्रत्येक एक तला बराबर भित्र दुई तला हुन्छ।
बिक्रम सम्बत् १८८२ मा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले यही स्वरूपको धरहरा निर्माण गराएका थिए। उनले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झनामा यो स्मारक बनाएको भनाइ छ। १९९० सालको भुइँचालोमा पुरानो धरहरा भत्केपछि नौ तला मात्र पुनर्निर्माण गरियो, जुन भित्रबाट १८ तला थियो।
बाहिरी ‘आउटलुक’ जस्ताको तस्तै राखिए पनि निर्माण शैली भने फरक छ। विगतमा सुर्खीचुना प्रयोग गरिएको थियो। यसपालि ‘कंक्रिट’ को बन्दैछ।
शैली किन फेरियो त?
जवाफमा ज्ञवालीले भने, ‘सुर्खीचुना प्रयोग गर्दा दुई–दुईचोटि धरहरा ढलेको इतिहास छ। काठमाडौंको भूगोलमा धरहराजस्तो टावर सुरक्षित छैन भन्ने यसले पुष्टि गर्छ। बनाउने कि नबनाउने भन्नेमै धेरै विवाद भयो।’
उनले अगाडि थपे, ‘लामो छलफलपछि बल्ल बनाउने निष्कर्षमा पुग्यौं।’
भुइँचालो जोखिममा रहेको काठमाडौंमा ‘टावर’ संरचना असुरक्षित छ भन्ने जान्दा जान्दै केले प्रेरित गर्यो त बनाउन?
मेरो यो प्रश्नमा ज्ञवालीले भने, ‘धरहरा एउटा संरचना मात्र होइन, हाम्रो भावनात्मक धरोहर हो। भुइँचालो बेला धरहरा पनि ढलेछ है भन्दै मान्छेहरू मन खिन्न पार्थे। यो विनाशको प्रतीक बनेको थियो। नेपालले पुनर्निर्माण पूरा गरेको सन्देश दिन पनि बनाउन जरूरी छ भन्ने सुझाव आयो। जबसम्म धरहरा ठडिँदैन, काठमाडौं फेरि उभियो भन्ने सन्देश जाँदैन भनेर हामीले सोच्यौं।’
बन्ने निधो भएपछि पहिलेजस्तो सुर्खीचुना प्रयोग गरेर जोखिम लिनु सट्टा आधुनिक शैली अपनाएको उनले बताए, ‘अब बन्ने धरहरा भुइँचालो प्रतिरोधात्मक हुनेछ।’
उनका अनुसार, आधुनिक शैलीमा बनेपछि केही सुविधा थपिएका छन्। मुख्य भिन्नता यसको भूमिगत संरचना हो।
नयाँ बन्ने धरहरामुनि दुई तला ‘अन्डरग्राउन्ड’ हुनेछ। सुरूमा ‘अन्डरग्राउन्ड’ झरेपछि बल्ल धरहरा चढ्ने ठाउँ पुगिन्छ। पहिले यहाँ खुड्किलाहरू मात्र थिए। अब दुईवटा लिफ्ट पनि राखिनेछ। एउटा लिफ्टले आठ जनालाई माथि चढाउँछ, अर्कोले आठ जना ओराल्छ। दुईवटा लिफ्ट राख्दा चौडाइ अलिकति फराकिलो हुनेछ। अठारौं तलामा ‘अब्जरभेसन डेक’ बन्नेछ, जहाँबाट सहरको दृश्य हेर्न सकिन्छ।
