पोखराका दुई युवा इञ्जिनियर र दुई जना व्यवसायीको सक्रियतामा देशकै पहिलो ‘प्लास्टिक सडक’ बनेको दुई महिना मात्र भएको छ।
उता, युरोपेली मुलुक नेदरल्यान्ड्सले विश्वमै पहिलोपटक प्लास्टिकबाट मात्र साइकल मार्ग निर्माण गरेको छ।
सडक किनारमा साइकल गुड्न बनाइएको यो मार्गमा फालिएका प्लास्टिक बोतल, कप र खोलहरू प्रयोग गरिएको बेलायती अखबार ‘गार्डियन’ ले लेखेको छ।
नेदरल्यान्ड्सको ज्वोल सहरमा बनेको यो साइकल मार्ग यसै साताबाट सञ्चालनमा आएको हो। यो ३० मिटर लामो छ। यो विश्वकै पहिलो प्लास्टिक साइकल मार्ग हो।
यसअघि ‘प्लास्टिक सडक’ बनाउँदा खेर गएका प्लास्टिक सँगसँगै गिटी र अलकत्रा प्रयोग गरिन्थ्यो। यो साइकल मार्गमा भने प्लास्टिकबाहेक अरू केही मिसाइएको छैन।
प्लास्टिकबाट मात्र बाटो बनाउने यो विधिलाई नमूनाका रूपमा लिइएको छ। यही अवधारणा पछ्याउँदै देशभर यस्तै मार्ग बनाउने नेदरल्यान्ड्सको योजना छ। यसमा प्रयोग गरिएका प्लास्टिक २ लाख १८ हजार कप बराबर छ।
प्लास्टिक व्यवस्थापनलाई संसारभरि चुनौतीका रूपमा लिइन्छ। विकराल फोहोरको थुप्रोमा प्लास्टिक यस्तो चिज हो, जुन मान्छेले बनाउन त बनायो, तर नाश गर्ने उपाय जानेन। यो कागज, खानेकुराजस्तो कुहिँदैन। नसिँदैन।
मास्न नसके पनि मान्छेले प्लास्टिक पुनर्प्रयोग अनगिन्ती उपाय खोजेका छन्। प्लास्टिक सडक त्यसैमध्ये एक हो।
भारतको मधुराईको थियागराजर कलेज अफ इञ्जिनियरिङका प्राध्यापक राजगोपालन वासुदेवन ‘प्लास्टिक सडक’ का सर्जक हुन्। उनले सन् २००२ बाट प्लास्टिकका खोल, बोतल र झोला संकलन गरी सडक निर्माणमा प्रयोग गर्दै आएका छन्।
यो विधिमा सानो सानो टुक्रा पारेर प्लास्टिक काटिन्छ। गिटीमा मिसाएर तताइन्छ। त्यही गिटी अलकत्रासँग मिसाएर सडक कालोपत्रे गरिन्छ।
प्राध्यापक वासुदेवनका अनुसार प्लास्टिक प्रयोगले सडक मजबुत हुन्छ। पानी रसाउँदैन। खाल्डा पर्ने सम्भावना कम हुन्छ।
नेदरल्यान्ड्सले गिटी र अलकत्रा केही नमिसाई प्लास्टिकबाट मात्र बनाएको यो साइकल मार्ग सामान्यभन्दा तीन गुणा बलियो हुने आशा त्यहाँका इञ्जिनियरहरूले गरेका छ।
यो मार्गको अवस्था, तापक्रम, कतिवटा साइकल गुडे र कति क्षमता छ भन्ने मापन गर्न ‘सेन्सर’ जडान गरिएको छ।
यसमा बाटोमुनि केबल, पाइप तथा अन्य तारहरू सजिलै राख्न सकिन्छ। प्लास्टिक हलुका भएकाले काम गर्न छिटो र सजिलो हुन्छ। अलकत्रा सडकको तुलनामा प्लास्टिक सडकमा ७० प्रतिशत काम छिटो हुने इञ्जिनियरहरूले बताएका छन्।
बर्खाको पानी निकास हुने गरी डिजाइन गरिएकाले पानीले ओसिलो बनाएर बिगार्ने सम्भावना पनि कम छ। त्यसै पनि प्लास्टिक प्रयोग गरिएको सडकमा पानी जमेर बस्दैन। सतहबाटै तर्किएर जान्छ।
केडब्लुएस, भोल्कर वेसेल्स, टोटल र वेभिन कम्पनीको सहकार्यमा बनेको यो साइकल मार्गले प्लास्टिक व्यवस्थापनमा ठूलो भूमिका खेल्नेछ। दोस्रो चरणमा यस्तै सडक रोटरड्याम र ओभरीजसेलमा बन्नेछन्।
पोखरामा साउनबाट सञ्चालनमा आएको प्लास्टिक सडकमा भने भारतको जस्तै गिटी र अलकत्रा प्रयोग गरिएको छ। युवा इञ्जिनियरद्वय विमल बास्तोला र राजीव सुवेदी तथा दुई जना व्यवसायी सञ्जीव बास्तोला र विमल बस्यालको सक्रियतामा यो सडक बनेको हो।
पोखराको पहिलो प्लास्टिक सडकले देशका अन्य नगरपालिकाको पनि चासो बढाएको छ।
हामीकहाँ निस्कने फोहोरको करिब १५ प्रतिशत प्लास्टिकले ओगटेको एक अध्ययनले देखाएको छ। गुट्खा, चक्लेट, चाउचाउका खोल र पोलिथिन झोलाले सडक फोहोर पारेको हामीले देखेकै छौं।
हेर्नुहोस् नेदरल्यान्ड्सको साइकल मार्ग। भिडियो स्रोतः द गार्डियन