गुर्जे भञ्ज्याङ। साइकलमा मेरो निम्ति यो काठमाडौं उपत्यकाको नयाँ पास थियो। गत शनिबारका लागि नयाँ चुनौती। नयाँ उत्तेजना।
चक्रपथ सामाखुशी चोकबाट सोझै उत्तर जाने त्यो बाटोले यसअघि मलाई ग्राण्डी अस्पतालसम्म मात्र पुर्याएको थियो। यसपटक भने उपत्यकाकै ‘भित्तो’ नघायो।
यसपाला म एउटा कारण पनि बोकेर यो भञ्ज्याङ उक्लँदै थिएँ।
नेपाली पत्रकारितामा आज हामीले जे जति स्वतन्त्रता उपभोग गरिरहेका छौं, त्यस निम्ति महत्वपूर्ण भूमिका खेल्ने एक दिवंगत नायकलाई सम्झने योग यो यात्राले जुराइरहेको थियो। पत्रकार गोविन्द ‘वियोगी’को नाममा राखिएको पत्रकारिता पुरस्कार समारोहमा सरिक हुन नुवाकोट जिल्लाको सुइरे चौर पुग्नुपर्ने भयो। सुइरे चौर पुग्न यही गुर्जे भञ्ज्याङ नाघेर जानुपर्दो रहेछ।
मैले सबभन्दा पहिले साइकलमा त्यहाँ पुग्ने सम्भावना खोजी गरेँ।
युट्युबमा थुप्रै भिडियो रहेछन्। ती सबै मोटरसाइकल यात्रामा आधारित थिए, जसले साइकल निम्ति पनि योजना बनाउन सहयोग गर्थ्यो।
काठमाडौंका उत्साही तन्नेरीहरूले मोटरसाइकलमा गरेका यो ठाउँको यात्रामा आधारित टन्नै ‘भ्लग’ पनि रहेछन्। तिनका हजारौं ‘भ्यू’ देखेर थप उत्साहित बनायो।
भौगोलिक अवस्थितिका हिसाबले यो काठमाडौंभन्दा उत्तरतिरका हिमश्रृंखला नियाल्न चिसापानी र ककनीको बीचमा पर्ने स्थान रहेछ। त्यसैगरी चक्रपथदेखिको पक्की सडकले ११ किलोमिटरकै यात्रामा पुर्याइदिने एउटा कमै चल्तीको आकर्षक भञ्ज्याङ।
केटाकेटीमा काठमाडौं आउँदा चाबहिलदेखि उत्तर-पश्चिमको पाखामा देखिने बस्तीलाई ‘टोखा’ भनेर चिनाइन्थ्यो। यतिबेला म त्यही टोखा उक्लँदै थिएँ।
ग्राण्डी अस्पताल नाघ्नेबित्तिकै पहिलो ‘गतिलो’ उकालो आइपुग्यो। साइकलमा यात्रा गर्नेलाई अत्याउने त्यो उकालो सकिनेबित्तिकै टोखा सुरू हुने रहेछ। पुरानो टोखा अलि परै थियो। एकछिनको यात्रापछि मात्र पुरानो सहरको पुरानै गेट देखियो। झलक्क हेर्दा साँखुतिरको गेटजस्तो। अनि गेटभित्र इँटाले जोडेको बाटोमा दुईतिर लस्करै पुराना घर।
गुर्जे भञ्ज्याङ पुग्न त्यो गेटबाटै पस्नुपर्ने रहेछ।
मैले पहिले फोटो खिचाएँ। खिचिदिने स्थानीय वृद्धसँग गुर्जे भञ्ज्याङको दूरी सोधेँ।
‘आधा घन्टामा पुगिन्छ,’ उनले सजिलै भनिदिए। जबकि त्यस्ता आधा घन्टा धेरैपटक उक्लँदा उक्लँदै गुज्रिएको थियो।
तर, बाटो यति रमाइलो थियो, त्यो उकालो महशुस भएन। पाखैपाखा गुज्रिने नयाँ ओछ्याइएको पिचले पनि यस्तो भइरहेको थियो।
काठमाडौं छेउछाउका खुला फाँटमा कतिसम्म तीव्र सहरीकरण भइरहेको छ भने दुई/तीन वर्षअघि मात्र अपलोड गरिएका युट्युब भिडियोमा जुन क्षेत्र खाली देखिन्थे, त्यहाँ अहिले कंक्रिट जंगल बनिसकेछ।
म एकतमासले साइकल गुडाइरहेँ। यात्रा पञ्चेटार हुँदै झोर पुग्यो।
यो बाटोको अर्को विशेषता भनेको काठमाडौंका भर्भराउँदा तन्नेरी जोडीलाई सप्ताहन्तमा मोटरसाइकल यात्रा गराउनु पनि रहेछ। उता नगरकोटतिर उक्लँदा जसरी मोटरसाइकलमा अनुहार छोपिएका दुई तन्नेरी ज्यानको यात्रा लगातार देखिन्थे, त्यसैको झल्को यहाँ पनि थियो।
