जस्तो काठमाडौंको टुँडिखेल, त्यस्तै भक्तपुरको। यता पनि ठूलो हिस्सा सेनाले ओगटेको, उता पनि उस्तै।
काठमाडौंको टुँडिखेल पहिले उत्तरमा रानीपोखरी र दक्षिणमा दशरथ रंगशालासम्म फैलिएको थियो। अहिले जति बाँकी छ, त्यही टुडिँखेलका रूपमा चिनिन्छ। भक्तपुरको टुँडिखेल त कहाँ छ भन्ने धेरैलाई थाहा पनि नहोला!
सल्लाघारी चोकबाट सिद्धपोखरी जाने बाटोमा सल्लाका ठूल्ठूला रूख छन्। माथि थुम्को र खुला ठाउँ छ। स–साना खुड्किलाबाट जान सकिन्छ। यो थुम्कोलाई 'च्वङा गणेश पार्क' भनिन्छ। करिब ५४ रोपनीको यो पार्क सेनाको नाममा छ। स्थानीयले अनुमति लिएर भोगचलन गर्न पाइरहेका छन्।
अगाडि बढेपछि सैनिक आवासीय महाविद्यालय पुगिन्छ। त्यहाँ विशाल चउर छ जसलाई स्थानीय ठूलो टुँडिखेल भन्छन्। अझै अघि सिद्धिनरसिंह मल्ल पालाको सिद्धपोखरी आउँछ। उत्तरमा सानो चउर छ, जसलाई सानो टुँडिखेल भनिन्छ।
२०४० सालतिर पञ्चायत कालमा भक्तपुरको करिब ५ सय रोपनी जग्गाको लालपूर्जा सेनाको हातमा पुगेको हो। त्यसपछि विशाल चउरमा सैनिक आवासीय महाविद्यालय, खेल मैदान र स्कुलका भवन ठडिए। स्थानीयले भोगचलन गरिरहेको सार्वजनिक जग्गामा सेनाको नियन्त्रण कायम भयो।
त्यही जग्गाभित्र पर्थ्यो, ऐतिहासिक रानीपोखरी र स्थानीयका कुलदेवता (दिगु द्यः)। प्रत्येक वर्ष देवाली पूजामा सेनाको अनुमति लिएर स्थानीय पस्न पाउँथे।
यता काठमाडौं टुँडिखेलको खुला चउर भने सैनिक प्रयोजनका साथै बसपार्क, अनधिकृत पसल सञ्चालन, पार्किङ, भवन निर्माण सामग्री र कामदार बस्ने ठाउँ बनाएर मासिँदै छ। यसलाई पुरानै स्वरूपमा फैलाउने र 'टुँडिखेल पार्क' बनाउने योजनासहित अतिक्रमणमुक्त बनाउन पाँच सातादेखि 'मुक्त टुँडिखेल' अभियान चलिरहेको छ।
टुँडिखेलको महत्वपूर्ण हिस्सा खुलामञ्चलाई मानव साङ्लोले घेरेर सुरू भएको अभियानअन्तर्गत प्रत्येक शनिबार टुँडिखेलकै बीचमा विभिन्न जनचेतनामूलक कार्यक्रम हुँदै आएको छ।
कार्यक्रममा टुँडिखेलको पुरानो सम्झना सजीव पार्दै नयाँ र पुरानो पुस्ताका प्रतिनिधिले खरीको बोट रोपे। खुला स्थलको महत्व झल्काउने गरी कविता वाचन गरियो। दक्षिण एसियाली खेलकुद (साग) सन्दर्भ पारेर विभिन्न खेलकुद गतिविधि भए।
काठमाडौंको टुँडिखेल अतिक्रमणमुक्त गर्न नागरिक अभियान चलिरहँदा भक्तपुरमा भने सेना नै टुँडिखेल खुला गर्न उदार देखिएको छ। करिब तीन दशक नियन्त्रण गरेको जग्गाभित्रको पोखरी र केही चउर सार्वजनिक प्रयोजनका लागि खुला गरिएको छ। सेनाले यस्तो उदारता देखाउनुमा स्थानीय सरकारको ठूलो भूमिका छ।
अहिले स्थानीय सरकार यति शक्तिशाली छ, आफ्नो क्षेत्रलाई चाहेजस्तो बनाउन सक्छ। सेनासँग वार्ता गरेरै किन नहोस्, नगरको नक्सा बदल्न सक्छ। त्यसैको उदाहरण बन्दैछ, भक्तपुर।
अघिल्लो वर्ष चैततिर नगरप्रमुख सुनील प्रजापतिले रक्षामन्त्री र प्रधानसेनापति पूर्णचन्द्र थापालाई यही विषय लिएर भेटेका रहेछन्।
भेट क्रममा उनले स्थानीयले प्रत्येक वर्ष देवाली पूजामा भोग्दै भएको समस्या सुनाए, खुला स्थानको महत्व बुझाए। आपसी साझेदारीमा सार्वसाधारणका लागि सधैंका निम्ति खुला गराउने प्रस्ताव पनि अघि सारे। त्यो भेटमा थापा उनको कुरामा सकारात्मक सुनिए पनि तत्कालै केही जवाफ दिएनन्।
