उनी ध्यान गरिरहेकी थिइन्। प्रवचन दिइरहेकी थिइन्। गीत पनि सुनाइरहेकी थिइन्।
यी सबै एकसाथ भइरहेका थिए।
मंगलबार राजधानीको मञ्चमा अचानक देखापरेकी सुफी गायिका सबनम विरमानीको कुरा यतिले सकिँदैन। उनी त आफ्नो गीतमा वाद्यवादन पनि आफैं गरिरहेकी थिइन्। एउटा हातमा तानपुरा (तम्बूरा) र अर्को हातमा कर्ताल लिएर।
यो नारीवादको लडाइँमा होमिएका महिलाहरूको मञ्च थियो। जहाँ आफूलाई ‘वाद’ ले नभई ‘प्रेम’ ले डोर्याएको बताउने सन्त कबीरकी अनुयायी गीत सुनाइरहेकी थिइन्।
जाउलाखेलस्थित डिएभी स्कुलको सभागृह। त्यहाँ महिला अधिकारबारे कुरा गर्न नौवटा मुलुकका ३६ महिला सहभागीसहित हलभरिका श्रोता–दर्शक उपस्थित थिए।
‘संसारमा तपाईं जतिसुकै लेखपढ गर्नुस्,’ शबनम भनिरहेकी थिइन्, ‘मनमा प्रेम छैन भने जस्तोसुकै ज्ञानको कुनै अर्थ छैन।’
त्यसपछि सुरु भयो, पाँच सय वर्ष पुरानो सन्त कबीरको संगीतबद्ध श्लोक–
‘हमन है इश्क मस्ताना, हमनको होशियारी क्या?
रहेँ आजाद या जग से, हमन दुनियासे यारी क्या?
न पल बिछुडे पिया हमसे न हम बिछडे पियारे से,
उन्हीँसे नेह लागी है, हमनको बेकरारी क्या?’
उनी घरिघरि बीचैमा रोकेर बोल्थिन् र फेरि दोहाहरू गाउन सुरु गर्थिन्। गाइरहँदा उनी कतै बाँधिएकी देखिन्न थिइन्। शबनमको गायकी जति बेपरवाह थियो, त्यति नै शक्तिशाली सुनिन्थ्यो।
को हुन् शबनम?
सन् १९९७ मा पहिलोपटक उनी एक भारतीय फिल्मकर्मीका रूपमा नेपालमा देखिएकी थिइन्। त्यसै वर्ष काठमाडौंमा दक्षिण एसियाली वृत्तचित्र महोत्सव ‘फिल्म साउथ एसिया’ सुरु भएको थियो। शबनम आफैं त आएकी थिइनन्। तर, त्यसमा उनको डकुमेन्ट्री ‘आदाभाल्लु इकमाइते’ समाहित थियो।
तेलुगु भाषामा बनेको त्यो वृत्तचित्र आन्ध्रप्रदेशमा सरकारले मदिरा बेचबिखन खुला गरेपछिका प्रभावलाई लिएर बनेको थियो।
‘त्यो महोत्सवमा आउन नपाए पनि त्यसपछि म पटक–पटक नेपाल आएकी छु,’ यसै कार्यक्रम निम्ति मंगलबार बेंगलोरबाट आएर बुधबारै फर्कने बताइरहेकी शबनम छुट्टै भेटमा सेतोपाटीलाई भनिरहेकी थिइन्, ‘यो मेरो तेश्रो नेपाल भ्रमण हो।’
अमेरिकाको कोरनेल विश्वविद्यालयबाट पत्रकारिता पढेकी शबनमले सुरुमा ‘टाइम्स अफ इन्डिया’ मा काम गरिन्। त्यसमा उनलाई उति स्वाद लागेन। उनी वृत्तचित्र बनाउनतिर मोडिइन्। ‘ह्वेन वीमन युनाइट’ र ‘बोल’ शीर्षकका फिल्म बने।
त्यो ताकै उनको जीवनले फेरि अर्को मोड लियो। यसरी मोड्ने घटना थियो गुजरातको दंगा।
सन् २००२ मा गुजरात हिन्दु र मुसलमान दंगाले ग्रस्त बन्न पुग्यो। धेरै मानिसको अनाहक ज्यान गयो। त्यसले शबनममा पहिचान, धर्म, धर्मनिरपेक्षता, नश्वरता र आध्यात्मिकताबारे नयाँ धारणा जन्माइदियो।
‘त्यसपछि म सन्त कबीरको खोजीमा लागेँ,’ शबनम भन्छिन्, ‘मेरो त्यही खोजी अहिले पनि जारी छ।’
गुजरात दंगाले मन्दिर र मस्जिदका नाममा मानवता हराउँदै गएको देखेपछि उनी पाँच सय वर्ष पहिले मानवताकै सन्देश छाडेर हिँडेका कबीरको खोजीमा लागेकी थिइन्। आफैंले तानपुरा बजाउन सिकिन् र कबीरका दोहाहरूलाई श्लोक हालेर गाउन थालिन्। ठाउँ–ठाउँ भौंतारिइन्। आठ वर्षसम्म गाउँ, सहर, राज्य र दक्षिण एसियाका मुलुकहरू चहारेपछि कबीरमाथि नै चारवटा वृत्तचित्र बनाइन्।
कबीरमाथि नै उनले बनाएको ‘कबीरा खडा बजारमें’ वृत्तचित्रले सात वर्षअघिको भारतीय नेसनल अवार्डमा ‘स्पेसल जुरी’ पुरस्कारसमेत पाएको थियो।
