ग्वार्कोबाट मंगलबजारतर्फ उक्लिनेबित्तिकै दाहिने मोडिएर थोरै अगाडि बढेपछि परम्परागत नेवारी बस्ती पुगिन्छ। ज्यापू समुदायको पुरानो बाक्लो बस्ती रहेको यो पिलाछेँ टोल हो।
२०७२ को भुइँचालोले यहाँका धेरै घरमा क्षति पुगेको थियो। एक सय १० घरमध्ये ८२ वटा पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। झन्डै १० महिना पूरै बस्ती काठको टेकोमा अडिएको थियो। निम्न आय भएका बहुसंख्यक टोलबासी घर कसरी उभ्याउने भनी अलमलिएका थिए।
आज यही टोल मौलिक ढाँचाको नयाँ घरमा 'होमस्टे' चलाएर पर्यटक आकर्षित गर्ने तर्खरमा छ।
सुनिल महर्जनले डेढ वर्षअघि घर बनाउन सुरु गरेका थिए। अब झ्यालढोका हाल्न मात्र बाँकी छ। त्यसपछि मौलिक ढाँचाको घर बस्नलाई तयार हुनेछ। उनले भुइँचालोमा खोसिएको छत मात्र फिर्ता पाउने छैनन्, नयाँ घरमा 'होम स्टे' चलाएर आम्दानीको बाटो पनि खोल्नेछन्।
अमिर महर्जनले पनि साढे चार तलाको घरमा तीन तलाको ढलान सकिसके। दुई महिनाभित्र नयाँ घरमा सर्नेछन्। आफूसँगै आन्तरिक र बाह्य पर्यटकलाई पनि नयाँ घरमा भित्र्याउनेछन्।
ललितपुर महानगर- ७, पिलाछेँका स्थानीयले सरकारी अनुदान ३ लाख र माया फाउन्डेसनबाट २५ प्रतिशत रकम पाएपछि नयाँ घर बनाउन थालेका हुन्। यसमा उनीहरूको आफ्नै लगानी पनि परेको छ।
सामुदायिक सहभागितामा टोल पुनर्निर्माणको यो योजनाअन्तर्गत यहाँका ८२ मध्ये अहिलेसम्म ३२ वटा घर बनेका छन्। दसवटा निर्माणको क्रममा छन् भने ४० वटा भत्काउनै बाँकी छ। घर निर्माण छिटो सक्न स्थानीय आफैं जुटेका छन्। बस्तीलाई मौलिक ढाँचामा उभ्याउन उनीहरू एकअर्काको घर ढलानदेखि विभिन्न काममा खटिन्छन्।
बस्ती पुनर्निर्माणको यो अभियान यहाँका स्थानीय रमेश महर्जनले सुरु गरेका हुन्। उनी भुइँचालो लगत्तै 'माया फाउन्डेसन' खोलेर पुनर्निर्माणमा लागेका थिए। गत वैशाखपछि भने फाउन्डेसनले पुनर्निर्माणको जिम्मा घरधनीलाई नै दिएको छ। घरधनीलाई नै जिम्मा दिएपछि कामको गति बढेको महर्जन बताउँछन्।
‘अहिलेसम्म घर बनाउने व्यक्तिले कति सामान लिए, के–के लिए तथ्यांक राख्न अप्ठ्यारो थियो,' उनले भने, 'काम अस्तव्यस्त भयो। कतिपय स्थानीय मितव्ययी भएनन्। त्यसैले हामीले उनीहरूलाई नै सबै जिम्मा दिएका छौं।’
उनका अनुसार स्थानीयलाई जिम्मा दिँदा अपनत्व महशुस भएको छ। सबै सामान उनीहरू आफैं परीक्षण गरेर लैजान्छन्। चाहिने जति मात्र लिन्छन्। यसले घर निर्माणको गति बढेको छ।
यो नयाँ व्यवस्थापछि 'पिलाछेँ पुनर्निर्माण तथा पयर्टन प्रवर्द्धन परियोजना’ निस्क्रिय भएको छ। ‘हामीलाई नमूना बस्ती छिटो चाहिएको हो। समिति निस्क्रिय भए पनि पुनर्निर्माण अवलोकन गर्ने र काम छिटो सक्न घच्घचाउँदै आएका छौं,’ समितिका संयोजक मदनराज महर्जनले भने।
उनका अनुसार दुईवटा घर होमस्टेका लागि भाडामा गइसकेको छ। ती घरको १५ कोठा भाडामा दिइएको छ।
