'यो रातो जुम्लाको सिमी हो। योसँग जिम्बु झानेर खाँदा गज्जब हुन्छ,' आफ्नो अर्ग्यानिक मार्टमा राखिएका सामानबारे शान्ताले बताइन्।
शान्ता शर्मा बरालको दैनिक बित्ने यसैगरी हो- ग्राहकलाई अर्ग्यानिक खाद्यान्न देखाउँदै-बेच्दै।
काठमाडौंको ढुंगेधाराभित्र नर्सरीचोकमा छ 'हामी साथी अर्ग्यानिक भण्डार'।
यसका सञ्चालक हुन् बर्दियाकी शान्ता र काभ्रेकी सुस्मा गौतम।
उनीहरूका अनुसार मार्टमा जुम्लाको मार्सी चामल, दाल, सिमी, भटमास लगायत खाद्यान्न पाइन्छ। सुर्खेतको भाङ र लुक्लाको सिमी पाइन्छ। झापाका महिलाहरूले उत्पादन गरेको मह पाइन्छ।
'हामीकहाँ धेरै खाद्यान्नहरू कर्णाली प्रदेशमा उत्पादित छन्,' शान्ताले भनिन्, 'त्यसमा पनि जुम्लाका उत्पादन धेरै छन्।'
आफूहरूको पसलमा शतप्रतिशत अर्ग्यानिक सामान मात्रै पाइने शान्ताले दावी गरिन्।
पसलमा उनीहरू आफैंले बनाएका विभिन्न स्वादका अचार बेच्न राखिएको छ। इलामबाट ल्याइएको अकबरे खुर्सानी, माछा र मासुको अचार रहेको उनले जानकारी दिइन्।
'यीबाहेक अरू धेरै सामान पाइन्छ,' उनले भनिन्, 'सबै अर्ग्यानिक हुन्।'
नर्सरी चोकमा नजिकनजिकै डेरामा बस्ने सुस्मा र शान्ताको चिनजान पहिल्यै थियो। शान्ताले महिला उद्यमी सम्बन्धी विभिन्न किसिमका तालिम लिएकी थिइन् र यही क्षेत्रमा संलग्न थिइन्। सुस्मा शान्ताको अनुभवमै सहकार्य गर्न आएकी हुन्।
'सुस्मा र म बाटामा हिँडिरहेका बेला यो व्यवसायबारे छलफल भएर योजना बनेको हो,' शान्ताले भनिन्, 'महिलालाई बाहिर काम गर्न कठिन छ। घरको काम भ्याउनैपर्यो। छोराछोरी पनि ख्याल गर्नुपर्छ। यी सबै मिलाएर काम थालेका हौं।'
सुस्मा र शान्ता घरका काम मिलाएर आलोपालो गर्दै काम भ्याउँछन्।
'श्रीमान बढीजसो बाहिरै हिँड्नुहुन्छ,' सुस्माले भनिन्, 'घर-बच्चा हेर्नुपर्छ। विदाका बेलामा बच्चा यहीँ ल्याउँछु। पालैपालो मिलाइरहेका छौं।'
शान्ता र सुस्माले अर्ग्यानिक भण्डारका लागि विभिन्न ठाउँबाट सामान मगाउँछन्। स्थानीय किसानसँग मिलेर काम गरिरहेका छन्। आएका सामान पिसाउने वा प्याक गराउने काम सुकेधारामा हुन्छ। यसनिम्ति दुई महिलालाई रोजगारी दिएको सुस्माले जानकारी दिइन्। पसलमा पनि एक जना महिला कर्मचारी छन्।
यी दुई साथी आफ्नो व्यवसायमा सन्तुष्ट देखिन्छन्। वरपर अर्ग्यानिक सामान पाउने अरू पसल नभएकाले पनि उनीहरूलाई सहज भएको छ।
तर यो काममा धेरै चुनौती भएको सञ्चालकद्वय बताउँछन्। शतप्रतिशत अर्ग्यानिक सामान पाउनु गाह्रो छ। महँगो पनि हुन्छ। उपभोक्तालाई यो कुरा बुझाउन नसके व्यवसाय अघि बढाउन मुश्किल हुने उनीहरू बताउँछन्।
'कति उपभोक्तालाई अर्ग्यानिक भनेको के हो भन्ने थाहै हुँदैन। सिधा-सर्लक्क परेका खानेकुरा खोज्छन्,' शान्ताले भनिन्, 'रातो दाल बजारमा ९० रूपैयाँ किलो हुन्छ, यहाँ आधा किलोकै १ सय २५ पर्छ। उपभोक्तालाई सामानबारे बुझाएर विश्वासमा लिन सक्नुपर्छ। यो ठूलो चुनौती हो।'
शान्ताका अनुसार अर्ग्यानिक सामान बाङ्गा-टिङ्गा हुन्छन्। कतिपयमा कीरा समेत लागेको हुन्छ।
'कीरासँग नडराउनुस्, आज खाएर भोलि मोटाउने खालका खाने कुरा नखोज्नुस्। खाने कुरा विस्तारै लाग्ने हो भनेर सम्झाउँछु,' उनले भनिन्।
सुरूमा एक पाउ-आधा किलो लिएर जानेले दोहोर्याएर आउँदा धेरै लैजाने उनी बताउँछिन्। आफूले पहिलेदेखि नै यस्तै काम गरेकाले सहज भएको शान्ता बताउँछिन्। उनको अनुभवले सुस्मालाई पनि सिकाएको छ। उपभोक्ताले पसलमा महिला देखेपछि बढी विश्वास गर्ने पनि उनीहरूको अनुभव छ।
'महिलाहरूमा बढी विश्वास हुने रहेछ,' शान्ता र सुस्मा दुवैले भने, 'हाम्रा सामान र काम गर्ने तरिकाबाट ग्राहक खुसी हुनुहुन्छ। यसले हामीलाई झनै ऊर्जा मिलेको छ।'
अब उनीहरू अर्को ठाउँमा पनि अर्ग्यानिक भण्डार खोल्ने तयारीमा छन्।