पाँचथर जिल्लाको फिदिम चियाका लागि प्रख्यात छ। लिम्बू भाषामा 'फे' भनेको फराकिलो र 'देन' भनेको ठाउँ अर्थात् 'फराकिलो ठाउँ' भएकाले फिदिम नाम रहेको अनुमान लगाउनेहरू धेरै छन्।
यो अनुमान सही हो-होइन, यकिन छैन। तर बिहीबार फिदिम नगरपालिका वडा नं १ मा हुने कार्यक्रमले फिदिमलाई साँच्चै फराकिलो ठाउँ बनाएको छ। भौगोलिक हिसाबमा होइन, सामाजिक र विचारले।
बिहीबार फिदिम-१ मा 'महिनावारी मेला' सुरू भएको छ।
फिदिम नगरकार्यपालिकाको प्रायोजन र 'हेल्पिङ ह्यान्ड्स पाँचथर'को सहआयोजनमा 'इनिसिएसन फर चेन्ज' संस्थाले पहिलोपटक महिनावारी सम्बन्धी मेला आयोजना गरेको हो।
'महिनावारी हाम्रो भाग्यवारी' नारासहित फिदिमका स्थानीयलाई महिनावारीका ज्ञानबारे सचेत गराई चलिआएको अन्धविश्वास हटाउने मेलाको मुख्य उद्देश्य रहेको 'इनिसिएसन फर चेन्ज' संस्थाकी अध्यक्ष विभिषा बुढाथोकी बताउँछिन्।
महिनावारीलाई 'पाप'का रूपमा लिइने मानसिकता परिवर्तन गर्नु नै मेलाको लक्ष्य हो।
'महिनावारी शब्द उच्चारण गर्न पनि लजाउने वा हिच्किचाउने हाम्रो समाजमा पहिलोपटक नयाँ ढंगले महिनावारी मनाउनुका साथै जरो गाडेर बसेका अन्धविश्वास हटाउनु हाम्रो लक्ष्य हो,' संस्थाकी अध्यक्ष विभिषाले सेतोपाटीसँग भनिन्।
हाम्रो समाजमा अझै पनि महिनावारीका कुरालाई छिःछिः दुरदुर गरिन्छ।
'महिनावारी सम्बन्धी मेलाले महिलामा हुने प्राकृतिक प्रकिृयाको विषय पनि रमाइलोसँग मनाउन सकिने धारणा व्यक्त गर्छ,' विभिषाले भनिन्।
उनका अनुसार मेलामा संस्था र आमा समूहका सदस्यहरू, विद्यार्थी र युवाहरूसँगै स्थानीय अस्पतालबाट डाक्टरहरूको पनि सक्रिय उपस्थिति हुनेछ। प्रजनन स्वास्थ्य, सरसफाइ र महिनावारीका समयमा आवश्यक खानपिनको विषयमा विस्तृत जानकारी मेलामा दिइनेछ।
योसँगै मेलामा पुनः प्रयोग गर्न मिल्ने प्याडको फाइदा र तिनका प्रयोगको ज्ञान बारे विशेष ध्यान दिइने विभिषाले बताइन्।
१९ वर्षीय विभिषा 'इनिसिएसन फर चेन्ज' संस्थाकी सञ्चालक समेत हुन्। एक महिनाअघि मात्रै संस्था सञ्चालनमा आए पनि विभिषा यसअगाडि पनि थुप्रै सामाजिक कार्यमा खटिसकेकी छिन्।
संस्था सञ्चालन गर्नु केही महिना पहिले देखिनै महिनावारी सम्बन्धी सचेतना कार्यक्रमहरू आफूले आयोजना गरिसकेको उनी बताउँछिन्। उनले बिर्तामोड, झापा र काठमाडौं लगायत ठाउँका स्कुलहरू पुगी केटाकेटीलाई 'महिनावारी हाम्रो भाग्यवारी' जनचेतना अभियानमा सहभागी गराउँदै आएकी छिन्।
विभिषाका अनुसार उनले यी सबै योजना ११ कक्षा पढ्दा नै बनाएकी थिइन्।
'महिनावारी बार्नुपर्ने कुराले मेरो मनमा सधैं प्रश्नहरु खेल्ने गर्थे। तर त्यसबारे ज्ञान दिने भने कोही भएनन्,' उनी भन्छिन्, 'समाजमा अझै धेरै युवती छन् जो महिनावारी बारे खुलेर बोल्न सकिरहेका छैनन्। अब यो समस्या कम गर्न हामी नयाँ पिँढी अगाडि बढेनौं भने अवस्था झनै बिग्रिन सक्छ।'
उनले थपिन्, 'कुनै पनि विषयमा चासो देखाएर लागि पर्ने हो भने परिवर्तन अवश्य सम्भव छ।'
यही मनोबल लिएर विभिषाले आफ्नो एक साथीको सहयोगमा सामाजिक कार्यमा सक्रियता बढाएकी हुन्। यसकै नतिजा स्वरूप 'इनिसियसन फर चेन्ज' सञ्चालन भएको हो र 'महिनावारी हाम्रो भाग्यवारी' नारा यसैको एउटा सामाजिक कदम।
सहरमा त महिनावारी अझै लुकाइने विषय भइरहेका बेला राजधानी काठमाडौंदेखि झन्डै ६ सय किलोमिटर टाढा फिदिममा यो कार्यक्रम हुनु आफैंमा सकारात्मक सन्देश हुने विभिषाको भनाइ छ।
विभिषाका अनुसार महिनावारी मेला सफल पार्न फिदिम नगरकार्यपालिकाले सहयोग गरेको छ। करिब ७० हजार रूपैयाँ बजेटको कार्यक्रमको ७० प्रतिशत जिम्मा नगरकार्यपालिकाले लिएको छ। बिहीबार बिहान दस बजेबाट सुरू हुने महिनावारी मेला बेलुका चार बजेसम्म रहनेछ।
सरकारी तह र स्थानीयकै संलग्नता हुँदा महिनावारी बारे भ्रम हटाउन थप बल पुग्छ।
महिनावारी हुँदा मेलामा जानै नहुने अन्धविश्वास समेत रहेको हाम्रा गाउँठाउँमा महिनावारी सम्बन्धी नै मेलाले एकैपटक धेरै मान्छेसम्म जानकारी र चेतना बाँड्न सकिने संस्थाको विश्वास छ।
महिनावारीका सम्बन्धी अन्य स्टोरीहरूः
कस्तो बेला छिनमै रिसाउँछन्, छिनमै खुसी हुन्छन् महिला?
स्वस्तिमा भन्छिन्ः महिनावारीमा भाइटीका लगाएँ, छोइछाइ चलन आफैं तोडेँ
अभिनेत्री सुरक्षा पन्त भन्छिन्ः महिनावारीमा पूजा गर्दा केही अनर्थ भएन
श्रृंखला खतिवडाको महिनावारी अनुभव : बाबालाई नभन्न आमालाई कसम खुवाएँ
केकी भन्छिन्ः महिनावारीका 'कथा' महिलालाई तर्साउन बुनिएका हुन्
साम्राज्ञी भन्छिन्ः पढे-लेखेकाहरू नै महिनावारीका कुरा असामान्य मान्छन्
माल्भिका भन्छिन्ः महिनावारीबारे छोरालाई पनि जानकारी गराउँछु
करिश्मा भन्छिन्- महिनावारी बार्ने नियम छोरीमाथि थोपरिनँ
ऋचा शर्मा भन्छिन्ः छोइन्छ भन्ने डरले चुड्की बजाउँदै चर्पी लग्थे मलाई