लिफ्ट सँगसँगै परम्परागत शैलीका खुड्किला पनि हुनेछन्। यी सबै संरचना अपांगतामैत्री हुने ज्ञवालीले बताए।
भूमिगत दुई तलामा धरहराको इतिहास झल्किने सूचना सामग्रीहरू राखिनेछन्। यसले नयाँ पुस्तालाई धरहरा कसरी बन्यो, कुन–कुन बेला कसरी ढल्यो भन्ने इतिहास बुझाउँछ। मिनी–थिएटर पनि रहनेछ, जहाँ धरहरासम्बन्धी श्रव्यदृश्य सामग्री देखाइनेछ।
त्यस्तै, सूचना केन्द्र, पर्यटकलाई धरहराका चिनो बेच्ने ‘सोभिनियर’ पसल र धरहरा चढ्नेहरूले फोटो खिच्ने स्टुडियो हुनेछ।
तपाईंहरूले दुबईको बुर्ज खलिफा, न्यूयोर्कको इम्पायर स्टेट बिल्डिङ लगायत अग्ला–अग्ला टावरहरू चढ्नुभएको भए याद होला, त्यहाँ टुप्पोमा पुगेपछि खिचिक्क फोटो खिचिदिने मान्छे आउँछन्। तल झरेपछि फ्रेममा सजाइएको फोटो किन्न पाइन्छ। टावरकै आकृतिका ‘सोभिनियर’ बेच्ने पसलहरू पनि हुन्छन्। धरहराको ‘अन्डरग्राउन्ड’ मा ठ्याक्कै त्यस्तै बनाउने योजना छ।
‘आधुनिक शैलीमा बनेपछि ऐतिहासिक सम्पदा कसरी भन्नु त?’ मैले सोधेँ, ‘यो त धेरैले भनेजस्तै ‘झिल्के’ भएन र?’
‘हाम्रो जोड भुइँचालोमा भत्केका सम्पदालाई जस्ताको तस्तै पुनर्निर्माण गर्नु नै हो। अरू ठाउँमा यही मान्यताअनुसार काम भइरहेकै छ। रानीपोखरीदेखि काष्ठमण्डपसम्म पुरानै शैलीमा बन्दैछ,’ उनले तर्क गरे, ‘कतिपय अवस्थामा चाहेर पनि जस्ताको तस्तै बनाउन नसकिने रहेछ।’
‘धरहरामा त्यस्तै भयो,’ सुरक्षा दृष्टिले आधुनिक शैली अपनाउनुपरेको उनको भनाइ छ।
‘पुरानै शैलीमा बनाएर जोखिम मोल्ने कि सम्पदाको मर्म रहने गरी भुइँचालो प्रतिरोधक बनाउने भनेर विकल्प छान्दा हामीले दोस्रो विकल्प रोज्यौं,’ उनले भने, ‘सम्पदा संरक्षणको मान्यताले पनि पुरानै सामग्री प्रयोग गरेर बनाउन सकिन्न भने आवरण जस्ताको तस्तै राखेर आधुनिक शैलीमा जान सकिन्छ भन्छ।’
उनका अनुसार, ऐतिहासिक महत्व जीवित राख्न पुरानो धरहराको गजुर नयाँमा पनि प्रयोग गरिनेछ। प्राधिकरणले उक्त गजुर आफ्नो संरक्षणमा राखेको छ।
इँटाहरू पनि पुरानै प्रयोग गर्न सकिन्थ्यो कि?