'पछि मात्रै स्वीकृति मिल्यो। नगरपालिकाले पुनर्निर्माण र रेखदेख जिम्मा लिने गरी रानीपोखरी सार्वजनिक हुने भयो। सानो टुँडिखेल, पार्किङ लगायत अन्य विषयमा पनि सम्झौता भयो,' सम्झौतापत्र देखाउँदै नगरप्रमुख प्रजापतिले भने, 'अनि ढिला नगरी हामी काममा खट्यौं।'
भक्तपुर र काठमाडौं टुँडिखेलको एउटा समानता छ।
जसरी रानीपोखरी काठमाडौं टुँडिखेलको हिस्सा हो, त्यसरी नै भक्तपुरमा पनि रानीपोखरी छ। सेनाको नियन्त्रणमा गुमनाम यो पोखरी काठमाडौं, रानीपोखरीका अघि झनै ओझेल परेको थियो।
तर यसको इतिहास काठमाडौं रानीपोखरीभन्दा पुरानो छ। भक्तपुरका राजा जगज्योतिर मल्लले वि.सं. १६८७ मा रानी राजलक्ष्मीको सम्झनामा बनाएका हुन्। काठमाडौं रानीपोखरी यसको ४० वर्षपछि अर्थात् १७२७ सालमा प्रतापमल्लले छोरा चक्रवतेन्द्रको मृत्युपछि रानी रिझाउन बनाएका।
भक्तपुर रानीपोखरी परिसर करिब १५ रोपनी छ। पोखरी १२ र वरिपरि ३ रोपनी। अहिले वरिपरि पर्खाल लगाउने काम भइरहेको छ। पर्खाल लगाउनुअघि यहाँ उत्खनन गरिएको थियो। उत्खनन क्रममा उमामहेश्वरको मूर्ति, ह्वाङह्वाङ पाटी, शिवलिंग, जलद्रोणी र शिलालेख भेटिएको इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए।
'त्यहाँ दुइटा शिलालेख हराइरहेका थिए। रानीपोखरी पुनर्निर्माण क्रममा एउटा फेला पर्यो, अर्को पत्ता लागेको छैन,' उनले भने, 'जितामित्र मल्लको फेला परेको छ, जगज्योतिर पालाको भने भेटिएन। बरू एउटा नयाँ शिलालेख भेटियो, यसलाई भने पढ्न सकिएको छैन।'
शिलालेखका अक्षर वर्षौं जमिनमा गाडिएकाले पढ्नै नसकिने अवस्थामा रहेछ।
'हेर्नुस् न दुर्भाग्य, जुन ठाउँमा सम्बत लेखिएको छ, त्यहीँको मिति उडेछ,' उनी निराश हुँदै सुनाउँछन्, 'तर यो शिलालेख पछिल्लो मल्ल कालतिरको हुन सक्छ। अब जति पढ्न सकिन्छ त्यसबाट नयाँ कुरा आउला भन्ने आशा छ।'
यसबाट यहाँ दुइटा नभएर तीनवटा शिलालेख रहेको देखियो। जुन ठाउँमा जगज्योतिरको शिलालेख भेटिनुपर्ने हो त्यहाँ फेरि उत्खनन गर्ने योजना पुनर्निर्माण समितिको छ। 'त्यो अवश्य पत्ता लाग्नेछ' भन्नेमा इतिहासविद् पुरुषोत्तमलोचन आशावादी सुनिन्छन्।
अर्को पढ्न सकिने जितामित्रको शिलालेख ऐतिहासिक दृष्टिकोणले निकै महत्वपूर्ण छ। राजा जगज्योतिर मल्लले बनाएको रानीपोखरी कान्तिपुरका राजा प्रताप मल्लले भत्काइदिएका थिए रे। त्यहाँको सुनको नाग लगायत अन्य कलाकृति उठाएर हनुमानढोका दरबार सजाउन लगे। त्यो पोखरीसँगै दूधपाटीको भाज्या पुखु पनि बिगारिदिएको मानिन्छ।
'बाजेको पालामा बिग्रिएको पोखरी जितामित्रले जिर्णोद्धार गरेको कुरा त्यस शिलालेखमा उल्लेख छ। तत्कालीन कान्तिपुर र ललितपुरका राजालाई पोखरी बनेको खुसियालीमा बोलाएर उत्सव मनाएको त्यसबाट थाहा हुन्छ,' उनले भने।
पोखरीमा पुरिएको अवस्थामा कलात्मक मल्लकालीन जलद्रोणी पनि भेटिएको रहेछ। बटुवालाई पानी होस् भन्ने हिसाबमा अहिलेका पानी ट्यांकी जसरी यसमा पानी भण्डारण गरिन्छ।
'अनि ह्वाङ–ह्वाङ पाटी भनेको?'
