जर्मनी, कोलनको मध्यसहरमा गत वर्ष पुरातत्वविद्हरूले रोमनकालीन संरचनाको पर्खाल उत्खनन् गरे।
त्यो पर्खाल सार्वजनिक सभागृहको अवशेष हुनसक्ने अनुमान गरियो।
पर्खालमा लगभग ३१ इन्च लम्बाइ र २० इन्च चौडाइका तखता थिए। यति सानो तखतामा कुनै मूर्ति अट्न सक्थेन।
यसले पुरातत्वविद्हरूमा प्रश्न उठ्यो– के यो सार्वजनिक सभागृहकै पर्खाल हो? हो भने सभागृहमा यी तखताको के प्रयोजन?
एक वर्षको मिहिन अनुसन्धानपछि पुरातत्वविद्हरू निष्कर्षमा पुगेका छन्, यो रोमनकालीन संरचना जर्मनीकै सबभन्दा पुरानो सार्वजनिक पुस्तकालय हो।
कोलनलाई जर्मनीकै पुरानो सहरमध्ये एक मानिन्छ। रोमनहरूले इस्वी सम्बत् ५० मा यो सहर बसाएको इतिहास छ। यो पुस्तकालय त्यतिबेलै बनेको हुनसक्ने पुरातत्वविद्हरूले अनुमान गरेका छन्।
बेलायतको पत्रिका ‘द गार्डियन’ का अनुसार उक्त पर्खालको स्वरुप टर्कीको ‘सेल्सस पुस्तकालय’ सँग दुरुस्तै छ, जुन रोमनकालमै सन् ११७ मा बनेको हो।
‘हामीलाई यी दुई संरचनाको स्वरुप दाँज्न समय लाग्यो,’ कोलनस्थित रोमन–जर्मनिक संग्रहालयका डा. ड्रिक स्मिजलाई उद्धृत गर्दै गार्डियनले लेखेको छ, ‘यी दुवै संरचना समान ढाँचाका छन्।’
उनका अनुसार जर्मनीको उक्त पुस्तकालय दोस्रो शताब्दीको मध्यतिर बनेको देखिन्छ। यो भनेको आजभन्दा झन्डै दुई हजार वर्ष पुरानो हो। यसका तखताको आकार हेर्दा यहाँ करिब २० हजार अभिलेख रहेको अनुमान छ।
रोमनकालीन सहरको राम्ररी उत्खनन् गर्ने हो भने दुई हजार वर्ष पुराना थुप्रै पुस्तकालयका अवशेष फेला पर्ने स्मिज बताउँछन्।
पुरातत्व दृष्टिले यो नतिजाको आफ्नै महत्व छ। हामीले बुझ्नुपर्ने अर्को महत्वपूर्ण पक्ष के भने, मानव सभ्यताको विकासक्रममा दुई हजार वर्षअघि नै पुस्तकालय खोल्ने र लेखपढ प्रेरित गर्न संस्कार विकास भइसकेको थियो।
के आजको समयमा पनि हाम्रा निम्ति पुस्तकालयले यत्तिकै महत्व राख्छ?
धेरैलाई लाग्न सक्छ, हातहातमा मोबाइल र सूचना पहुँच बढेका बेला पुस्तकालयप्रति कमैको रुचि छ।
न्यूयोर्क विश्वविद्यालयका समाजशास्त्र प्राध्यापक एरिक क्लिनबर्गले तीन साताअघि न्यूयोर्क टाइम्समा यससम्बन्धी लेख लेखेका थिए।
‘एक्काइसौं शताब्दीको युगमा किताबको डिजिटिल संस्करण सार्वजनिक गर्ने क्रम बढ्दो छ। पत्रपत्रिका पनि डिजिटल संस्करणमै बढी पढिन्छन्। मान्छेहरू सामाजिक सञ्जालमार्फत् अन्तर्किया गर्छन्। यस्तोमा पुस्तकालय प्रवर्द्धन आवश्यक छैन भन्ने धेरै जनप्रतिनिधिलाई लाग्छ,’ समाजशास्त्री एरिक लेख्छन्, ‘यो सोचाइको असर अमेरिकाका धेरै सार्वजनिक पुस्तकालयमा देखिन थालेको छ, जहाँ राज्यको स्रोत घट्दै छ।’
उनी जनप्रतिनिधिको यो सोचाइलाई गलत मान्छन्।
भन्छन्, ‘आज पनि न्यूयोर्क र अन्य ठूला सहरमा पुस्तकालय जाने, त्यहाँ गएर किताब र सामाजिक विषयवस्तुमा अन्तर्किया गर्ने क्रम जारी छ।’
