हाम्रो शरीरमा प्राकृतिक रूपमै इम्युन सिस्टम भन्ने हुन्छ। यसले हामीले व्याक्टेरिया, भाइरस लगायतका विभिन्न संक्रमणबाट जोगाउँछ। तर यी क्यान्सरका कोषिकाले हाम्रो इम्युन सिस्टम (रोग प्रतिरोधात्मक क्षमता) लाई झुक्याउँछन्। उनीहरूले झुक्याएर अथवा त्यसले नदेख्ने गरेर हाम्रो शरीरमा पसेर हाम्रो शरीरलाई नष्ट गर्न खोज्छन्।
इम्युनो थेरापीले हाम्रै शरीरको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतालाई सक्रिय बनाएर क्यान्सर कोषिकालाई पहिचान गर्ने र यसलाई शरीरबाट निकाल्ने अथवा मार्ने काम गर्छ। यसलाई नै हामी क्यान्सर इम्युनो थेरापी भन्छौं।
क्यान्सर इम्युनो थेरापीको पहिचान सन् १८०० को दशकमा भएको हो। त्यो बेला रेडियसन थेरापी, किमो थेरापी भर्खर आएकोले इम्युनो थेरापी छायामा पर्यो। सन् २०१३ देखि मात्र यसको प्रयोग सुरू भयो।
विशेष गरेर स्टेज-४ क्यान्सरका बिरामीलाई यसको प्रयोग गरिन्छ। त्यसमा पनि छालाको क्यान्सर (मेलानोमा), फोक्सोको क्यान्सर, स्तन क्यान्सर, किड्नीको क्यान्सर, पित्तथैलीको क्यान्सर लगायतमा यसको प्रभाव राम्रो देखिएको छ।
अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरलाई मेलानोमा भन्ने क्यान्सर लागिसकेपछि उहाँको मस्तिष्कमा पनि यो रोग सरिसकेको थियो। क्यान्सर इम्युनो थेरापीको प्रयोगले उहाँ क्यान्सरबाट मुक्त हुनुभयो। त्यसपछि इम्युनो थेरापीको प्रयोग झनै बढेको हो।
हामीले पनि यसको प्रयोग अत्यधिक गर्ने प्रयास गरेका छौं। तर अझै पनि यसको अनुसन्धान र प्रभावबारे अन्तिम नतिजा आइसकेको छैन। यद्यपी यसको भविष्य अत्यन्त राम्रो र उज्वल देखिन्छ। यसको अर्को राम्रो कुरा के छ भने किमोथेरापी र रेडियसन थेरापीको भन्दा इम्युनो थेरापीको साइड इफेक्ट कम छ भने समय पनि कम लाग्छ। त्यसैले यसलाई अझै प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा एकदमै द्रुत गतिमा वैज्ञानिक अनुसन्धान र व्यापक रूपमा काम भइरहेको छ।
इम्युनो थेरापी दिनुभन्दा पहिला कतिपय परीक्षणहरू गर्नुपर्छ। त्यस्ता परीक्षणले इम्युनो थेरापी दिन उपयुक्त भनेपछि मात्र यसको प्रयोग गरिन्छ।
इम्युनो थेरापीले काम गर्ने भनेको हाम्रै शरीरमा भएको प्राकृतिक प्रतिरोध क्षमतालाई सक्रिय बनाएर शरीरका कोषिकालाई नष्ट गर्न मद्दत गर्ने हो।
इम्युनो थेरापीको प्रचारप्रसार भए अनुसार यसको सीमितता पनि छन्। इम्युनो थेरापी नेपालमा नबनेर बाहिरबाट ल्याउन पर्ने भएकाले यो महँगो छ।
अर्को कुरा सबै क्यान्सरका बिरामीलाई यो इम्युनो थेरापी आवश्यक छैन। रोगको स्टेज, परिस्थिति हेरेर कुन बिरामीलाई इम्युनो थेरापी आवश्यक छ, कुन रोगलाई लामो समयसम्म हराएर राख्न सक्छ भन्ने कुरालाई ध्यान दिनुपर्छ।
एकातिर महँगो हुने, अनि सरकारको स्वास्थ्य बीमामा समेत समावेश नहुँदा बिरामीलाई अप्ठ्यारो परेको छ।
नेपालमै यसको उत्पादन गर्न सकियो अथवा नेपाल ल्याउन सहज बनाइयो भने मात्र यसलाई हामीले बढावा दिन सक्छौं। इम्युनो थेरापी आवश्यक पर्ने बिरामीलाई दिइयो भने यसको प्रभावकारिता पनि राम्रो छ। यसलाई कसरी सर्वसुलभ र सस्तो बनाउन सकिन्छ भनेर गम्भीर बहस गर्न जरूरी छ।
इम्युनो थेरापी पूर्ण रूपमा लगाउने हो भने एउटा साइकलको २ देखि ५ लाखसम्म पर्छ। पहिला-पहिला हामीले एउटा मात्र इम्युनो थेरापी लगाउँथ्यौं भने अहिले मिश्रित पनि आएको छ। यस्तो इम्युनो थेरापीको प्रभावकारिता पनि धेरै छ। तर आर्थिक अवस्थाले गर्दा अझै इम्युनो थेरापी सबैको पहुँचमा आउन सकेको छैन।
सबै अंकोलोजिष्ट र इम्युनोलोजिष्टले इम्युनो थेरापीबारे बुझ्ने भएकाले हामीकहाँ विज्ञको कमी पनि छैन। त्यसैले सबैतिर उपलब्ध बनाउन सरकारी इच्छा शक्तिको खाँचो मात्र हो।
(क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाही पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र नर्भिक अस्पतालमा कार्यरत छन्।)