भक्तपुर, सल्लाघारी चोकबाट सिद्धपोखरी जाने बाटोमा सल्लाका ठूल्ठूला रुख छन्। माथि थुम्को छ। खुला ठाउँ छ। स–साना खुड्किलाबाट जान सकिन्छ। त्यही थुम्कोको नाम हो– च्वङा गणेश पार्क।
स्थानीय नेवारी भाषामा ‘च्व’ भनेको चुच्चो र ‘ङा’ भनेको पाँच हो। पाँच थुम्का र गणेश मन्दिरका कारण प्रसिद्ध भएकाले नाम ‘च्वङा गणेश’ भएको स्थानीय बताउँछन्।
पार्क संरक्षण ‘च्वङा गणेशथान विकास समिति’ले गर्दै आएको छ। केही दिनअघि समितिका अध्यक्ष लक्ष्मी नारायण राजलवट पार्कको रेखदेखमा निर्देशन दिँदै थिए। घाँस काट्ने काम जारी थियो।
रुख भएको क्षेत्र संरक्षणनिम्ति काँडे तार लगाउने काम सकिएको थियो। त्यसैबीच, वर्षा र हावाहुरीका कारण लडेको एउटा रुख भने बाटामा लम्पसार थियो। त्यसमा समितिको ध्यान थिएन।
‘यो लडेको रुख प्रयोग गर्न सेनालाई निवेदन दिएका थियौं। सेनाले आफ्नै प्रयोजनका लागि लान्छौं भन्यो। यसैले त्यसै छोडेको,’ राजलवट सेतोपाटीसँग भने, ‘यहाँका रुख र पार्कको संरक्षण हामी नै गछौं। निर्देशन भने सेनाको मान्नुपर्छ।’
राजलवटका अनुसार यो पार्क सेनाको नाममा छ। पहिले ‘पर्ती’ जग्गा थियो। सबैको साझा थियो। सेनाले आफ्नो बनायो। त्यसपछि हरेक काम सेनाकै निर्देशनमा गर्नुपर्छ।
सार्वजनिक जग्गा हुँदा स्थानीय आवतजावत गर्थे। मन्दिर पुग्थे। रितिरिवाज सम्पन्न गर्थे। घाँसपात ल्याउँथे। सेनाको कब्जामा भएपछि चारैतिर बार लगाउने प्रयत्न भयो। स्थानीयले चर्को विरोध गरे। सेना पछि हट्यो। २०५० सालतिर स्थानीयकै सहमतिमा खुड्किला बनाएर ढुंगा छाप्ने पहल भयो। त्यसमा भने सेनाले विरोध गर्यो। काम पूरा हुन सकेन।
‘सेना आएर कसलाई सोधेर बनाएको? भनेर थर्कायो। त्यसरी बाटो बनाउन पाइन्छ? भन्दै समातेर लग्यो,’ उनले भने, ‘हामीलाई जग्गाको लालपुर्जा देखायो र सेनाको नाममा भएको बतायो। हाम्रो सार्वजनिक जग्गा कसरी सेनाको भयो पत्तै भएन।’
यो जग्गा स्थानीयको सार्वजनिक एवम् धार्मिक स्थल थियो। यहाँ विभिन्न देवगणहरू छन्। यसैले प्रत्येक वर्ष ठिमी, कटुन्जे, लुबु लगायत ठाउँका स्थानीय 'देवाली' मनाउन आउँछन्। गणेश मन्दिर भएकाले विवाह, व्रतबन्ध लगायत शुभ कार्यहरु हुन्छन्।
इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार नेवार बस्तीको भगवान गणेशसँग प्रत्यक्ष सम्बन्ध छ। कुनै काम सुरु वा समापन गर्न गणेश मन्दिर जानुपर्छ। यसैले भक्तपुरको चारै दिशामा गणेश मन्दिर छन्। नगरको पश्चिममा रहेको यो गणेश १२ औं शताब्दिको भएको उनको अनुमान छ।
‘त्योबेला भक्तपुरमा नेपाल मण्डल बसाल्ने चलन थियो। राजधानी बसाल्ने क्रममा यन्त्राकार रुप दिई आठ स्थानमा अष्टमात्रिका, अष्टभैरव लगायत अष्टगणेश स्थापित हुन्थे,’ श्रेष्ठले भने, ‘देशरक्षा, देशबासीहरूको सुख, समृद्धि, सु–स्वास्थ, सफलचा लगायतका लागि उग्र तान्त्रिक स्वरुपका देवता स्थापना गर्ने प्रचलन थियो। तान्त्रिक शैलीमा बस्तीलाई सुरक्षा दिनेक्रममा भक्तपुरको प्रवेशद्वारमै रहेको च्वङागणेश स्थापना भएको हो।’
भक्तपुरका किसानहरु च्वङा गणेशलाई ‘च्वङावजु’ भनेर पुर्काछन्। उनीहरुमाझ कृषि उत्पादन बढाउन मद्दत गर्ने भगवानका रुपमा गणेश प्रख्यात छन्। जाँडरक्सी राम्रो पार्न समेत च्वङा गणेशको जलकुण्डको जलले स्थानीयहरु साधना गर्छन्।