उनले प्यू रिसर्च सेन्टरको सन् २०१६ को एक अध्ययन उद्धृत गरे। उक्त अध्ययनअनुसार १६ वर्ष र त्योभन्दा बढी उमेरका आधाभन्दा बढी अमेरिकीले सार्वजनिक पुस्तकालय प्रयोग गर्छन्। तीमध्ये दुईतिहाइले स्थानीय पुस्तकालय बन्द हुँदा ‘समुदायमा ठूलो असर पर्ने’ बताएका छन्।
समाजशास्त्री एरिक पुस्तकालयलाई ‘सामाजिक पूर्वाधार’ भन्छन्।
उनका अनुसार यसले लेखपढ संस्कृतिलाई मात्र बढावा दिँदैन। पुस्तकालय भनेको सामाजिक रूपमा घुलमिल हुने र बहस गर्ने थलो हो। यस्तो सार्वजनिक स्थल हो, जहाँ विषयगत अन्तर्किया हुन्छ। किताब साटिन्छ। विचार साटिन्छ।
के यस्तो स्थलको खाँचो कुनै पनि युगमा कम हुनसक्छ?
प्रविधि विकास र सामाजिक सञ्जालको बढ्दो प्रयोगले मान्छेलाई एकांकी बनाउँदै लगेका बेला पुस्तकालयको झन् बढी प्रवर्द्धन हुनुपर्ने एरिकको भनाइ छ।
नेपालकै सन्दर्भमा हेर्दा हामीकहाँ यस्तो ठाउँको खाँचो टड्कारो देखिन्छ, जहाँ ज्ञान र विचार बाँडियोस्। जहाँ सबै उमेर समूहका मान्छे भेला होऊन्। मन लागेको पढून्। छलफल गरून्। विचारको दायरा फराकिलो पारून्।
सामाजिक विकासलाई चाहिने बौद्धिक पोषणको थलो हुनसक्छ, पुस्तकालय।
हामीकहाँ छन् त? कति छन्? कहाँ छन्?
हामीले केही व्यक्तिसँग अनौपचारिक कुराकानी गर्दा दुई–चारवटाभन्दा बढीको नाम लिन सकेनन्। हुन पनि पुस्तकालय भन्नेबित्तिकै केशर पुस्तकालय, भारतीय पुस्तकालय, त्रिभुवन विश्वविद्यालय लगायतको मात्र सम्झना आउँछ।
केही वर्षअघिसम्म अमेरिकी पुस्तकालय र ब्रिटिस काउन्सिल खुब चल्थे, जुन किताब संख्या मात्र होइन, आगन्तुक संख्याका आधारमा पनि संकुचित भएका छन्।
यही प्रश्न लिएर शिक्षा मन्त्रालय जाँदा त्यहाँको तथ्यांकले अर्कै तस्बिर देखायो।
तथ्यांकअनुसार काठमाडौंमा मात्र सार्वजनिक तथा सामुदायिक गरी ६३ पुस्तकालय रहेछन्। तीमध्ये धेरै स्रोतसाधन अभावले खुम्चिएका छन्, तर चालू छन्। फाट्टफुट्ट भए पनि त्यहाँ किताब पढ्नेहरू आउँछन्।
अलिकति राज्य र अलिकति समुदायको ध्यान पुग्ने हो भने ती पुस्तकालय फेरि बौरिन सक्छन्। विचारको पोषणले समाजलाई बौराउन पनि सक्छन्।
काठमाडौंका ६३ पुस्तकालयमध्ये पूर्वाधार, पाठ्य सामग्री र गतिविधिका दृष्टिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय सबभन्दा प्रमुख छ। यहाँ नेपालसँग सम्बन्धित विभिन्न नयाँ-पुराना जर्नल, हस्तलिखित ग्रन्थ, गाउँ परिचय, थेसिस संकलन, स्नातकोत्तर पढ्ने विद्यार्थीका लागि पाठ्यपुस्तक लगायत थुप्रै अध्ययन सामग्री छन्।
गोरखापत्र, कान्तिपुर, काठमाडौं पोष्ट, अन्नपूर्ण पोष्ट लगायत दैनिक पत्रपत्रिकाको पनि राम्रो संकलन छ। गोरखापत्र दैनिक २०२५ सालदेखि संकलन गरिएको छ। धार्मिक तथा सामाजिक रीतिरिवाज, पुराना नेवारी भाषा, संस्कृति, रञ्जना, पाली भाषाका हस्तलिखित ग्रन्थ पनि संकलित छन्।