‘अरू सम्पदा पुनर्निर्माण गर्दा हामीले इँटा, काठहरू सकभर पुरानै प्रयोग गरेका छौं,’ उनले फेरि काष्ठमण्डपको उदाहरण दिँदै भने, ‘यहाँ त्यो पनि सम्भव भएन।’
‘हाम्रो हातमा जिम्मेवारी आउँदासम्म यहाँका इँटाहरू धेरै हराइसकेका थिए। त्यो बेला सायद भग्नावशेष पन्छाउनुपर्ने चुनौती थियो। हतारमा यताउति परेका हुन सक्छन्। जोगिएका चिज पनि प्रयोग गर्न लायक थिएनन्।’
रोचक कुरा त, धरहराको भग्नावशेषबाट निकालिएका पुरातात्विक महत्वका इँटाहरू निजी कम्पनीले साजसज्जामा प्रयोग गरेको भेटिएका छन्। बबरमहलको बसेरा बुटिक होटल र चारखालको इचिबान रेस्टुरेन्टमा त्यस्ता इँटा फेला परेका छन्। बसेराले आफ्ना कोठाहरूमा ‘श्री ३ चन्द्र १९०९’ लेखिएको इँटा सजाएर राखेको छ। इचिबानले पनि रिसेप्सनको भित्तामा नौवटा लहर बनाएर टाँसेको छ। प्रत्येक लहरमा चारवटा इँटा छन्।
मैले बसेरा होटलको फेसबुक पेजबाट उक्त इँटा देखिने कोठाको फोटो डाउनलोड गरेको थिएँ। मोबाइलमा सेभ गरेको त्यही फोटो ज्ञवालीलाई देखाउँदै भनेँ, ‘धरहराका पुरातात्विक सामग्रीहरू यसरी दुरुपयोग भइरहेका छन्। यो सही हो कि होइन?’
‘बिल्कुलै होइन,’ उनले भने, ‘यो हाम्रो जानकारीमा थिएन। म पुरातत्व विभाग र महानगरसँग यसबारे कुरा गर्छु।’
उनले यो पनि भने, ‘हामीसँग पुरानो धरहरामा प्रयोग भएका सामग्रीहरू जति छन्, तिनलाई खेर जान दिँदैनौं। मिलेजति प्रयोग गर्छौं, नभए धरहराको चिनोका रूपमा सुरक्षित राख्छौं। तपाईं यो फोटो मलाई पठाइदिनू।’
मैले उनको ट्वीटरमा फोटो ‘डिएम’ गरिदिएँ।
धरहराको इँटा कसरी होटल र रेस्टुरेन्टमा पुग्यो भन्ने प्रश्न अनुत्तरित छ। यसबारे ‘कान्तिपुर’ दैनिकका पत्रकार दामोदर न्यौपानले समाचार लेखेका छन्। टुँडिखेल चउरमा पनि केही इँटा अलपत्र भेटिन्छन्।
धरहरापछि कुरा गरौं, सँगसँगै पुनर्निर्माण भइरहेको सुन्धारा क्षेत्रको।
प्राधिकरणले टक्सार विभाग र हुलाक कार्यालय भत्काएर ४२ रोपनी क्षेत्र ओगटेपछि भविष्यमा कतै यो ठाउँ व्यापारिक कम्प्लेक्स चलाउन भाडामा दिने त होइन भन्ने शंका छ।
मैले यही कुरा ज्ञवालीलाई सोध्दा उनले भने, ‘ढुक्क हुनुहोस्, धरहरामा व्यापारिक कम्प्लेक्स बन्दैन। यो ठाउँ पसल चलाउन वा व्यावसायिक प्रयोजनलाई भाडामा दिने कुनै योजना छैन।’
त्यसो भए यत्रो क्षेत्रफल किन?
