सिमोन फोटो खिच्छ भन्ने थाहा थियो। तर फोटो यसै रहरले खिच्छ कि प्याटर्नमा बसेर खिच्छ त्यो थाहा थिएन, अघिल्लो हप्तासम्म पनि। उसले बेलाबेला मोबाइलमा देखाउने फोटा त एउटा लामो निबन्धबाट निकालिएका केही अनुच्छेद जस्ता रहेछन्।
सिमोन र बिपिन, दुईजना खुब मिल्छन्। सिमोन फोटोग्राफीमा बिपिनभन्दा पुरानो। बिपिन सिक्दै छ। सिमोन सिकाउँछ।
उनीहरू फोटो सिक्न र खिच्न सँगै दौडिएको १ वर्षभन्दा धेरै भइसक्यो। त्यो क्रममा धेरैपल्ट मान्छे ब्युँझिनुअघिको वा सुतेपछिको काठमाडौं खिच्न उनीहरू यताउता दौडिएका छन्। माघको चिसो ठण्डीमा काठमाडौंको सूर्योदय खिच्न भन्दै नजिकैका डाँडा चढेका छन्। मान्छेले फोहोर भनेर हेला गरेको बागमतीमा जीवन खोज्दै भौंतारिएका छन्।
धेरैकुरा सिक्दै छन्।
उनीहरूको यात्राक्रममा सिमोनले काठमाडौंलाई फरक तरिकाले देखाउने लामो प्याटर्न सोचिरहेको रहेछ। त्यो थाहा पाएपछि ऊ र म बस्यौँ। उसले धेरै फोटा खिचिसकेको रहेछ। प्रदर्शनी गर्ने योजनाभित्र कतै बुनिसकेको रहेछ। मलाई भने उसका फोटा देख्नासाथ एउटा फोटो कथा गर्न मन लाग्यो। अनुरोध गरेँ, ’सिमोन १० वटा फोटो देऊ मलाई। म तिनलाई नमारीकन प्रस्तुत गर्नेछु।’
ऊ राजी भयो। अनि सँगै बसेर फोटो हेर्दै मैले फोटो खिच्नुको कारण सोधेँ। हरेक फोटोको पहिलो खण्डमा खिचेको समय र कारण छ। अनि फोटो हेर्दा मैले आफूले बुझेका कुराहरू थपेँ।
यसरी उसले खिचेका केही फोटाका छेउसम्म पुग्ने कोशिस गरेको छु। काठमाडौंमा सबै मानिसका आँखाले नदेखेका ठाँउलाई उसले देखाउने कोशिस गरेको छ। सिमोनको कोशिस र फोटा खिच्दाका भावनाहरूलाई तपाईंहरूसम्म यसरी ल्याएँ।
फोटो १: सानेपा र टेकु जोड्ने पुल
बिहान ५ बजे। मानिसहरूको ओहोरदोहोर बढ्दै छ। उज्यालो हुँदैछ। पिपलका पातहरू सहरमा हराउँदै गरेको समय तर यहाँ रुख नै छ। त्यहाँ पुलको छेउमा बाँचेको रहेछ मुस्किलले।
सिमोनको सोच- पुलको फोटो खिचेँ भने यसलाई पनि फ्रेममा अटाउँछु।
दैनिक ओहोरदोहोर गरेर पनि त्यो पुल यति सुन्दर छ भनेर टाढाबाट कहिल्यै हेरेका रहेनछौँ। एकदिन पाइला अडिए। अलि पुरानो झोलुङ्गे पुल अनि नयाँ पक्की पुल। आखिर पुलको काम त जोड्नु नै हो। पहिला हिँड्ने मान्छेलाई जोड्यो। अहिले गुड्नेलाई। साँच्चै झोलुङ्गे पुल अपर्याप्त भयो, पक्की पुल चाहियो भनेर मान्छेहरूलाई कहिले थाहा भयो होला है? हिँड्ने मान्छे गुड्ने भए होलान्। गुड्ने मान्छे त्यो पुलमा कहिल्यै हिँड्छन् कि हिँड्दैनन्?