यो पुस्तकालय बिहान साढे ९ देखि बेलुकी साढे ५ बजेसम्म खुल्छ। विश्वविद्यालय पढ्ने विद्यार्थीबाहेक अन्यले पनि अस्थायी सदस्यता लिन पाउने सुविधा छ। सदस्यता लिएबापत दुइटा किताब तीन साताका लागि लगेर पढ्न पाइन्छ। यसका लागि १ हजार ५ सय रुपैयाँ धरौटी जम्मा गर्नुपर्छ। वार्षिक सदस्यता शुल्क ६ सय रुपैयाँ बुझाउनुपर्छ। सदस्य नबनेका व्यक्तिले पनि पुस्तकालयमै बसेर दिनभर किताब पढ्न पाउँछन्।
न्यूरोडस्थित नेपाल–भारत पुस्तकालय राजधानीको अर्को प्रमुख गन्तव्य हो।
सन् १९५६ मा स्थापना भएको यो पुस्तकालय धेरैलाई पायक पर्ने ठाउँमा छ। यहाँ ६२ हजारभन्दा धेरै किताब छन्। भारतको इतिहास, अर्थ, राजनीति, साहित्य, संस्कृति, समाजसँग सम्बन्धित किताबको राम्रो संकलन छ। भारतीय र नेपाली अखबार र पत्रिका पनि पाइन्छन्।
यो पुस्तकालयमा पनि सदस्यता सुविधा छ। सदस्यता लिन दुइटा पासपोर्ट साइज फोटो, नागरिकता वा पासपोर्टको फोटोकपी र सय रुपैयाँ बुझाउनुपर्छ। किताब लगेर पढ्न हजार रुपैयाँ धरौटी जम्मा गर्नुपर्छ। यहाँ वाइफाई सुविधा पनि छ।
केशरमहलको केशर पुस्तकालय लेखपढ गर्न चाहनेका लागि अर्को मुख्य थलो हो।
यहाँ करिब ६० हजार पुस्तक संकलित छन्। सार्वजनिक विदाबाहेक अन्य दिनमा जोसुकै गएर पढ्न सक्छन्। किताब लैजाने सुविधा भने छैन।
पुस्तकालयका सञ्जीव चौधरीका अनुसार यहाँ दुई–तीन सय वर्ष पुराना किताब संकलित छन्। ती किताब हराए ठूलो क्षति बेहोर्नुपर्ने हुँदा घर लैजाने सुविधा नदिएको उनी बताउँछन्।
‘कसैले चाहेमा किताबका केही प्रति फोटोकपी गरेर लैजान सक्छन्,’ उनले भने।
भुइँचालोपछि करिब एक वर्ष पाठक घटे पनि अहिले बढ्न थालेको पुस्तकालयले जनाएको छ। यहाँ विद्यार्थी, सरकारी कर्मचारी, नीति निर्माता, योजनाकार, अनुसन्धानकर्ता र सर्वसाधारणदेखि विदेशी पनि आउँछन्।
पुस्तकालयमा बालबालिका, युवा र वृद्धवृद्धाका छुट्टाछुट्टै शाखा छन्। ती शाखामा उमेरअनुसार सम्बन्धित पुस्तक पाइन्छन्। यसलाई अझ विस्तार गर्न पुस्तकालयबाट दक्षिणपट्टि अस्थायी भवन निर्माण हुँदैछ।
त्यस्तै, नयाँबानेश्वरको रत्न पुस्तकालयमा साहित्यसँग सम्बन्धित पुस्तक पाइन्छन्। पुस्तकालय जाने पाठकलाई साधारण र आजीवन सदस्य भनेर छुट्याइएको छ। आजीवन सदस्यले ५ हजार तिरे पुग्छ। साधारण सदस्यले पहिलो वर्ष ५ सय र त्यसपछि ३ सय ५० रुपैयाँ बुझाउनुपर्छ। वर्षैपिच्छे सदस्यता नवीकरण गर्नुपर्छ।
सदस्यता नलिनेहरू पनि पत्रपत्रिका पढ्न आइरहने पुस्तकालय प्रमुख शशिविक्रम राणाले बताए। उनका अनुसार प्रत्येक दिन ३५ जनासम्म पाठक किताब पढ्न आउँछन्। घरमै लगेर पढ्न पाँच सय रुपैयाँ धरौटी बुझाउनुपर्छ। पुस्तकालयमा करिब ११ हजार पुस्तक संकलित छन्।