गणेशसँगै यहाँ अन्य देवताका मन्दिर एवम् चैत्य छ। यहाँको चैत्यलाई काभ्रेस्थित नमोबुद्धकै प्रतिरुप मानेर ‘नमोबुद्ध चैत्य’ भनेर भनिन्छ। बौद्धमार्गीहरु यो चैत्यमा ‘चि बाहा पूजा’ गर्न आउँछन्। योसँगैको मन्जुश्रीमा ‘श्राद्धपूजा’ र ‘अस्थिपूजा’ हुन्छ।
च्वङा गणेशमा सरस्वतीको पनि मन्दिर छ। वसन्तपञ्चमीको दिन भक्तजनको भीड लाग्छ। यो दिन विवाहको लागि शुभ भएकाले वैवाहिक कार्य पनि सम्पन्न हुन्छ।
श्रेष्ठका अनुसार यी कार्य गर्न एकान्त ठाउँ चाहिन्छ। यसैले यस्ता ठाउँका लागि पर्ती जग्गा नै हुनुपर्छ। ५४ रोपनीको यो जग्गा त्यस्तै थियो।
२०४० सालतिर भने सेनाले पर्ती जग्गालाई आफ्नो नाममा बनायो। त्यसपछि यहाँ हुने निर्माण लगायत अन्य काम गर्न सेनाको स्वीकृति लिन पर्ने समितिका अध्यक्ष लक्ष्मी नारायण राजलवट बताउँछन्।
२०५० सालमा स्थानीय मिलेर च्वङा गणेशकै लागि सिँढी बनाउन लागेका थिए। सेनाको अवरोधले सफल भएन। आठ वर्षपछि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले त्यो कुरा राजा वीरेन्द्रसमक्ष राखे। अनि सिँढीको काम सफल भयो।
‘०५८ सालमा सेनाकै हातबाट सिँढी बनाउनू भनेर निवेदन पायौं,’ राजलवटले खुसी हुँदै भने, ‘०५० सालमा हालेको निवेदनको ८ वर्षपछि स्वीकृति आउँदा खुसीको सीमा नै थिएन। हामीले तत्कालै काम सुरु गर्यौं।’
उनका अनुसार सिँढीमा ढुंगा छाप्न करिब ३ लाख रुपैयाँ लागेको थियो। त्यसका लागि २ लाख रुपैयाँ नगरपालिकाबाट प्राप्त भयो। बाँकी स्थानीयबाट चन्दा उठाइयो। निर्माणका लागि कम्मर कसेका स्थानीयमध्ये धेरैले बिना पैसा श्रमदानमा काम गरे।
त्योसँगै चन्दा उठाएर ७४ हजार रुपैयाँमा कलात्मक प्रवेशद्वार बनाए। बाटोले पुरिएको ढुंगेधारा उत्खनन् गरे। मन्दिर एवम् पाटी–पौवा जिर्णोद्धार गरे। ती सबै कार्यमा सहयोग पुर्याउने स्थानीयको नाम र सहयोग रकम शिलालेखमा उल्लेख छ।
समितिले यी सबै निर्माण सुरु गर्दा यो पार्क अहिलेको जस्तो व्यवस्थित थिएन। उच्च भागमा रहेको यो जग्गाको केही भाग पहिरोका कारण भासिएको थियो। राजलवटका अनुसार पहिले ती भू–भागलाई सम्म बनाउन भक्तपुरका विभिन्न ठाउँबाट माटो ल्याइयो। त्यसपछि, भविष्यमा आउन सक्ने पहिरोबाट जोगाउन ‘रिटेनिङ वाल’ हालियो। त्योसँगै रुखहरु पनि रोपियो।
‘पहिले यहाँ सल्लाका मात्र रुख थिए। त्यसैबाट ठाउँको नाम नै सल्लाघारी भयो,’ रुख रोपिएको ठाउँलाई देखाउँदै उनले भने, ‘वन विभागले हामीलाई सल्लासँगै ३२ जातका बिरुवा दिएको थियो। त्यसलाई यी भागमा रोपेका छौं।’
विभिन्न मन्दिर र खुला ठाउँबीच नयाँ एवम् पुराना पाटी छन्। यिनमा विवाह, व्रतबन्ध, वनभोज लगायत हुन्छन्। नामाकरण नगरिएको यी पाटीलाई पुरानो पाटी, नयाँ पाटी, लामो पाटी लगायत नामले सम्बोधन गरिन्छ। पाटी उपभोग गर्न चाहनेले प्रतिदिन हजार रुपैयाँ तिर्नुपर्छ। लामो पाटी र भर्खरै बनेको नयाँ पाटीका लागि भने चार हजार रुपैयाँ लाग्छ।
राजलवटका अनुसार यसैबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी हुन्छ। त्यो पैसा पार्ककै व्यवस्थापनमा खर्च हुन्छ।
यही पैसाबाट यो वर्षबाट सञ्चालनमा आउने ‘नयाँ पाटी’ बन्यो। त्यसको लागि करिब ३० लाख रुपैयाँ लाग्यो। राजलवटका अनुसार भर्खरै हालेको काँडे तारका निम्ति ५ लाख खर्च भयो। सवारीसाधन पार्किङ स्थान बनाउने योजना थाँती रहेको उनले बताए।
‘यी सबै कार्य सेनासँगै अनुमति लिएर गर्नु भएको हो?’
‘पाटीको लागि त सेनासँगै स्वीकृति लिएको हो। पार्किङका लागि पनि लिनुपर्छ,’ उनले भने, ‘तार हाल्न भने लिएनौं।’