बिहानको त्यो समय वरपर बत्ती कम बलेका छन्। झोलुङ्गे पुलमा मान्छे हिँडेकै छैनन्। तर पक्की पुलमा हेडलाइटको उज्यालोको लस्कर देखिसकेको छ। हेडलाइट मतलब चक्का।
विलियम कार्लोस विलियमको याद आयो, ‘सो मच डिपेन्स अपन दि रेड ह्विलब्यारो।’ अर्थात चक्का गुडेको भरमा कति धेरै जीवन चलेका होलान् काठमाडौंमा?
फोटो २: बागमतीमा घाम ताप्दै चरा
बिहान साढे ७ बजेको कुनै दिन। सबैलाई थाहा छ बागमती फोहोर छ। पानी छुन त के नजिकै पुग्न पनि डरलाग्दो। कतिलाई थापाथली पुग्दै पनि सास नफेरौं जस्तो लाग्छ। तर पहिला पहिला गनाउने पानी अब मलाई गनाउन छोडेको छ। सधैंजसो पुल तर्नेलाई पनि बानी भयो होला।
एकदिन त्यहाँ चराको जीवन पनि देखियो। चरा खुसी भएर खेलिरहेको रहेछ। त्यस्तै प्रकृतिको आनन्द कति बाँकी होलान् र कति हराए होलान्?
बागमतीका माछाहरू कता पुगे होला? पखेटा हुनेहरू मात्र बाँचेका हुन् कि? उड्न सक्नेले मात्र उपचार गर्न सक्ने जमानामा।
निष्कर्षः ‘बागमतीमा दुर्गन्ध मात्र छैन, जीवनको सुगन्ध पनि छ।’
फोटो ३: नागदह, धापाखेल
उनीहरू लगभग चार दिन बिहान ३:३० वा ४:०० बजेतिर लगालग त्यो बाटो हिँडेका हुन्। यो सिन खिच्नु थिएन। त्यसैले कहिल्यै वास्ता भएन। एकदिन सन्तानेश्वरतिर काम परेर जाने बेलामा त्यो परको रुख देखियो। देब्रे किनारतिर हिँड्दै गर्दा भञ्ज्याङ्ग जस्तो बीचमा उभिएको रुख। त्यहाँ एकदिन फोटो खिच्न आउने सोच बन्यो।
पर्खाइ थियो घामको। पहाडले छेकेको घाममाथि आइपुग्नुभन्दा पहिला आकाश र पोखरीमा छरिएको निलो रंग समात्नु थियो क्यामराले। तर खिच्दै खिच्दै घाम रंगलाई मिच्दै आइपुग्यो। खासमा खिच्नु थियो निलो रंग। तर घामसँग सकिएन।
फोटो ४: स्वयम्भूको झ्याल फ्रेम
स्वयम्भूमा सबैले देखेको चिजको फोटो खिच्न मन थिएन। केही फरक खिचौं भन्ने थियो। सिमोन बिपिनलाई फ्लास कसरी खिच्ने भन्ने सिकाउँदै थियो। झ्याल हेर्नासाथ बाहिरको दृश्यले तानिहाल्यो। क्यामरामा फ्ल्यास झिक्यो र लगायो। झ्यालपारिको केही दृश्य तान्नु थिएन। त्यहाँको रंगसँग मिल्नेगरी झ्यालको फ्रेम तान्नु थियो। उज्यालो भएको आकाशसँग मिल्ने बनाउन झ्यालको फ्रेमलाई उस्तै रंग ल्यायो।
अब पनि त्यो रुख त त्यहाँ कतै हुनेछ तर के यो दृश्य पनि हुनेछ?
फोटो ५: टौदहको फ्लोटिङ रुख
पुसको दिन। बाक्लो कुइरो लागेको बिहान। ४ बजे उनीहरू पुगे। ६ बजेसम्म बसे। सुनसान छ। कपास राखेको जस्तो छ वातावरण। बादलमाथि हिँडेको जस्तो लाग्ने। घाम लाग्न थालेपछि कुहिरो आकाशमा उड्न थाल्छ। त्यसलाई कैद गर्न क्यामरा समात्छन्।
पोखरीबीचमा उभिएको रुख उडुँ उडुँ गर्छ।
फोटो ६: भैंसेपाटीबाट चन्द्रागिरि र काठमाडौं एउटै फ्रेममा
बेलुका पौने आठ बजे। चन्द्रागिरिका केवलकार निदाइसकेपछिको समय। चन्द्रागिरिमा राति हुस्सु लागेपछि राम्रो देखिन्छ। चन्द्रागिरि नभएको भए त्यो फ्रेमको महत्व के हुन्थ्यो? परिचित ठाँउ भएपछि त्यसले फोटोको फ्रेमहरूलाई पनि असर गर्छ। त्यहाँ उज्यालो नभएको भए पनि त्यो पहाडको महत्व हुने सायद थिएन। तर त्यो उज्यालो र तलको उज्यालोमा तुलना गर्ने मन लाग्यो।
ऊ पर छ। बत्ती तल छ। काठमाडौं देखेका पृथ्वीनारायणका आँखा तिनै उज्यालो बत्तीमा कतै होलान्। दुबै मिलेर आकाशमा नयाँ रंग छरिरहेका छन्। साँच्चै पृथ्वीनारायणले देखेको भनेको काठमाडौं कस्तो पो थियो होला?