‘यो ४२ रोपनी क्षेत्रलाई खुला सार्वजनिक स्थलका रूपमा पुनर्निर्माण गर्ने हाम्रो योजना हो,’ उनले भने।
अब हामी प्राधिकरणको मास्टरप्लानअनुसार, सुन्धारा क्षेत्र कस्तो बन्दैछ त्यो हेरौं।
धरहरा वरिपरि केटाकेटी खेल्ने बगैंचा बन्छ। मान्छेहरू सुस्ताउने ठाउँ बन्छ। करिब ५० फिट अग्लो पानीको फोहोरा बन्छ। शौचालय र एक–दुईवटा सानो खालको क्याफे पनि बन्छ।
टक्सार विभाग भएको ठाउँमा चार तलाको भवन बन्दैछ। त्यो पनि व्यापारिक कम्प्लेक्स होइन। तल्लो दुई तलालाई ‘टक्सार संग्रहालय’ बनाइनेछ, जहाँ पुराना सिक्का र ती सिक्का कसरी बनाइन्थ्यो भनी प्रदर्शन गरिन्छ। सिक्का छाप्ने पुराना मेसिनहरू पनि प्रदर्शनमा राखिनेछन्।
यसैको माथिल्लो दुई तलालाई ‘भुइँचालो संग्रहालय’ मा विकास गरिनेछ। यहाँ भुइँचालोका अवशेषहरू सुरक्षित राखिनेछ। केटाकेटीलाई भुइँचालो कसरी जान्छ भनेर सचित्र जानकारी दिइनेछ।
संग्रहालयकै एउटा भागमा भुइँचालो अनुभव गर्ने कोठा हुन्छ। कति म्याग्निच्यूडको भुइँचालो जाँदा जमिन कसरी हल्लिन्छ, कस्तो आवाज आउँछ भनेर प्रत्यक्ष अनुभव गर्न पाइन्छ। केटाकेटीको निम्ति यो अनुभव रोचक हुनेछ।
धरहरा कसरी ढल्यो, काठमाडौंका अरू संरचना कसरी ढले र गाउँ–गाउँमा घरहरू कसरी ध्वस्त भए भन्ने देखाउन भिडिओ र तस्बिर प्रदर्शन गरिनेछ। राहत, उद्धार, पुनर्निर्माण र पुनर्स्थापना गतिविधि देखाइनेछ। भुइँचालो प्रतिरोधक घरका मोडल र बनाउने उपाय पनि प्रदर्शन गरिनेछ।
‘अर्थ साइन्स म्युजियम’ का रूपमा बन्ने यो संग्रहालयमा जापानको प्राविधिक सहयोग रहने ज्ञवालीले बताए।
टक्सारपछि कुरा आउँछ, हुलाकको।
प्राधिकरणले हुलाक कार्यालय भत्काएर तीन तलाको ‘अन्डरग्राउन्ड’ पार्किङ बनाउँदैछ। काम सुरू भइसक्यो। यहाँ छ हजार मोटरसाइकल र छ सयभन्दा बढी कार अट्नेछन्।
‘पार्किङमाथि जमिनको सतहमा कुनै घर बन्दैन,’ उनले भने, ‘यहाँ मुनिमुनि पार्किङ हुन्छ, माथिमाथि पार्क।’
यी कामहरू सकिएपछि धरहरा र सुन्धारा क्षेत्र कस्तो देखिन्छ, तलको भिडिओमा हेर्नुस्।
यो मास्टरप्लानले प्राचीन लुँहिति, अर्थात् सुन्धारा पनि समेटेको छ। यसलाई पुरानै स्वरूपमा ब्युँताउन तीनवटा विकल्पमा छलफल भइरहेको ज्ञवालीले जानकारी दिए।
एक, यही ठाउँमा बोरिङ गरेर भूमिगत पानी प्रयोग गर्ने।
दुई, खानेपानी पाइपलाइन जोडेर आपूर्ति गर्ने।
तीन, बर्खा बेला टुँडिखेलको सतहमा जम्मा हुने भूमिगत पानी प्रशोधन गरी यहाँ पठाउने।
‘जुनसुकै विकल्प अपनाएर भए पनि सुन्धारालाई विगतमा जस्तै बाह्रै महिना, चौबीसै घन्टा कलकल पानी आउने लुँहितिका रूपमा पुनर्स्थापना गर्नेछौं,’ उनले भने।
