डिल्लीरमण रेग्मी पुस्तकालय, लाजिम्पाटको एउटा कोठामा एक हुल केटाकेटी रमाइरहेका थिए।
नरमाउन् किन? त्यहाँ उनीहरूको मन भुल्ने किताबदेखि खेल्ने सामग्रीहरू छन्। अझ त्योभन्दा बढी, आफ्नै उमेरका मन मिल्ने दौंतरी।
त्यही भएर, यहाँ छेउछाउका केटाकेटीका निम्ति स्कुल छुट्टी हुनेबित्तिकै धाउने ठाउँ यही पुस्तकालय हो।
केटाकेटी मात्र होइन, युवा र वृद्धवृद्धाका लागि पनि यहाँ छुट्टाछुट्टै कोठा छन्। ती कोठामा उनीहरूको बौद्धिक खुराक निम्ति नयाँ-पुराना किताब प्रशस्त छन्।
डिल्लीरमण रेग्मी परिवारले २०६७ सालमा यो पुस्तकालय सरकारलाई हस्तान्तरण गरेको हो। त्यसयता पाठक संख्या दुई गुणा बढेको पुस्तकालय प्रमुख भोलाकुमार श्रेष्ठ बताउँछन्।
श्रेष्ठले विभिन्न पुस्तकालयमा जागिर खाएर ३७ वर्ष बिताए। सुरुमा लहैलहैमा पुस्तकालयमा जागिर खान पुगेका उनी अचेल किताबको वरिपरि बस्ने लत लागेको बताउँछन्।
'अब त पुस्तकालयबाट बाहिर बस्नै सक्दिनँ,’ उनले भने, ‘सबैले किन पुस्तकालयमा आएर बसेको भनेर सोध्छन्। अन्त राम्रो ठाउँमा काम गर्ने सल्लाह दिन्छन्। मलाई भने मान्छेको जीवन र समाज परिवर्तन गर्ने हो भने सबभन्दा पहिला टोलटोलमा पुस्तकालय स्थापित गराउनुपर्छ भन्ने लाग्छ।’
एउटा भनाइ नै छ- पुस्तकालय भएन भने मान्छेको अस्तित्व नै मेटिन्छ। न विगत रहन्छ, न भविष्य।
यही भनाइ आत्मसात् गर्दै सबैजसो देशले एउटा राष्ट्रिय पुस्तकालय बनाउने गरेका छन्। विकसित देशहरूमा त पुस्तकालय संस्कृति यति फैलिएको छ, ठूल्ठूला सहरको कुरै छाडौं, साना गाउँहरूमा पनि पुस्तकालय नभई हुन्न।
इसापूर्व ५५०० देखि सुमेरियन र मेसोपोटामियनहरुले गिलो माटोका खपटामा चित्रात्मक लिपिमा आफ्नो विचार लेखेर घाममा सुकाएर राख्ने गर्थे भन्ने इतिहास छ। तिनै माटोका खपटामा लेखिएका सामग्रीको संग्रहलाई आधुनिक पुस्तकालयको प्राचीन रूप मानिन्छ।
जर्मनी, कोलनको मध्यसहरमा गत वर्ष पुरातत्वविद्हरूले रोमनकालीन संरचनाको पर्खाल उत्खनन् गरेका थिए। त्यो पर्खाल सार्वजनिक सभागृहको अवशेष हुनसक्ने अनुमान गरिएको थियो। एक वर्षको मिहिन अनुसन्धानपछि यो रोमनकालीन संरचना जर्मनीकै सबभन्दा पुरानो सार्वजनिक पुस्तकालय हो भन्ने पुरातत्वविद्हरूले निष्कर्ष निकाले।
कोलनलाई जर्मनीकै पुरानो सहरमध्ये एक मानिन्छ। रोमनहरूले इस्वी सम्बत् ५० मा यो सहर बसाएको इतिहास छ। यो पुस्तकालय त्यतिबेलै बनेको हुनसक्ने पुरातत्वविद्हरूले अनुमान गरेका छन्।
यसरी मानव सभ्यताको विकासक्रममा दुई हजार वर्षअघि नै सुरु पुस्तकालय संस्कृतिले आजको समयमा पनि उत्तिकै महत्व राख्छ।