फोटो ७: क्याण्डिड घण्टाघर
त्योदिन रानीपोखरी खिच्ने योजना थियो। राती। तर छिरिसकेपछि घण्टाघरमा सुन्तले रंगको बत्तिी बलिरहेको देखियो। क्यामरा र मन त्यतै तानियो। के रहेछ?
त्यहाँ भिडियो बजिरहेको थियो। भिडियोमा घरि महेन्द्रसिंह धोनी त घरि सामान्य मानिसहरू देखिइरहेका थिए। त्यसले तान्यो। समय देखाउने घण्टाघरमा भिडियोको समय चलिरहेको थियो। प्रोजेक्टरको स्कृनमा मानिसहरू थिए। इफेक्ट परिवर्तन भएर नयाँ मानिस देखिने बेलामा आएको कोणले समात्यो। खिचियो- ह्वाइट मण्डलासँग घण्टाघरको क्याण्डिड।
पछि फोटो हेर्दा पो थाहा भयो घण्टाघरका दुई घडि रिसाएका मान्छेजस्तै देखिएका रहेछन्। घण्टाघर कतै रिसाएको त छैन?
फोटो ८: ह्वाइट हाउसबाट काठमाडौं चोभार
बिहान ४ बजे। बाटो हिलो। घाम उदाएको। पर्खिएको।
६ वटा फोटो खिचेर एउटै फ्रेममा जोड्ने मनस्थिति बन्यो। काठमाडौंमा घाम आउन ढिलो गर्छ। आधा फोटो कालो थियो। घाम आएपछि पनि कीर्तिपुर अँध्यारै छ। घामै नपाए जस्तो। उज्यालो र अँध्यारोको अनौठो संगम। सहरमा घाम कसरी उदाउँछ? सहरमा आउने घामलाई के केले छेक्छ?
पहिला पहिला चोभार गएर काठमाडौं खिचेको थियो। तर त्यो दिन चोभार घेरिएको देखियो। अबको कति वर्षमा त्यो चोभारको हरियोमा घर टल्किएलान्?
फोटो ९: तिहारको काठमाडौं
कुनै ठूलो थालीमा सयपत्री फूल ओछ्याएजस्तो। कस्तो मनमोहक।यस्तो उज्यालो हुन थालेको धेरै भएकै त छैन। साँच्चै त्यत्तिका समय कहाँ हराएको थियो होला यति उज्यालो?
फोटो १०: कोजाग्रत पूर्णिमाको जून
जूनको फोटो प्रायः खिचेको छैन। त्यो दिन पूर्णिमा भएकाले छतमा चढेर र क्यामरा आकाशतिर फर्काएर बसे। हेर्दै जाँदा जून वरपर मायाको चिन्ह बनेजस्तो भयो। अनि फोटो कैद भयो।
सिमोन भन्छन्: आँखाले जस्तो देखेको थिएँ त्यस्तै खाले बनाउन खोज्छु। अलिकति तलमाथि हुन सक्छ। ल्याण्डस्केप फोटोग्राफर हुनुको मजा छ। मेरा फोटा हेरेर मानिसहरूलाई कुनै ठाँउमा पुर्याओस् वा कुनै चिजलाई देख्ने बनाओस्। संसारका धेरै ठाँउको सुन्दर फोटो प्रकाशित नभएको भए? नाम सुन्नासाथ हाम्रो दिमागमा बसेका सबै तस्बिरहरू कसैले न कसैले खिचेका त हुन् नि। म नेपाललाई चिनाउने केही अंशमा आफ्नो योगदान खोज्नलाई फोटो खिच्छु।