त्रिपुरेश्वरको ब्रेल लाइब्रेरी दृष्टिविहीनका लागि खोलिएको हो। यहाँ दैनिक २/४ जना दृष्टिविहीन पाठक आउने पुस्तकालय अधिकृत रत्नकाजी डंगोलले जानकारी दिए।
उनका अनुसार यहाँ २२ हजार पुस्तक छन्। सदस्यता लिएपछि ३, ६ र ९ महिनाका लागि किताब लिएर पढ्न सकिन्छ। प्रचारप्रसार अभावमा यहाँ आउने पाठक संख्या कम भएको डंगोलले बताए।
उता, भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय अध्ययन गर्ने सर्वसाधारणको सबैभन्दा धेरै भिड हुने ठाउँ हो। यो पुस्तकालय शनिबार पनि खुल्ला हुन्छ। आइतबार भने बन्द हुन्छ। यहाँ दैनिक सयौं पाठक आउने पुस्तकालयले जनाएको छ।
लाजिम्पाट, पन्डोल मार्गको डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय राजनीतिज्ञ एवं इतिहासकार डिल्लीरमण रेग्मीको निजी संकलन हो। उनले आफ्नो अध्ययन क्रममा संकलन गरेका पुस्तक, पत्रपत्रिका र पुरातात्विक सामग्री यहाँ सुरक्षित छन्।
यो पुस्तकालय उनको मृत्युपछि २०६० सालमा परिवारले सरकारलाई हस्तान्तरण गरेको थियो। २०६१ सालबाट सर्वसाधारणका लागि खुला गरिएको हो। यहाँ ३५ हजार पुस्तक संकलित छन्।
शिक्षा मन्त्रालय, पुस्तकालय समन्वय शाखाका प्रमुख यादवचन्द्र निरौलाका अनुसार असनको प्रदिप्ता पुस्तकालय, कीर्तिपुरको बाघभैरव पुस्तकालय, बांगेमुडाको विप्लवी पुस्तकालय, चाबहिलको मित्र वाचनालय, कालिमाटीको युवक अध्ययन मन्दिर, जमलको केन्द्रीय कानुन पुस्तकालय र कुलेश्वरको सगरमाथा सार्वजनिक पुस्तकालय पनि क्रियाशील छन्।
यसबाहेक काठमाडौंका पाठकले कमलादीको आशा सफू गुठी, ठैंटीको नेपाल मैत्री स्टडी ग्रुप, रानीपोखरीको नेपाल शिक्षा परिषद, नैकाप ग्रामीण पुस्तकालय, रामशाहपथको पञ्च पुस्तकालय, जोरपाटीको प्रगति पुस्तकालय, मखनको बज्र पुस्तकालय, बालाजुको बाल वाचनालयमा गएर पनि पढ्न सक्छन्।
‘बढीभन्दा बढी पुस्तकालय स्थापना होस् भन्नेमा हामी जोड दिइरहेका छौं,’ पुस्तकालय समन्वय शाखा प्रमुख निरौलाले भने, ‘पछिल्लो समय 'एक स्थानीय तह, एक नमूना पुस्तकालय'को अवधारणाअनुरुप काम भइरहेको छ।’
सरकारको सहयोग र समुदायको सहभागितामा मात्र पुस्तकालय प्रवर्द्धन हुनसक्छ। राजधानीका विभिन्न ठाउँमा छरिएर रहेका पुस्तकालय प्रवर्द्धन गर्न प्याकेज कार्यक्रम ल्याउन सके अध्ययन र अन्तर्क्रियाको संस्कृति विस्तार हुनेछ।
न्यूयोर्क विश्वविद्यालयका समाजशास्त्री एरिकले भनेझैं आजको समयको माग पनि यही हो।
किनकि, उनका अनुसार पुस्तकालयले लेखपढ संस्कृतिलाई मात्र बढावा दिँदैन। पुस्तकालय भनेको सामाजिक रूपमा घुलमिल हुने र बहस गर्ने थलो हो। यस्तो सार्वजनिक स्थल हो, जहाँ विषयगत अन्तर्किया हुन्छ। किताब साटिन्छ। विचार साटिन्छ।