न्यूयोर्क विश्वविद्यालयका समाजशास्त्र प्राध्यापक एरिक क्लिनबर्गले भनेका छन्- 'पुस्तकालय भनेका सामाजिक पूर्वाधार हुन्। यसले लेखपढ संस्कृतिलाई बढावा दिन्छ। सामाजिक रूपमा घुलमिल हुन र बहस गर्न सिकाउँछ।'
उनका अनुसार पुस्तकालय भनेको यस्तो सार्वजनिक स्थल हो, जहाँ विषयगत अन्तर्क्रिया हुन्छ। किताब साटिन्छ। विचार साटिन्छ।
हामीकहाँ भने अझै पनि पुस्तकालयलाई सामाजिक विकासको अत्यावश्यक पक्षका रूपमा लिने संस्कार विकास भइसकेको छैन। शिक्षा मन्त्रालयको तथ्यांकले सहरमा प्रशस्त पुस्तकालय रहेको देखाउँछ, तर ती नाम मात्रका छन्।
उदाहरणका लागि, काठमाडौंमा मात्र सार्वजनिक तथा सामुदायिक गरी ६३ पुस्तकालय रहेको मन्त्रालयको तथ्यांक छ। तीमध्ये धेरै स्रोतसाधन अभावले खुम्चिएका छन्। धेरै त नाम मात्रमा सीमित भइसके। यिनलाई पुनर्स्थापित गर्न र बढीभन्दा बढी नयाँ पुस्तकालय खोल्न सरकारको खासै प्राथमिकता देखिन्न।
पुस्तकालय निर्माण शिक्षा मन्त्रालयको कार्यक्रममा भने छ। प्रत्येक स्थानीय तहमा एउटा पुस्तकालय बनाउने भनिएको छ। यसअनुसार ७५३ स्थानीय तहमा एउटा-एउटा पुस्तकालय बन्नेछन्।
दुई वर्षभित्र सातैवटा प्रदेशमा प्रादेशिक पुस्तकालय र केन्द्रमा केन्द्रीय पुस्तकालय बनाउने योजना पनि छ। तर, यो पर्याप्त होइन।
सरकारी तथ्यांकले जे हिसाब निकाले पनि हामीकहाँ यस्तो ठाउँको खाँचो टड्कारो देखिन्छ, जहाँ ज्ञान र विचार बाँडियोस्। जहाँ सबै उमेर समूहका मान्छे भेला होऊन्। मन लागेको पढून्। छलफल गरून्। विचारको दायरा फराकिलो पारून्।
सामाजिक विकासलाई चाहिने बौद्धिक खुराक आपूर्ति गर्ने त्यस्तो थलो पुस्तकालय हो।
‘सार्वजनिक तथा सामुदायिक पुस्तकालय भनेको लोकतन्त्रको जग हो। यसले लोकतन्त्र मजबुत बनाउन सहयोग गर्छ,’ डिल्लीरमण रेग्मी पुस्तकालयका श्रेष्ठ भन्छन्, 'व्यक्तिलाई समाजमा सक्रिय बनाउन पुस्तकालयको महत्वपूर्ण भूमिका हुन्छ।'
देश संघीय संरचनामा गएका बेला स्थानीय सरकारहरूले पनि आ-आफ्नो क्षेत्रमा बढीभन्दा बढी पुस्तकालय निर्माणलाई प्राथमिकता सूचीमा राख्नुपर्ने उनको सुझाव छ।
पुस्तकालय खोलेर मात्र पुग्दैन। समुदायलाई त्यहाँ आकर्षित गर्ने दायित्व पनि छ। यसको निम्ति सामुदायिक तथा सार्वजनिक पुस्तकालयमा समुदायलाई आवश्यक पर्ने किताब, पुराना ग्रन्थ, पत्रपत्रिका, प्रतिवेदन, पोस्टर, नक्सा, श्रव्यदृश्य सामग्री र इन्टरनेट सुविधा दिनुपर्छ।
