सिंहदरबार वैद्यखानालाई सुधार गर्न सके औषधिमा आत्मनिर्भर बन्न सकिने विकास समितिका कार्यकारी निर्देशक डा. प्रदीप केसीले बताएका छन्।
शुक्रबार पत्रकार सम्मेलनमा उनले कच्चा पदार्थको ठेक्का प्रणाली, बजार मागअनुसार उत्पादन, जिटुजी कारोबार, जनशक्ति र पूर्वाधारमा सुधार आवश्यक रहेको औंल्याए।
उनका अनुसार ठेकेदारले सम्झौता अनुसार कच्चा पदार्थ नदिँदा उत्पादन प्रभावित भएको छ।
यस्तै, ०७७/७८ मा १ करोड बराबरको कच्चा पदार्थ खरिद गर्ने भनिए पनि त्यसमा ठेकेदारले १५ लाखको मात्र कच्चा पदार्थ उपलब्ध गराइदिएको उनले बताए।
०७८/७९ मा कुनै खरिद प्रक्रिया नै भएन।
०७९/८० मा ९८ लाखको खरिद गर्ने योजना बनाउँदा १६ लाखको उपलब्ध गराएको र २०८१/८२ मा ४ करोडको कच्चा पदार्थ खरिद योजना भए पनि १ करोड ८५ लाखको मात्र आपूर्ति भयो।
हाल वैद्यखानाले ५० प्रकारका औषधि उत्पादन गरिरहेको छ, जसमध्ये २३ प्रकारमा आत्मनिर्भर हुन सकिने डा. केसीको दाबी छ।
बजारको मागअनुसार उत्पादन, भण्डारण क्षमता वृद्धि र पुराना उपकरण सुधारमा सरकारको ध्यान आवश्यक रहेको उनले बताए।
‘साना समस्याहरू जस्तै बट्टाको बिर्को र कभर अभावले पनि विक्रीवितरण प्रभावित भएको छ,’ उनले भने।
कर्मचारीको अवकाश र सीप हस्तान्तरणको अभावले पनि चुनौती थपिएको छ।
सरकारले चासो दिएर यी कमजोरी सुधारेमा वैद्यखाना सुधार भई औषधिमा आत्मनिर्भर बन्न सकिने डा. केसीको भनाइ छ।