भक्तपुर, तेखापुखुको एउटा पुरानो घरको भित्तामा एसइई जाँच दिएका ३७ जनाको तस्बिर र नतिजा टाँगिएको छ।
नतिजाअनुसार ११ जनाले ‘ए प्लस’ ल्याएका छन् भने २१ जनाले ‘ए’ र बाँकी ५ जनाले ‘बि प्लस’ ल्याएका छन्।
यो भक्तपुरकै उत्कृष्ट सरकारी स्कुलमध्ये पर्ने मेधा माध्यमिक विद्यालयको एसइई नतिजा हो, जुन कुनै पनि निजी स्कुलको दाँजोमा कम छैन।
अघिल्लो वर्ष पनि ३७ जनाले एसइई दिएकामा १४ जनाले ‘ए प्लस’, १८ जनाले ‘ए’ र ५ जनाले ‘बी प्लस’ ल्याएका थिए।
राणाकालीन यो स्कुलले २०६९ सालदेखि शतप्रतिशत नतिजा निकाल्दै आएको छ।
यो २००४ सालमा स्थापना भएको हो।
स्थानीय विष्णुभक्त कोजुले ‘शान्तिभक्त विद्यालय’ का नाममा खोलेका थिए। पछि यहाँ केटीहरूलाई मात्र पढाउन थालियो। २०७१ सालसम्म ‘कन्या सहशिक्षा माध्यमिक विद्यालय’ का नामले सञ्चालन हुँदै आएको थियो। त्यसपछि स्कुलको नाम फेरेर मेधा माध्यमिक विद्यालय राखियो र केटा–केटी दुवैलाई पढाउन थालियो।
सात दशक पुरानो मेधाले सरकारी स्कुलप्रति धारणा परिवर्तन गर्दै आएको छ। पढाइ र नतिजाले आकर्षित भएर निजी स्कुलबाट पनि विद्यार्थी आउने उप–प्रधानाध्यापक श्याम हाडा बताउँछन्।
‘हाम्रो एउटा कक्षाको विद्यार्थी क्षमता करिब ४० जनाको हो। सबैलाई भर्ना गर्न मिल्दैन,’ उनले सेतोपाटीसँग भने, ‘प्रवेश परीक्षा पास हुनेहरू मात्र भर्ना हुन पाउँछन्। गरिब तथा निम्नवर्गलाई विशेष प्राथमिकता छ।’
राणाकालीन समयमै भक्तपुरमा अन्य दुई विद्यालय पनि स्थापना भएका थिए– विसं १९८१ मा खुलेको श्री पद्म उच्च माध्यमिक विद्यालय र २००४ सालको विद्यार्थी निकेतन माध्यमिक विद्यालय।
श्री पद्मको स्थापना चन्द्रशमशेरको पालामा ‘भादगाउँ अंग्रेजी विद्यालय’ का नामले भएको थियो। समाजसेवी जगतबहादुर अमात्य र पण्डित शिवप्रसाद मिश्रले दुई कक्षासम्म सञ्चालन गरेका थिए। प्रारम्भिक चरणमै अंग्रेजी शिक्षा भित्र्याउने यो भक्तपुरकै पहिलो स्कुल थियो।
विसं २००३ सालमा पद्मशमशेरले यसलाई माध्यमिक तह बनाउने हुकुम दिएसँगै यसको नाम पनि फेरियो।
यहाँका विद्यार्थी २००३ सालबाटै एसएलसी परीक्षामा सहभागी थिए। त्योबेला ४ जना विद्यार्थीले परीक्षा दिएकामा यसपालि यो स्कुलबाट १ सय २५ जना एसइईमा सहभागी भए।
यीमध्ये ९ जनाले ‘ए प्लस’ ल्याउन सफल भए भने २२ जनाले ‘ए’ ल्याए। त्यस्तै, २८ जनाले ‘बी प्लस’, १६ जनाले ‘बी’, २५ जनाले ‘सी प्लस’, १८ जनाले ‘सी’ र ७ जनाले ‘डी प्लस’ ल्याएका छन्।
यीमध्ये ४६ जनाले प्राविधिकतर्फ सिभिल इञ्जिनियरिङ परीक्षा दिएका थिए। आठ जनाले ‘ए प्लस’, १७ ले ‘ए’ र २१ जनाले ‘बी प्लस’ ल्याएका छन्।
विभिन्न क्षमताका विद्यार्थी भएकाले अंग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ हुने यहाँका उप–प्रधानाध्यापक सुजितभक्त सालिकेले बताए।
विद्यार्थी निकेतन माध्यमिक विद्यालय भने २००४ सालमा स्थापना भएको हो। तत्कालीन समयमा राणाहरूको गोलीगठ्ठा भण्डारण गर्ने ठाउँ रहेको अभिलेखमा छ। मल्लकालमा यहाँ ‘साफूकोठा’ अर्थात पुस्तकालय थियो। यो क्षेत्र पनि ‘साकोथा’ कै नामले चिनिन्छ।
मल्लकालीन धरोहर जीवन्त राख्न विद्यालय बनेको स्थानीय बताउँछन्।
यो वर्ष विद्यालयबाट २९ विद्यार्थी एसइईमा सहभागी थिए। तीमध्ये एक–एक जनाले ‘ए प्लस’ र ‘ए’ ल्याए। ‘बी’ ल्याउने ५ जना, ‘सी प्लस’ ५, ‘सी’ ७ र ‘डी प्लस’ ल्याउने १० जना छन्।
राणाकालीन समयमा खोलिएका यी तीन विद्यालय पुग्दा सबैमा प्रथम त्रैमासिक परीक्षा चलिरहेको थियो। यसको नतिजापछि विद्यार्थीको मूल्यांकन गरी कक्षा १० मा कमजोर ठहरिएका विद्यार्थीलाई बिहान–बेलुकी विशेष कक्षा व्यवस्था गरिने यी तीनै स्कुलका प्रशासनले जनाएका छन्।
यी तीन सरकारी विद्यालयमध्ये तुलनात्मक रुपमा मेधाको नतिजा राम्रो छ। अधिकांश सरकारी स्कुलको दुरावस्थाबीच मेधाले कसरी राम्रो नतिजा निकाल्यो त?