पछिल्लो समय नयाँ पुस्ताका केटाकेटी मोबाइल र ल्यापटपमा बढी झुम्मिन थालेका छन्। उनीहरूलाई मोबाइलबाट किताबमा तान्न पुस्तकालयले आफूलाई आकर्षक गन्तव्यका रूपमा विकास गर्नुपर्छ। केटाकेटीलाई लक्ष्य गरेर विभिन्न किताब राख्नुपर्छ। विभिन्न गतिविधि गर्नुपर्छ। उनीहरूका कथा सुन्ने वा उनीहरूलाई कथा सुनाउने र कहिलेकाहीँ बाल साहित्यकारहरूलाई डाकेर साक्षात्कार गराउने हो भने नयाँ पुस्ता पुस्तकालयमा आकर्षित हुन सक्छन्।
पुस्तकालयप्रति जागरण बढाउन सबभन्दा पहिला अभिभावकहरूकै धारणा परिवर्तन हुनुपर्ने उनी बताउँछन्।
नेपालमा अझै पनि बालबालिकालाई पुस्तकालय गएर पढ्न रोक लगाउने गरिन्छ। अभिभावकहरू आफ्ना केटाकेटी पाठ्यपुस्तकमै घोत्लिरहून् भन्ने चाहन्छन्। बाहिरका किताबमा भुल्दा स्कुलको पढाइ बिग्रेला कि भनेर डराउँछन्। जबकि पाठ्यपुस्तकमा मात्र भुल्दा बालमस्तिष्कले रचनात्मक क्रियाकलाप गर्न नसक्ने विभिन्न अध्ययनले देखाएको छ।
'बालबालिकाको परिकल्पना शक्ति बढाउन धेरैभन्दा धेरै किताब पढ्ने बानी विकास गर्नुपर्छ। एकआपसमा अन्तर्क्रिया गर्न प्रेरित गर्नुपर्छ। पुस्तकालयले समुदायलाई त्यस्तो ठाउँ उपलब्ध गराउँछ,' श्रेष्ठले भने।
कतिपय ठाउँमा पुस्तकालयले सामाजिक परिवर्तनमा सहयोग पुर्याएका उदाहरण पनि छन्। खाली समय किताब पढेर बिताउँदा युवा पुस्ता गलत क्रियाकलापमा लाग्न पाउँदैन। आपसी छलफलबाट आयआर्जनका नयाँ तरिका पनि फेला परेका छन्।
यस्ता उदाहरण नेपालभित्रै भेटिन्छन्। चितवनको एउटा पुस्तकालयले मौरीपालन गर्न सिकायो। पुस्तकालय आउने बालबालिकाका आमाहरूले दैनिक भेटघाट र छलफलबाट मौरीपालन गरेर आत्मनिर्भर हुने सहमति जुटाए। यसले उनीहरू रोजगार निम्ति विदेश जानुपरेन। बरु विदेश गएका आफ्ना श्रीमानलाई पनि स्वदेश फर्काउन सफल भए।
नवलपरासीकी चुनादेवीलाई पुस्तकालयले नै प्रौढ शिक्षा पढाएको श्रेष्ठ बताउँछन्। 'पुस्तकालयले उनको पढ्ने बानी बस्यो। अहिले उनी स्थानीय आमा समूहको नेतृत्वकर्ता भएकी छन्,' उनले भने, 'कतिलाई पुस्तकालयले नै लागुऔषध दुर्व्यसनबाट उम्काएको छ।'
पुस्तकालयविद् इन्दिरा दलीका अनुसार पुस्तकालयमा चारवटा छुट्टाछुट्टै शाखा वा कोठा हुनुपर्छ। बालबालिका, युवा, अपांगता भएका र वृद्धवृद्धा शाखा हुनुपर्छ।
सबभन्दा पहिला हरेक पुस्तकालयमा बालबालिकाको शाखा उनी अनिवार्य देख्छिन्। बच्चाहरूलाई खेल्दै, गाउँदै, नाच्दै, सिक्दै पढ्ने बनाउन यस्ता शाखा आवश्यक हुन्छ।
'बाल शाखाको विस्तारपछि बल्ल थप पुस्तकालय निर्माणको आधार तयार हुन्छ,' उनले भनिन्, 'केटाकेटीदेखि नै पढ्न मन लागेका कुरा पढ्न दिए उनीहरू खुसी हुन्छन्। स्वअध्ययनले उनीहरूलाई दरिलो बनाउँछ। आफ्ना कुरा राख्न सक्छन्। कुण्ठा फुकाउन सक्छन्। यसले अहिले देखिएका विभिन्न प्रकारका हिंसामा कमी आउँछ।'
यो पनि हेर्नुहोस्
काठमाडौंमै छन् ६३ पुस्तकालय