'वरिपरिका पर्खाल भत्किएर हावा ओहोरदोहोर गर्ने, भ्वाङ परेपछि ह्वाङ–ह्वाङ छ। मान्छेले जस्तो देखे त्यस्तै नाम दिए,' उनले हाँस्दै भने, 'यसको ऐतिहासिक नाम पक्कै यो होइन।'
नगरपालिकाले सेनासँग स्वीकृति पाएर पोखरी पुनर्निर्माण सुरू गरेको जेठयता मात्रै हो। नभए पहिले पूरै जंगल थियो। सफा गरेपछि बर्खाको पानी भरिएर पोखरीजस्तै आकार आइसक्यो। करिब ३ करोड बजेट छुट्याइएको पोखरीमा हालसम्म ७५ लाखजति खर्च भएको नगरप्रमुख प्रजापति बताउँछन्।
हाल पोखरी प्रवेश गर्न आवासीय महाविद्यालयको गेट हुँदै जानुपर्छ। हामी जाँदा सेनाले निधिखोजी गरेर मात्रै भित्र पठाए। पोखरी बनिसकेपछि त छुट्टै गेट बन्नेछ। सेनालाई सोध्नै पर्दैन।
पोखरीको पाटी, गेट र बीचमा सुनको नाग राख्न केही समय लाग्छ। आउँदो वैशाखमा हुने देवाली पूजासम्म पर्खाल लगाउने काम लगभग सकिने प्रजापति बताउँछन्।
'पूरै त भन्न सकिन्न, एक वर्षमा राम्रै पोखरी बन्छ,' उनले भने, 'पुरातात्विक काम गर्दा अरू ठेक्काजस्तो समय तोक्न सकिन्न। पुरातत्वविद्लाई नदेखाई काम गर्न भएन। केही भेटियो भने अध्ययन गर्दा काम रोक्नुपर्ने हुनसक्छ।'
ऐतिहासिक महत्व र पुरातात्विक अनवेषण कारण बन्न जति समय लागे पनि करिब तीन दशक सेनाको अधिनमा रहेको पोखरी स्थानीयले आफ्नै ठानेर भोगचलन गर्न पाउनु खुसीको खबर मान्छन् नगरप्रमुख प्रजापति।
यही पोखरीको दक्षिणतिर केही रूख छन्, खाली ठाउँ छ। पोखरी घुम्न आउनेका सवारी पार्किङ गर्न त्यो जग्गा पनि उपलब्ध गराउने सेनासँगको सम्झौतामा उल्लेख छ। पोखरी बनेपछि त्यस क्षेत्रको सुरक्षाका लागि नगरपालिकाले सिसिटिभी क्यामरा जडान गर्ने सम्झौता छ।
सम्झौतामा सिद्धपोखरी उत्तरको सानो टुँडिखेल पनि सर्वसाधारणलाई खेलकुदका लागि दैनिक चार घन्टा उपलब्ध गराइने भनिएको छ। दैनिक ७ः३० देखि ११ः३० सम्म र शनिबार ११ देखि ३ बजेसम्म सर्वसाधारण खेल्न सक्छन्। स्कुल बिदामा बिहान ६ देखि बेलुकी ५ बजेसम्मै खेल्न पाउने उल्लेख छ।
भक्तपुर नगरपालिकाले फुटबल, भलिबल, टेबलटेनिस, जिमन्यास्टिक, बक्सिङ र सितेरियो कराते गरेर ६ खेलको विभिन्न ठाउँमा प्रशिक्षण दिइरहेको छ। प्रतियोगिता गर्न ठाउँ भएकोमा खुसी सुनिन्छन् नगरप्रमुख।
प्रजापतिले भने, 'लालपूर्जा सेनासँगै भए पनि जनताले उपभोग गर्न पाउनु राम्रो कुरा हो।'
सल्लाघारी चोकबाट माथिको थुम्को 'च्वङा गणेश पार्क' बारे मैले अघिल्लो वर्षै रिपोर्टिङ गरेकी थिएँ। यो पनि सेना नियन्त्रित जग्गाको हिस्सा हो। त्यति बेला 'च्वङा गणेशथान विकास समिति' का अध्यक्ष लक्ष्मीनारायण राजलवटले भनेका थिए, 'यो पार्क संरक्षण हामीले गर्नुपर्छ, निर्देशन भने सेनाको मान्नुपर्छ।' (हेर्नुहोस्: सेनासँग लडेर बनाएको त्यो पार्क)
