डोल्पामा ठूलोभेरी नदीको टापुमा फसेका चार जनाको उद्धार गरिएको छ।
मंगलबार बिहान पौने ९ बजेतिर ठूलोभेरी नगरपालिका-३ धुपिचौरस्थित ठूलोभेरी नदीको टापुमा फसेको चार जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका डिएसपी रूकबहादुर खड्काले जानकारी दिए।
त्रिपुरासुन्दरी नगरपालिका-६ पालंग बस्ने ३३ वर्षीय ललित बोहरा, २६ वर्षीय नन्दप्रसाद बोहोरा, ३७ वर्षीय श्यामलाल बोहोरा र ३५ वर्षीय लालकुमार बुढा टापुमा फसेका थिए।
उनीहरू बाढीले बगाएर ल्याएको दाउरा बटुल्न गएका थिए।
त्यसक्रममा नदीको बहाव बढेपछि उनीहरू फर्किन सकेका थिएनन्।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उनीहरूको उद्धार गरेको हो।
उपचारका लागि चारै जनालाई जिल्ला अस्पतालमा लगिएको छ। उनीहरूको अवस्था सामान्य छ।