डोल्पामा पहिलो पटक प्रहरीले जुवाडेलाई नियन्त्रणमा लिएको छ।
जिल्लाको ठूलीभेरी नगरापलिका– ३ दुनै बजारमा बिएण्डबी होटलको तेस्रो तलामा जुवा खेलिरहेका पाँच जनालाई प्रहरीले छापा हानेर नियन्त्रणमा लिएको हो।
जुवा खालबाट पक्राउ पर्नेहरूमा रूकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका– ८ का ३३ वर्षीय अञ्चल मल्ल, डोल्पा त्रिपुरासुन्दरी नगरपालिका – ११ का २० वर्षीय नरकर्ण पुन, जिल्लाको काइके गाउँपालिका – ३ का ३३ वर्षीय राजु बुढा, ठूलीभेरी नगरपालिका– ३ का ३६ वर्षीय सटकुमार बोहोरा र जुम्लाको पातारासी गाउँपालिका– ४ का ३२ वर्षीय प्रदिप बोहोरा रहेका छन्।
जिल्ला प्रहरी प्रमुख डिएसपी रूकबहादुर खड्काका अनुसार गएराति पौने १० बजेतिर उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको थियो। जुवाडेको साथबाट एक लाख १८ हजार दुई सय ७५ रुपैयाँ बरामद भएको डिएसपी खड्काले बताए।
केही मानिसहरूले पैसाको हारजित हुने गरी जुवा तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको टोलीले होटलमा छापा हानेर उनीहरूलाई पक्राउ गरेको थियो।
प्रहरीले दुई गड्डी नखोलेको तास, ५ गड्डी खुलाताससहित पाँच जनालाई नियन्त्रणमा लिएको हो।
प्रारम्भिक चरणको अनुसन्धानबाट पक्राउ परेकाहरूले जुवा तास खेलेको रकम नगद एवं बैंकमार्फत् कारोबार समेत गरेको भन्ने खुल्न आएको डिएसपी खड्काले जानकारी दिएका छन्।
प्रहरीका अनुसार यो नै जिल्लामा पहिलो पटक जुवाडेमाथि गरिएको कारबाही हो।
पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ मा भएको व्यवस्था अनुसार जुवा खेल्न नहुने वा सट्टाबाजी गर्न नहुने कुसर अन्तर्गत म्याद थपका लागि अदालत पठाइएको प्रहरीले जानकारी दिएको छ।