सातवटा चोक रहेको पिलाछेँमा बन्ने सबै घर मौलिक नेवारी शैलीको छ। यो बस्ती करिब सय रोपनी क्षेत्रफलमा फैलिएको छ। हालसम्मको निर्माणमा चार करोड सकिएको छ। सबै घर बनिसक्दा ५० करोड खर्च हुने अनुमान गरिएकोमा त्योभन्दा कममै सकिने मदनराजले बताए।
यो मल्लकालीन ऐतिहासिक बस्ती हो। कला, संस्कृति र परम्परामा धनी भएर पनि समयको चाप पछ्याउन नसक्दा पिलाछेँ ओझेल परेको थियो। 'अब पुरानै अवस्थामा फर्काउने लक्ष्य लिएका छौं,' उनले भने।
यो टोलमा ४० वटा बहाल छन्। पाँच रोपनीमा फैलिएको भिन्छेँ बहाल प्रस्तर कलाका लागि प्रसिद्ध छ। यहाँको वास्तुकला, रहनसहन र चाडपर्व लिच्छविकालदेखि चल्दै आएको स्थानीय बताउँछन्। यहाँ गणेश मन्दिर, पिलाछेँ पोखरी, गुठीघर लगायत पुरातात्विक महत्वका स्थल छन्। धेरै स्थानीय अझै हाकुपटासी बनाउँछन्। मच्छिन्द्रजात्रा, भिमसेन जात्रा, बालकुमारी जात्रा, गठाः मुगा, देवालीलगायत सांस्कृतिक गतिविधिले बस्तीलाई जीवन्त बनाएको छ।
भुइँचालोले क्षतिग्रस्त यो क्षेत्रमा ६ वटा विभिन्न देवीदेवताका मन्दिर छन्। २७ रोपनी क्षेत्रफलमा फैलिएको गुइट दोमार (बालकुमारी चौर) मा परम्परागत वास्तुकला झल्किने संरचना प्रशस्तै छन्।
कतिपय स्थानीय आफ्नै धोती, चोलो, कपडा बुनेर लगाउने गर्छन्। ढिकीमा धान, चामल, मकै, गहुँ आदि अन्न कुटेर खाँदै आइरहेका छन्। सुकुल बुन्ने, जुत्ता बुन्ने, टोपी बुन्ने काम पनि छाडेका छैनन्। काठ तथा धातुका हस्तकला निर्माण अझै हुँदैछ। खेती र निर्माणका काम स्थानीय आपसमा मिलेर सामूहिक रूपमा गर्छन्। अनगिन्ती सामाजिक विधि–व्यवहार र जात्रा मनाउँदै आएका यहाँका स्थानीय बालकुमारी माईको जात्रा वर्षको दुईपटक मनाउँछन्।
‘पिलाछेँ महत्वपूर्ण बस्ती हो। चिउरा कुट्ने, रक्सी पार्ने परम्परागत तरिका देखाएर पर्यटक आकर्षित गर्न सकिन्छ,’ फाउन्डेसनका अध्यक्ष रमेश महर्जनले भने, ‘पुनर्निर्माणपछि यहाँको ऐतिहासिक र परम्परागत जीवन फर्कने छ। परम्परागत पोसाक सिलाउने प्रविधि र हस्तकला सीप जीवित रहेको यो ठाउँमा पुरानै वास्तुशैलीका घर निर्माण भए पर्यटकलाई ‘होमस्टे’ मा आकर्षित गर्न सकिन्छ।’
भुइँचालो गएकै वर्ष माघ २ गते पुनर्निर्माण प्राधिकरणका तत्कालीन प्रमुख कार्यकारी गोविन्द पोखरेलले बस्ती पुनर्निर्माण परियोजना शिलान्यास गरेका थिए। त्यतिबेला उनले ‘नमूना परियोजना’ को संज्ञा दिए पनि प्राधिकरणबाट सहयोग नभएको अध्यक्ष महर्जन बताउँछन्। सरकारको सहयोग नभएकाले पनि बस्ती निर्माण ढिलो भएको उनले आरोप लगाए।
‘बस्ती पुनर्निर्माण क्रममा स्थानीयबीचै मनमुटाव आयो। हामीले मिलाएर लैजानुपर्छ भन्दै सहमति जुटुन्जेल कुर्यौं। यसले गति सुस्त भयो,’ उनले भने, ‘त्योभन्दा ठूलो कुरा, न प्राधिकरणबाट केही सहयोग भयो, न महानगरबाटै।’
यो पनि