यो ठाउँ स्थानीयको सार्वजनिक र धार्मिकस्थल हो। यहाँ विभिन्न देवगण छन्। प्रत्येक वर्ष रानीपोखरीमाझै थिमी, कटुन्जे, लुभुका स्थानीय देवाली पूजा गर्न आउँछन्। गणेश मन्दिर भएकाले बिहे, व्रतबन्ध लगायत शुभ कार्य हुन्छन्।
सेनाको नियन्त्रणमा पुगेपछि सर्वसाधारणले निस्फिक्री उपभोग गर्न पाएका थिएनन्। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले स्थानीयको गुनासो तत्कालीन राजा वीरेन्द्रसम्म पुर्याए। ०५० सालमा निवेदन हालेकोमा ८ वर्षपछि उपभोगको स्वीकृति पाए। त्यहाँ स्थानीय र नगरपालिका मिलेर रूख रोपे, पार्क बनाए।
'यसलाई पनि सार्वजनिक गराउन रक्षामन्त्री र प्रधानसेनापतिलाई पत्र लेखेको छु– जनताले निर्वाध उपभोग गर्न पाऊन्, सार्वजनिक गरी पाऊँ भनेर। कोही हेर्न नआएकाले अहिले केही भन्न सकिन्न। तर बिनाअवरोध जनताले भोगिरहेका छन्,' नगरप्रमुख प्रजापतिले भने।
इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठ नेवार संस्कृतिमा खुला स्थान अभिन्न भएको बताउँछन्। यी चउर किराँतकालीन सहर योजनाका झलक हुन्, तत्कालीन समयका चरनक्षेत्र। सर्सती आँखा दौडाउने हो भने उपत्यकाका पुराना बस्तीको बाहिरी घेरामा हामी चउर देख्छौं। पाटनको लगनखेल र जावलाखेल, भक्तपुरको सैनिक आवासीय चउर, कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय र काठमाडौंको टुँडिखेल।
'ठूला उत्सव गर्न खुला स्थानको महत्व हुन्छ। आपतविपतमा झनै महत्वपूर्ण छ,' श्रेष्ठले भने, 'खुला ठाउँको सोच हजारौं वर्षअघि नै थियो, त्यसलाई हामीले बिर्सनु हुन्न।'
भक्तपुर नगरप्रमुख प्रजापति जनतालाई बिनाअवरोध खुला स्थल भोगचलन र सार्वजनिक गराउन 'लबिङ' गरिरहेकै छन्। सेतोपाटीका प्रधानसम्पादक अमित ढकालले आफ्नो लेखमा भनेझैं काठमाडौं टुँडिखेल खुला गर्न पनि सेना बाधक नबन्ने देखिएको छ। टुँडिखेल पार्क बनाउने सेनाले होइन पनि, सरकारले हो। (हेर्नुहोस्: टुँडिखेल पार्कका लागि राष्ट्रपति र सेनापतिसँग 'लबिङ' गर्दा)
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले नै स्थानीय सरकारको अग्रसरताबिना सार्वजनिक सम्पत्तिको संरक्षण र सम्वर्द्धन हुन नसक्ने देखाउँछ। ऐनले सार्वजनिक, ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन सम्पदा तथा भौतिक पूर्वाधार संरक्षण, सुरक्षा तथा अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्ने दायित्व नगरपालिकाको हो भन्छ।
भक्तपुर यो दायित्व निर्वाह गरेर उदाहरण बन्दैछ। काठमाडौंले पनि 'टुँडिखेल पार्क' बनाएर त्यो भूमिका निर्वाह गर्ने बेला आइसकेको छ।