मोटरसाइकल जतिसुकै उकालोमा भए पनि पछाडि बसेकी युवतीको ज्यान प्रकृतिको नियमविपरित युवकतर्फै ढल्किएको देखिनुमा विचित्रको चुम्बकीय प्रभाव साक्षात्कार हुन्थ्यो।
यस्तै प्रभाव देखेर यी तन्नेरीका निम्ति केशव स्थापितले कुनै समय राजधानीमा राम्रो पार्कको आवश्यकता महशुस गरेका थिए। साइकल यात्रीका हकमा भने यस्ता दृश्यले जस्तै उकालोमा पनि कसेर पाइडल ठेल्ने ऊर्जा दिइरहेकै हुन्छ।
झोरको एउटा मोडमा गतिलै उकालो थियो। त्यहीँ छेउको पसलमा रेडियोबाट बजिरहेको गीतले फेरि अर्को तरंग उत्पन्न गर्यो–
‘खोलापारि म माया लाउँदिन
बर्खा लागे आइर’न पाउँदिन
साइँला दाइ,
आइयाया आथ्थाथा’
कुनै जमानाको खुब चल्तीको गीत थियो यो ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’। उकालो चढ्दाचढ्दै पनि त्यो आवाजले मेरो शरीरलाई साइकलमै हल्लिन बाध्य बनायो।
यी मोटरसाइकलमा हुइँकिने भर्खरका केटाकेटीले यो गीतको तरंग महशुस गरे होलान्? आजभोलि डाँडै नाघेर जानेहरूले त्यो बेला जाबो खोलाकै कारण पनि कत्रा ठूला बेग थामिन्थे भनेर बुझ्लान्?
बीचमा बसेर दुइटा पुस्ताका छनौटको दुवै प्रकारबाट आनन्द लिन सक्नुको पनि बेग्लै मज्जा छ। यस्तै आनन्द गोविन्द ‘वियोगी’ र आजका संघर्षरत पत्रकार दुवैलाई देख्दा हुन्छ।
विडम्बना के छ भने, संगीतका पुराना धून रेडियो, टिभीदेखि युट्युबसम्ममा भेटिन्छ। जबकि पत्रकारिताका पुराना पुस्ताको संघर्ष त्यसरी नयाँ पुस्तासम्म पहुँच बनाइदिने काम विरलै भइरहेका छन्। त्यो नभएकै कारण विकृति पनि बढिरहेकै छ।
आज पत्रकारिताले जुन स्वतन्त्रता उपभोग गरिरहेको छ, त्यस निम्ति विगतमा कस्ता त्याग भएका थिए भन्ने नयाँ पुस्ताले जानेन भने उसले यो स्वतन्त्रताको मूल्य बुझ्दैन। यस्तो अवस्थामै स्वतन्त्रताको दुरुपयोगका सम्भावना बढ्ने हो।
हुन त, विगतमा धेरै वरिष्ठ पत्रकारको योगदान पक्कै थियो होला। तर, मैले ‘वियोगी’लाई विशेष चिन्नुको कारण उनी मेरो सहर वीरगन्जसँग जोडिएकैले हो।
म मेरो जानकारीमा रहेको त्यो पुरानो समय सम्झन्छु।
२०१८ सालमा गोविन्द ‘वियोगी’ ले काठमाडौंबाट ‘मातृभूमि साप्ताहिक’ निकाल्न थालेका थिए। अर्थात्, राजा महेन्द्रले पहिलो जननिर्वाचित सरकार अपदस्थ गरेर शासनसत्ता आफ्नो हातमा लिएपछि।
वियोगीको पत्रिकाले तत्कालीन शासकको चाहनामा ठेस पुर्याउन थाल्यो। यसै क्रममा सुरु भएको चार वर्षपछि अर्थात् २०२२ सालमा उनको पत्रिका ‘मातृभूमि’ को हत्या गरियो। त्यसको दर्ता खारेज गर्न पत्रिकाका प्रकाशकलाई अघि बढाइयो। पत्रिका निकाल्नेदेखि सम्पादकसम्म वियोगी स्वयं रहे पनि औपचारिकता निम्ति उनले ‘प्रकाशक’ भनेर नाम राखिदिएका साथीले नै धोका दिए। यसरी धोका दिनुका पछाडि तत्कालीन शासककै चाहना जोडिएको थियो, जसले वियोगीलाई फेरि पत्रिका निकाल्ने कुनै बाटो दिन तयार भएन।
अन्तिममा निराश वियोगी वीरगन्ज पुगे। त्यहाँका अञ्चलाधीश उनले चिनेका थिए। ती अञ्चलाधीशले वीरगन्जमै पत्रिका चलाउने हो भने अनुमति दिने बताए। वियोगीलाई के चाहिन्थ्यो? उनी तयार भए।
यसरी वीरगन्जमै ‘मातृभूमि’ नामबाटै दर्ता पाइयो। काठमाडौंमा बन्द गरिएको 'मातृभूमि' वीरगन्जबाट निक्लिन थाल्यो।
वियोगी फेरि उस्तै!