उनी अहिले आफैंले स्थापना गरेको ‘कबीर प्रोजेक्ट’ को निर्देशकसमेत छिन्।
गाउँघरमा अहिले पनि श्रुती परम्पराका रूपमा जीवित कबीरका दोहाहरूलाई खोज्ने, जम्मा गर्ने र त्यसलाई विस्तार गर्ने काम यसबाट भइरहेको उनी बताउँछिन्।
मंगलबारको कार्यक्रममा गहिरो र भित्रैसम्म असर छाड्ने उनको गायकी सन्त कबीरका दोहा जत्तिकै गम्भीर थिए। अनि दोहाका तिनै गम्भीर अर्थ सम्झाइदिने काम पनि उनी गरिरहेकी थिइन्।
‘बूँद पडी समुद्र मेँ, ताहि जाने सब कोय
समुद्र समाना बूँद मेँ, बुझै बिरला कोय’
‘आम मानिसले समुद्रमा पानीको थोपा मिसिरहेको देखिरहँदा बिरलैले समुद्र चाहिँ पानीको थोपामा समाहित भइरहेको देख्छन्,’ उनले अर्थ्याउँदै भनिन्, ‘तपाईं प्रत्येकभित्र अपार शक्ति छ, त्यो शक्तिलाई बुझ्नुस्।’
यसो भनेर उनी हालैका बलात्कारको समाचारले आत्तिएका नेपाली महिलालाई हिम्मत भर्ने काम गरिरहेकी थिइन्।
कुनै निश्चित घेराभित्र नअटाउने उनको गायकी लगत्तै अर्का भारतीय सन्त विवेकानन्दको सन्देशमा प्रवेश गर्थ्यो। शबनम ‘कुवाको भ्यागुता’ हरूलाई त्यसभन्दा बाहिर निस्केर संसार नियाल्न सुझाव दिन्थिन्।
पन्ध्रौं शताब्दीका सन्त कबीरले दिएका मानवताका उच्च सन्देश आज पनि दक्षिण एसियाका मुलुकमा उत्तिकै लोकप्रिय छन्। यदाकदा सहरमा, नत्र धेरैजसो गाउँ देहातमा। यदाकदा सम्भ्रान्तहरूमा, नत्र आम रूपले दलित र पिछडिएकाहरूको स्वरमा। यो आफैंमा यस्तो पन्थ हो, जसमा हिन्दु, मुसलमान, शिख सबै उत्तिकै रमाएका छन्।
कोही भजनका रूपमा गाउँछन् त कोही शास्त्रीय गीतका रुपमा। त्यसैगरी शबनमहरू संन्यासीजस्ता भएर गाउँदै हिँडिरहेका छन्। तर, सबैको स्वरमा उही कबीरले छाडेका मानवताका सन्देश हुन्छन्।
कुनै समय रवीन्द्रनाथ टैगोरले समेत कबीरको प्रशंसा गर्दै ‘उनका शब्द आमजीवनको हृदयबाट निकालेर सुफीमा ढालिएका छन्’ भनेका थिए।
कबीरका सन्देश काठमाडौंको मञ्चमा कसरी नारीवादसँग मिसिन आयो?
यो प्रश्नको उत्तरमा पनि शबनमले आफ्नो लाइन प्रस्ट पारिन्।
‘मैले नारीवादको कुरा गर्नुभन्दा पनि पहिचानको यो दोहोरो मोर्चाभन्दा बाहिर निस्केर फराकिलो घेरामा आउन आह्वान गरेकी हुँ,’ उनले सेतोपाटीसँग भनिन्, ‘कबीर मात्र होइन, तमाम सुफी र सन्तहरूले हामीलाई आफ्नो पहिचानको साँघुरो घेराभन्दा माथि उठेर हिँड्न प्रेरित गर्छन्।’
अहिलेको समय मानवता एक वा अर्को हिसाबले आक्रान्त रहेको र त्यसमध्येकै एक प्रमुख विषय पितृसत्ता पनि रहेको उनले जनाइन्।
‘मलाई लाग्छ यो जटिलता चिर्न मनहरूलाई पगाल्नु जरुरी छ,’ उनले भनिन्, ‘प्रेमको माध्यमबाट मात्र यी सबलाई चिर्न सकिन्छ।’
नारीवादी अभियन्ता कमला भासिनसँग तीन दशकदेखिको संगत रहेको र उनैको निम्तोमा सुफी गायनमार्फत् कबीरका सन्देश सुनाउन काठमाडौं आएको शबनमले जनाइन्।
‘शबनमले त हामीलाई सुनाएकी मात्र हुन्,’ कार्यक्रममा कमला भासिनले भनेकी थिइन्, ‘आजको युगमा पनि हामीले मनन नगरेका यस्ता महत्वपूर्ण सन्देश त हामीलाई चार–पाँच सय वर्षअघि नै हाम्रो भेगका सन्त महात्माहरूले भनेर गइसकेका छन्।’
त्यस्ता सन्त महात्माहरूबाटै प्रेरणा लिएर आफूहरू अघि बढिरहने कमलाले थपिन्।
कार्यक्रममा अधिकारको क्षेत्रमा कार्यरत महिला अभियन्ताहरूलाई पुरस्कृतसमेत गरिएको थियो।