तपाईं आफ्ना नानीबाबुलाई सरकारी स्कुल पढाउन चाहनुहुन्छ कि निजी?
शिक्षाविद्हरू भन्छन्, ‘निजी स्कुलमा बढी पैसा तिरेर पढाउनुभन्दा सस्तो सरकारीमै पढाएको बेस।’
निजी स्कुलमा खर्च गर्ने पैसा केटाकेटीको अतिरिक्त क्रियाकलाप र पाठ्यक्रम बाहिरका किताबमा खर्च गर्नु बुद्धिमानी हुने उनीहरूको तर्क छ।
बौद्धिक बहसमा सर्वस्वीकार्य यो विषय व्यवहारिक रूपले कमै पालना हुन्छ। सरकारी स्कुल भन्नेबित्तिकै धेरै अभिभावक डराउँछन्, नाक खुम्च्याउँछन्।
उनीहरूको डर र हेलाको कारण हो एसइई रिजल्ट, जसमा सरकारीभन्दा निजी अब्बल ठहरिँदै आएका छन्।
तर, पख्नुस्, तपाईं यत्तिकै धारणा नबनाइहाल्नुस्।
बाफलको ज्ञानोदय माध्यमिक विद्यालयका बारेमा सुन्नुभएको छ। यो सरकारी स्कुल हो। यसपालि एसइईमा यसले ल्याएको नतिजा र महँगा निजी स्कुलले प्रचार गरिरहेका नतिजा तुलना गर्नुस्, तपाईंको धारणा बदलिनसक्छ।
२०५२ देखि एसएलसीमा लगातार उत्कृष्ट नतिजा ल्याउँदै आएको यो स्कुल यसपालि पनि अब्बल छ। देशभरि ६ प्रतिशतभन्दा बढीले नतिजा खस्किएका बेला ज्ञानोदयको भने सुधार भएको छ।
यही खुसीमा मंगलबार स्कुल विदा थियो। प्रशासन खुला रहेछ। हामी पुग्दा प्रधानाध्यापक नातिकाजी महर्जन प्रसन्न देखिए।
‘एकदमै खुसी हुनुहुन्छ?’
‘खुसी छु,’ उनले भने, ‘यहाँ सरकारी स्कुललाई कसैले पत्याउँदैनन्। हामी विश्वास जित्न खोज्दैछौं।’
एसइई नतिजा विश्वास जित्ने एउटा आधार हो।
ज्ञानोदयबाट २ सय ६ जनाले एसइई दिएका थिए। तीमध्ये ७४ ले ‘ए प्लस’ ल्याए भने ५१ ले ‘ए’ र ५९ ले ‘बी प्लस’ ल्याएका छन्। त्यस्तै, २० जना ‘बी’ र २ जना ‘सी प्लस’ मा परेका छन्।
गत वर्ष १८७ जनाले एसइई दिएकामा ४८ ले ‘ए प्लस’ ल्याए। ‘ए’ ल्याउने ५९ जना, ‘बी प्लस’ ४२, ‘बी’ २६ र ‘सी प्लस’ ल्याउने १२ जना थिए।
प्राविधिक विषयको नतिजा अझ राम्रो छ।
प्राविधिकतर्फ सिभिल इञ्जिनियरिङमा पहिलो ब्याचका विद्यार्थी ‘पास–आउट’ भएका छन्। जम्मा ४७ जनाले सिभिल इञ्जिनियरिङ पढेकामा ४३ ले ‘ए प्लस’ र ४ जनाले ‘ए’ ल्याए।
देशका अधिकांश सरकारी स्कुलको दुरावस्थाबीच ज्ञानोदयले कसरी यस्तो नतिजा ल्यायो त?
प्रधानाध्यापक महर्जनका अनुसार यहाँको पढाउने तौरतरिका निजीभन्दा फरक छैन। अरू सरकारी स्कुलमा सामान्यतया तीन–तीन महिनामा परीक्षा हुन्छ। यहाँ कक्षा ९ र १० का विद्यार्थीले प्रत्येक शनिबार जाँच दिनुपर्छ।
कमजोर विद्यार्थीका लागि नियमित पढाइपछि थप एक पिरियड अतिरिक्त कक्षाको व्यवस्था छ। प्रायः स्कुलमा सात पिरियड हुन्छन्। यहाँ आठ पिरियड पढाइ हुन्छ। विद्यार्थीको क्षमता हेरेर केहीलाई विदाको दिन ‘कोचिङ’ पढाइन्छ।
शिक्षकले नियमित पाठ्यक्रमका अतिरिक्त विभिन्न विषयका बाह्य किताब पढाउने र छलफल गर्ने गर्छन्। पाठ्यक्रम विकास केन्द्रले सिफारिस गरेका किताबलाई पहिलो प्राथमिकता दिइन्छ।
‘हामीले पढाउने तौरतरिकामा परिवर्तन ल्यायौं, शिक्षक साथीहरूले मिहिनेत गर्नुभयो, अभिभावकले पत्याए,’ २०४६ सालदेखि यहाँ पढाउँदै आएका महर्जनले भने, ‘यसैको नतिजा एसइईमा देखिएको हो।’
ज्ञानोदयमा रातारात यो परिवर्तन आएको होइन।
यो स्कुल २०२० सालमा स्थापना भएको हो। फड्को मारेको २०५२ सालबाट हो।
त्यस वर्ष एसएलसीमा ९० प्रतिशत विद्यार्थी पास भएका थिए। बाँकी पनि पूरक परीक्षामा पास भए। ज्ञानोदयले पहिलोपटक एसएलसीमा शतप्रतिशत नतिजा ल्यायो, जुन आजसम्म कायम छ।