सुन्धारा मास्टरप्लानमा काठमाडौं मल रहेको कर्मचारी सञ्चय कोष भवन पनि पर्छ। यसलाई धरहरा घुम्न आउने पर्यटकको खानपिन र किनमेल थलोका रूपमा विकास गरिनेछ।
‘मैले तपाईंलाई भनिहालेँ, सुन्धारा क्षेत्रमा कुनै व्यापारिक कम्प्लेक्स बन्दैन। हामी यहाँ आउने पर्यटकलाई लक्ष्य गरेर काठमाडौं मललाई नयाँ ढंगले सञ्चालन गर्ने तयारी गर्दैछौं,’ उनले भने, ‘यसको निम्ति सञ्चय कोषसँग छलफल हुँदैछ।’
यहाँ पर्यटकलाई चाहिने पसल, फुड कोर्ट, सूचना केन्द्र लगायत सुविधाहरू हुनेछन्। यसो गर्दा सञ्चय कोष भवन पनि धरहरा र सुन्धाराको मर्मसँग जोडिने उनको भनाइ छ।
सुन्धारा क्षेत्रलाई परम्परागत बाटो हुँदै काठमाडौंको ‘कोर–सिटी’ सँग जोड्ने योजना पनि छ। यसको निम्ति संकटा मन्दिर रहेको टेबहालसम्म पुग्ने बाटो परम्परागत ढाँचामा पुनर्निर्माण गरिनेछ। खिचापोखरीतर्फको बाटो पनि परम्परागत ढाँचामै बन्नेछ। यहाँबाट न्यूरोड हुँदै ‘सम्पदा सहर’ को यात्रा सुरू हुन्छ।
सुन्धारा वरिपरिका निजी घरको बाहिरी मोहडा पनि परम्परागत ढाँचामा ढालेर यो पूरै क्षेत्रलाई प्राचीन ‘आउटलुक’ दिने योजना रहेको उनले बताए।
‘सुन्धारा पुनर्निर्माण सकिनेबित्तिकै काठमाडौंको मुटुमा ठूलो क्षमताको पार्किङ स्पेस खुल्छ। लगत्तै हामी न्यूरोड, खिचापोखरी, वसन्तपुरसहित वरपरको क्षेत्र सवारीमुक्त घोषणा गर्न सक्छौं,’ ज्ञवालीले भने।
प्राधिकरणले ‘जिआइइटिसी–रमन जेभी’ नामक कम्पनीबाट धरहरा क्षेत्र बनाउँदैछ। यसको लागत ३ अर्ब ४५ करोड रुपैयाँ हो। ज्ञवालीका अनुसार, ६० करोडभन्दा बढी खर्च भइसक्यो। तीस प्रतिशत काम सकिएको छ।
अबको एक वर्षमा धरहराको मुख्य संरचना तयार हुने र दुई वर्षभित्र सम्पूर्ण सुन्धारा क्षेत्रको पुनर्निर्माण सकिने उनले बताए।
सबै योजना सुनेपछि मैले ‘उपाकू’ मार्गको कुरा झिकेँ, जुन मार्ग मिचेर धरहरा बन्दैछ भन्ने आरोप छ।
उनले यसको खण्डन गरे।
‘अहिले निर्माण हुँदै गर्दा हामीले चारैतिर बार लगाएका छौं, त्यसले मात्र उपाकू मार्ग मिचेजस्तो देखिएको हो। जब काम सकिएर बारहरू खुल्छन्, उपाकू मार्ग पहिलेकै ठाउँमा जस्ताको तस्तै रहन्छ, यसमा सबैले ढुक्क भए हुन्छ,’ उनले भने।
उनले यो पनि भने, ‘जब हामी धरहरा वरिपरि कुनै व्यापारिक संरचना बनाउँदै छैनौं भने उपाकू मार्ग मिच्ने वा मास्ने त कुरै आउँदैन। हामी यसलाई पूर्ण रूपमा खुला सार्वजनिक स्थल बनाउँदै छौं, उपाकू मार्ग त्यसैको अभिन्न हिस्सा हुनेछ।’
सुशील ज्ञवालीसँगको अन्तर्वार्ता जारी रहनेछ। अर्को अंकमा हामी पाटन क्षेत्र र अन्य सम्पदा बस्ती पुनर्निर्माणबारे कुरा गर्नेछौं।
सबै तस्बिर: नारायण महर्जन/सेतोपाटी
यी पनि हेर्नुहोस्: