यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा पनि छात्रको तुलनामा छात्राको नतिजा खस्किएको छ।
परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार ४ लाख ५१ हजार ५ सय ३२ नियमित विद्यार्थीले परीक्षा दिएका थिए।
जसमध्ये २ लाख २७ हजार ९३१ छात्रा र २ लाख २३ हजार ६०१ जना छात्र थिए।
परीक्षा दिँदा छात्रभन्दा छात्रा धेरै भए पनि नतिजा भने छात्रा पछि परेका छन्।
वर्षेनी नतिजा खराब हुनुमा अभिभावक, विद्यालय, शिक्षक, सरकारको नीति र समाज सबै दोषी रहेको शिक्षाविद् रमेश गौतम बताउँछन्।
‘एसएलसीबाट एसईई मात्र भयो। अन्य सामाजिक संरचनमा परिवर्तन भएन। छोराछोरीबीच हुने विभेदमा अन्त्य हुन सकेन। त्यही भएर वर्षेनी छात्राको नतिजा खस्किदो छ,’ उनले भने, ‘यसमा हामी सबै जिम्मेवार छौं। हाम्रो मनोविज्ञान गलत छ।’
छात्रालाई सुविधा दिन नीतिगत व्यवस्था भए पनि सामाजिक चेतनामा परिवर्तन ल्याउन नसकिएको गौतम बताउँछन्।छोरीबारे समाजको धारणा अझै बदलिएको छैन।
छोरा जन्मे हर्षोल्लास गर्ने, छोरी भए खिन्न हुने, छोरालाई निजी वा राम्रा विद्यालयमा पढाउने तर छोरीलाई पढे पढोस् नपढे नपढोस् भन्ठानेर सामुदायिक विद्यालयमा पठाउने चलनले छात्राहरूको नतिजा सुधार हुन नसकेको उनको बुझाइ छ।
शिक्षाविद् केदारभक्त माथेमा भने सामाजिक र मनोवैज्ञानिक पाटो मात्र नभएर जगैदेखि विद्यालय शिक्षा राम्रो बनाउन नसकेकाले छोरीको नतिजा खस्किएको बताउँछन्।
‘केही निजी विद्यालयले मात्र १ कक्षादेखि नै कमजोरलाई कोचिङ र ट्युसन पढाउँछन्,बाँकी सबैले १० कक्षा पुगेपछि मात्र कोचिङ, ट्युसन सुरू गर्छन। एकैचोटी कहाँ हुन्छ?’,माथेमाले भने, ‘घरमा होस् वा विद्यालयमा केटालाई मात्र प्राथमिकता दिने चलन बन्द गर्नुपर्छ।’
ग्रेडिङ सिस्टमका कारणले पनि छात्राको नतिजा खस्केको गौतमको बुझाइ छ।
‘नयाँ पद्दति हचुवाको भरमा ल्याइयो। यसमा कतिपय शिक्षक नै समाहित हुन सकेका छैनन्। झन् कमजोर मनोबल बनाइका छात्रा कसरी समाहित हुन् सकुन्,’ उनले भने, ‘ग्रेडिङ सिस्टम पनि छात्राको नजिता खस्किनुको अर्को कारण हो।’
गत वर्ष चैतमा भएको एसईईको नतिजा शनिबार प्रकाशित भएको हो। नतिजाअनुसार ३.६५ देखि ४ जिपिए ल्याउने छात्रको संख्या ८ हजार ७३ छ भने ६ हजार १ सय ६१ छात्रा छन्।
३.२५ देखि ३.६० जिपिए ल्याउने छात्र २५ हजार ९ सय ४७ जना छन् भने २० हजार १ सय ८३ छात्रा छन्।
२.८५ देखि ३.२० जिपिए ल्याउने छात्र २७ हजार ५ सय ५२ र छात्रा २१ हजार ४ सय ८५ मात्र छन्।
एसईईमा छात्राको नतिजा राम्रो बनाउन उनीहरूको जाँगर, मनोबल बढाउनु पर्ने र उनीहरूलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन गर्नुपर्ने शिक्षाविद् गौतमको सुझाव छ।
‘अभिभावकले छोराछोरीलाई समान व्यवहार गर्नुपर्यो, विद्यालयले छात्रालाई प्रोत्साहन गर्नुपर्यो र सरकारी नीतिलाई कागजमा सीमित नराखेर व्यवहारमा लागू गर्नुपर्यो,’ उनले भने।
शिक्षाविद् माथेमा भने छात्राको नतिजा राम्रो बनाउन अभिभावकसँगै विद्यालयको प्रमुख हात हुने बताउँछन्।
‘विद्यार्थी कमजोर छ भने १ कक्षादेखि नै कुनमा कमजोर छ, त्यसमा ट्युसन, कोचिङको व्यवस्था हुनुपर्यो,’ उनले भने, ‘कोर्स सकाउने मात्र होइन उसले बुझ्यो बुझेन, लेख्न सक्छ सक्दैन त्यसमा पनि ध्यान दिनुपर्यो।’