उनी वीरगन्जमा पत्रिका छाप्थे र काठमाडौं ल्याएर वितरण गर्थे। यो कुराले उनलाई अनुमति दिने अञ्चलाधीश नै समस्यामा परे। उनलाई अञ्चलाधीश कार्यालयमा बयान दिन बोलाइयो।
त्यति बेला बयान लेखिदिने मानिस थिए, गोपालचन्द्र गौतम अर्थात् प्रसिद्ध पत्रकार गोपाल गोतामे। गोतामे त्यति बेला अञ्चलाधीश कार्यालयकै परिसरमा लेखन्दासी थिए। गोतामेले लेखिदिएको त्यो बयानले एकसाथ दुइटा काम गरिदियो।
एउटा 'मातृभूमि' लाई बन्द हुनुबाट जोगायो। योसँगै नेपाली पत्रकारितालाई अर्को सशक्त पत्रकार अर्थात् गोतामे स्वयं उपलब्ध गरायो।
त्यो बेला गोतामेले लेखिदिएको बयानबाटै 'मातृभूमि' ले वीरगन्जमा निरन्तरता पाएको थियो। तर, काठमाडौंबाट स्वीकृति नलिई अञ्चलाधीशले पनि पत्रिका दर्ता गर्न नपाउने नियम त्यसै समयदेखि लागू भयो।
यसरी दुई वर्षसम्म वीरगन्जबाटै निस्कन सफल 'मातृभूमि' ले २०२४ सालमा भने तत्कालीन गृहराज्यमन्त्री नवराज सुवेदीको सहयोगमा फेरि काठमाडौंबाट प्रकाशित हुने अनुमति पायो।
त्यसपछि पनि दर्ता खारेज र थुनछेकका श्रृंखला जारी रहे।
त्यसरी अघि बढेको पत्रिकाले २०४६ सालको परिवर्तन निम्ति महत्वपूर्ण भूमिका खेल्यो। पत्रिका बलिया भए। त्यसले ठूला लगानीकर्ता जन्मायो। जुन 'मातृभूमि' र 'समीक्षा' जस्ता पत्रिकाले यो दिनको बीउ रोपेका थिए, तिनै पत्रिकाको ठूला लगानीसँग प्रतिस्पर्धा गर्न नसकेर धमाधम मृत्यु भयो।
२०१८ सालदेखि बगेको 'मातृभूमि' को धारा २०५२ सालमा थामिन पुग्यो।
पञ्चायतकालमा ‘विमर्श समूह’ जन्मनुअघि सशक्त पत्रिका भनेकै मातृभूमि, समीक्षा (मदनमणि दीक्षित) र समाज (मणिराज उपाध्याय) थिए। त्यसैगरी प्रतिबन्धित राजनीतिक दलसँगको निकटता राखेर निस्केका केही पत्रिका चर्चित थिए।
यस्तो अवस्थामा मातृभूमिका मुख्य कर्ताधर्ता भनेकै वियोगी र गोतामे।
कतिसम्म भने, आठ पृष्ठको मातृभूमिमा दुइटा पाना गोतामेका लेखले भरिएका हुन्थे। एउटा आफ्नै नामले र अर्को ‘सञ्जय’ उपनामले। त्यसैगरी महत्वपूर्ण समाचारमा पनि गोतामेकै ‘बाइलाइन’ देखिन्थे।
गोतामेले वीरगन्जमै बसेर काम गर्दा पनि पत्रकारिताको यो महत्वमा आफूलाई राख्न सकेकामा हामी वीरगन्जवासीहरू ‘सेलिब्रेट’ गर्थ्यौं। अत्यन्त साधारण देखिने ती पत्रकार उतिबेलाको गरिब सूचना सञ्चार प्रणालीको युगमा पनि वीरगन्जका गल्लीमा भौंतारिने ‘विश्व नागरिक’ थिए।
उनी त्यस सहरका स-साना घटनालाई पनि विश्वका विभिन्न भेगमा देखा परिरहेका परिवर्तनसँग जोडेर हामीलाई अर्थ्याउँथे। मनमोहन अधिकारीजस्ता उतिबेलाका ठूला नेता वीरगन्ज आउँदा उनकै घरमा पाहुना लाग्थे।
त्यस्ता गोतामेले २०४६ सालको परिवर्तन देख्न पाएनन्। त्यही वर्ष उनको निधन भयो। गोपाल गोतामे आज पनि वीरगन्जको पत्रकारितामा सबभन्दा सम्मानित नाम हो।
गोतामेको निधनपछि पनि वियोगीले उनलाई उत्तिकै माया गरिरहे। वियोगी बाँचुन्जेल ‘गोपाल गोतामे पत्रकारिता पुरस्कार’ अघि बढाए। गोतामेलाई आदर्श ठान्ने वीरगन्जका पत्रकारलाई बाँचुन्जेल अभिभावकत्व प्रदान गरे।
वियोगीको २०६२ सालमा निधन भयो।
वियोगीलाई सम्झाउने भनेको २०४६ सालमा उनको भूमिकाले नै हो।
त्यति बेला उनी नेपाल पत्रकार संघ (हाल महासंघ) का सभापति थिए। यो महासंघको जग हाल्ने मुख्य व्यक्ति नै वियोगी हुन् भन्दा फरक पर्दैन। उनले नेतृत्व लिएपछि नै पत्रकारको यो संगठनले राष्ट्रव्यापी विस्तारको मौका पाएको थियो। विशेष गरेर तत्कालीन समयमा प्रजातान्त्रिक विचारधाराका पत्रकारलाई संगठनमा उनले भित्र्याएका थिए।
यति मात्र होइन। २०४६ को जनआन्दोलनमा पत्रकारको महत्वपूर्ण योगदान समावेश गराउन तत्कालीन नेपाल पत्रकार संघको ‘झापा घोषणापत्र’ कै मुख्य भूमिका छ, जुन वियोगीकै देन थियो।
त्यति गरेकै कारण २०४७ सालमा पहिलोपटक वियोगीले पत्रकारिताका हकमा जे-जे भने त्यही कुरा संविधानमा समेटिन सफल भयो। नेपाली पत्रकारिताले पञ्चायतकालमा भोगेको ‘दर्ता खारेज’ को कालरात्रि सधैंका निम्ति विदा भयो।
वियोगीका यिनै योगदान सम्झँदै साइकलको पाइडल थिचिरहेका बेला अलि जटिल बाटो आइपुग्यो।
त्यो ठाडो उकालोमा एउटा मोटर माथि चढ्न सास्ती खेप्दै थियो। हुत्तिएर आउला भनेर म एकछिन पर्खिएँ। मोटरले समय लगाउने देखेपछि साइकल उकालोतर्फ हाँके। अलि माथि पुगिसकेकै बेला मोटर फेरि छेउमै आइपुग्यो। परिचित आवाज कानमा गुञ्जिन थाले।
सबभन्दा पहिले मोटरका चालक चन्द्रशेखर अधिकारीलाई चिनेँ। त्यसपछि देखेँ हरिबहादुर थापा। त्यसैगरी पछाडिको सिटमा महासंघका पूर्व सभापति विष्णु ‘निष्ठुरी’ र अर्का पत्रकार घनश्याम खड्का।
म जुन समारोहमा भाग लिन चढ्दै थिएँ, त्यो समारोहले गोविन्द वियोगी पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक थापालाई नै प्रदान गर्दै थियो। लामो समय सँगै पत्रकारिता गरेका थापा नेपालमा भ्रष्टाचारविरोधी पत्रकारिताका सशक्त युवा हस्ताक्षर हुन्।
उकालो बाटोमा यसरी साथीहरू भेट्दा मेरो हौसला झनै बढ्यो।
गुर्जे भञ्ज्याङमा सेनाको चेकपोष्ट काटेपछि केही किलोमिटर तेर्सो बाटोले नुवाकोटतर्फको सुइरे चौर पुर्याउँदो रहेछ। मौसम सफा भएको दिन त्यहाँबाट सातवटा हिमश्रृंखला देखिने जानकारी स्थानीयले दिए। त्यो भाग्य हामीलाई त्यस दिन जुरेन।
वियोगीलाई चिन्ने अर्थात् थोरै नयाँ र धेरै पुराना पत्रकारसँगको पिकनिकमय समारोह दिनभर चल्यो।
समारोहमा उपस्थित शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले गुर्जे भञ्ज्याङबाट आफूहरूको गाउँ जोड्ने बाटो नै ‘गोविन्द वियोगी मार्ग’ नामाकरण भइसकेको बताए। सेनाले चर्को प्रवेश शुल्क राखिदिएर काठमाडौंदेखि आउनेलाई हतोत्साहित पारिदिएको गुनासो पनि उनले थपे।
वियोगीकै नामबाट पत्रकारिता अध्ययन केन्द्र स्थापना गर्न गाउँपालिकाले उपलब्ध गराएको जमिनमा भवन पनि उभिन थालिसकेको रहेछ।