मेधाका उप–प्रधानाध्यापक हाडा सरकारी स्कुल भए पनि पढाउने तरिका निजीभन्दा फरक नभएको बताउँछन्।
यहाँको पढाइ ९ बजेबाटै सुरु हुन्छ्। कक्षा १० का विद्यार्थीले भने अतिरिक्त कक्षा अनिवार्य पढ्नुपर्छ। बिहान ७ बजेबाट बेलुकी ६ बजेसम्म कक्षा लाग्छ। कमजोर विद्यार्थीलाई विदाको दिन पनि पढाइन्छ। प्रत्येक साता जाँच लिइन्छ। यहाँ छात्रावासको पनि व्यवस्था छ।
सूचना तथा सञ्चार प्रविधि (आइसिटी) बाट कक्षाकोठा सञ्चालन हुनु यहाँको थप आर्कषण भएको हाडा बताउँछन्।
‘विद्यार्थीले सैद्धान्तिक ज्ञानभन्दा प्राविधिक ज्ञानबाट चाँडै सिक्छन्,’ उनले भने, ‘हामीले प्रत्येक कक्षाकोठामा प्रोजेक्टर जडान गरेका छौं।’
विद्यालयमा कम्प्युटर, विज्ञान, संगीत प्रयोगशाला लगायत सुविधा छन्। यहाँ पढाउने माध्यम अंग्रेजी हो।
विद्यार्थी निकेतन माध्यमिक विद्यालयमा पनि इसिडी (अर्ली चाइल्ड डेभ्लपमेन्ट) शैलीमा पढाइन्छ। यो भनेको केटाकेटीलाई सानैदेखि उनीहरूको मानसिक, सामाजिक, मनोवैज्ञानिक, शारीरिक लगायत विकासमा सहयोग पुर्याउने गरी पढाउने तरिका हो।
यो स्कुलका पुस्तकालय र कक्षाकोठाको वातावरण राम्रो छ। शैक्षिक सत्रको बीचमा विद्यार्थी भर्ना लिनुपर्ने दबाबबाट भने स्कुल मुक्त छैन। यसले ती विद्यार्थीको पढाइमै असर पर्ने गरेको छ।
हामी त्यहाँका प्रधानाध्यापक सर्जनी जोशीसँग कुराकानी गरिरहँदा एक जना अभिभावक विद्यार्थी लिएर आइपुगेकी थिइन्। सर्लाहीकी ती विद्यार्थी तीन महिनाअघि कक्षा ८ मा भर्ना भएकी रहिछन्, तर कक्षामा उपस्थित भइनछिन्।
‘प्रथम त्रैमासिक परीक्षा सुरु भइसक्यो। अब भर्ना गर्न मिल्दैन,’ प्रधानाध्यापक जोशीले भनिन्।
अभिभावक विलाप गर्न थालिन्।
धर चलेन, नियमित कक्षामा उपस्थित हुनुपर्ने सहमतिमा जोशीले भर्ना लिन सहमति जनाइन्।
‘हेनुर्स त यसरी विलाप गर्दै आउँछन्। भर्ना गर्नै पर्यो,’ उनले भनिन्, ‘निजीले यस्ता विद्यार्थी सोझै अस्वीकार गर्छन्। हामीजस्ता सरकारी स्कुलले भर्ना नलिएर भयो त?’
बाहिरबाट आउने यस्ता विद्यार्थीको पढाइ स्तर नमिल्नाले पनि नतिजा प्रभावित हुने गरेको उनको भनाइ छ।
‘उता ८ कक्षा पढेका हुन्छन्, कक्षा ३ को जति पनि ज्ञान हुँदैन्,’ त्यहीँका एक शिक्षकले भने, ‘अभिभावकलाई कक्षा घटाएर पढाउनू भन्यो, विधार्थीको मनोबल घट्छ भनेर मान्दैनन्। हामीले तिनै विद्यार्थीलाई ठूलो कक्षामा सबै कुरा मिलाएर पढाउनुपर्छ। यसले नतिजा खस्किन्छ।’
श्री पद्म उच्च माध्यमिक विद्यालयका उप–प्रधानाध्यापक सुजितभक्त सालिकेको तर्क त्यस्तै छ। विद्यार्थी संख्या धेरै भएकाले उचित ध्यान पुर्याउन नसकेको उनी बताउँछन्।
‘पढाउने तौरतरिका र विद्यार्थीलाई दिइने सुविधामा पहिलेभन्दा धेरै परिवर्तन ल्याइसक्यौं,’ उनले भने, ‘एसइई नतिजा विस्तारै सुधार हुँदैछ।’
‘सबभन्दा ठूलो कुरा, अभिभावकको विश्वास जित्ने हो, हामी विस्तारै यसमा सफल हुँदै गएका छौं,’ उनले भने।