यो सफलताको बिउ रोप्ने काम २०४० सालमा भएको थियो। तत्कालीन हेडमास्टर रेबरत्न बज्राचार्यले नर्सरी र केजी कक्षा सुरु गरेका थिए। त्यतिबेला सरकारी स्कुलमा नर्सरी र केजी पढाउने अनुमति थिएन। पूर्वप्राथमिक तहको शिक्षाविना विद्यार्थीको जग बलियो हुँदैन भन्ने बज्राचार्यको धारणा थियो।
उनले सरकारी अनुमति नभए पनि स्कुलकै खर्चमा नर्सरी र केजी कक्षा सुरु गरे। अंग्रेजी माध्यमबाट पढाइ हुन थाल्यो। नर्सरीमा भर्ना भएका विद्यार्थी पाँच कक्षा पुगेपछि पूरै स्कुलको पढाइ माध्यम अंग्रेजी भयो।
२०४० सालमा भर्ना भएका तिनै विद्यार्थीले २०५२ मा एसएलसी दिएका हुन्।
यो नतिजाले स्कुलका शिक्षक, विद्यार्थी र अभिभावक सबैमा ऊर्जा थप्यो। अरूले पनि स्कुलबारे थाहा पाउँदै गए। नमूना सरकारी स्कुल देखाउनुपर्दा सबैको रोजाइ यही भयो। स्कुलले आफ्नै घर बनायो। प्रयोगशाला राख्यो। पुस्तकालय थप्यो। पछिल्लो समय मन्टेश्वरी विधिबाट पढाउन सुरु गरेको छ।
स्कुलमा ९० जना शिक्षक तथा कर्मचारी छन्। विद्यार्थी संख्या बर्सेनि बढ्दो छ। २०५२ सालमा हजार जना थिए, अहिले २ हजार ५ सय जना छन्।
सिभिल इञ्जिनियरिङ थप आकर्षण भएको महर्जन बताउँछन्।
‘भविष्यमा इञ्जिनियर बन्न चाहने विद्यार्थीका लागि यहाँको पढाइले स्कुलदेखि नै आधारभूत प्राविधिक ज्ञान दिनेछ,’ उनले भने।
सरकारले २०७० सालदेखि प्रत्येक निर्वाचन क्षेत्रमा एउटा प्राविधिक विद्यालय बनाउने निर्णय गरेको थियो। प्राविधिक तथा व्यावसायिक शिक्षाअन्तर्गत कक्षा ९ देखि १२ सम्म कृषि, पशु विज्ञान, बाली विज्ञान, सिभिल इञ्जिनियरिङ, इलेक्ट्रोनिक्स इञ्जिनियरिङ, कम्प्युटर इञ्जिनियरिङ र संगीत विषय पढाउने अनुमति दिइएको छ।
त्यसैमध्ये ज्ञानोदयले सिभिल इञ्जिनियरिङको अनुमति पाएको हो। इञ्जिनियरिङ कक्षा निम्ति प्रयोगशाला बनाउन सरकारले पहिलो वर्ष ३० लाख र दोस्रो वर्ष १८ लाख रुपैयाँ लगानी गरेको छ।
पहिलो ब्याचका सबै विद्यार्थीले राम्रो नतिजा ल्याएपछि महर्जन उत्साहित छन्।
‘यी विद्यार्थीले अब आफ्नो घरदेखि छरछिमेकका निर्माण गतिविधि नियाल्न र त्यसमा त्रुटि पर्गेल्न सक्नेछन्,’ महर्जनले भने, ‘कंक्रिट मिलेको छ कि छैन, नक्साअनुसार घर बनेको छ कि छैन, रड बाँधेको मिलेको छ कि छैन जाँच्न सक्छन्।’
‘यो पढाइको उद्देश्य नै व्यवहारिक र प्राविधिक सीप बढोस् भन्ने हो,’ उनले भने।
उनका अनुसार सामान्य खालका निर्माणस्थल रेखदेख र अनुगमन गर्न दक्ष प्राविधिक पाइएन भने यी विद्यार्थीलाई अस्थायी रूपमा प्रयोग गर्न सकिन्छ। यी विद्यार्थी कक्षा ११ र १२ पढिसकेपछि ‘सब–इञ्जिनियर’ हुनेछन्। त्यसपछि इञ्जिनियरिङमै स्नातक पढ्न सक्छन्, वा अरु विषयतिर जान पनि सक्छन्।
यहाँ दुई वर्ष सिभिल इञ्जिनियरिङ अध्ययन क्रममा विद्यार्थीलाई ५० दिन स्थलगत भ्रमण गराइन्छ। उनीहरूको निम्ति स्कुल समय पनि अरूभन्दा बढी छ। कक्षा ९ मा बिहान ७ देखि साढे ४ र १० कक्षामा ८ देखि साढे ४ सम्म पढाइन्छ। अरू कक्षा भने १० देखि साढे ४ सम्म चल्छ।
‘सरकारी होस् या निजी सबैतिर पढाउने र पढ्ने तरिका एउटै हुनुपर्छ,’ प्रधानाध्यापक महर्जनले भने, ‘हामीले यत्ति कुरा सुनिश्चित गर्न सक्यौं भने समग्र शिक्षा क्षेत्रले फड्को मार्नेछ।’
‘निजी स्कुलले अभिभावकको मन जितेको छ, त्यहाँ मात्र राम्रो पढाइ हुन्छ भन्ने भ्रम छ। सामुदायिक स्कुलले त्यसलाई मनन् गरेर आफूलाई सुधार गर्न सक्नुपर्छ,’ उनले भने।
प्रधानाध्यापक महर्जनले भनेजस्तै परिवर्तन हुने हो भने बल्ल सरकारी स्कुल भन्नेबित्तिकै नाक खुम्च्याउने प्रवृत्ति अन्त्य हुनेछ।