सिराहामा एक जना वृद्धको हत्या भएको छ।
बुधबार बिहान धनगढीमाई नगरपालिका-११ मा ७५ वर्षीय फनिलाल यादवको हत्या भएको जिल्ला प्रहरी कार्यालय सिराहाका डिएसपी वीरेन्द्र पासवानले जानकारी दिए।
उनका अनुसार फनिलाल घरमा एक्लै बस्छन्।
उनी पूर्ववडाध्यक्ष कमलदेव यादवका बुबा समेत हुन्। कमलदेव भने लहानमा बस्छन्।
बिहान छिमेकीले उठाउन जाँदा उनी रक्ताम्य अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो।
प्रहरीले उनलाई प्रादेशिक अस्पताल लहान पुर्याएको थियो। त्यहाँ चिकित्सकले ८:२० बजे मृत घोषणा गरेको डिएसपी पासवानले बताए।
‘टाउकोमा चोट देखिन्छ। धारिलो हतियार प्रयोग भएको हुनसक्छ। पोष्टमर्टम रिपोर्ट आएपछि घटनाबारे थप खुल्छ,’ उनले भने।
घटना कतिबेला भएको र कसरी भएको भन्नेबारे यकिन भइनसकेको पनि उनले बताए।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। मृतकका परिवारले भने बिहान केहीबेर राजमार्ग अवरूद्ध समेत गरेका थिए।