मोटरसाइकलको ठक्करबाट ग्वार्कोमा एक पैदल यात्रुको मृत्यु


ललितपुरको ग्वार्कोस्थित बि.एण्ड.बि अस्पतालको गेट नजिकै हिजो बेलुकी पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकलसमेत पल्टिदा १ जनाको मृत्यु भएको छ। २ जना घाईते भएका छन्।

मृत्यु हुनेमा पैदलयात्री सातदोबाटो बस्ने ६० वर्षीय चैतमान शाक्य छन्।

मंगलबार बेलुका सवा ७ बजे, बा ८५ प ९२७ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाईते शाक्यको उपचारको क्रममा बि.एण्ड.बि अस्पतालमा गएराति पौने १० बजे, मृत्यु भएको महानगरिय ट्राफिक प्रहरी परिसर सातदोबाटोले जनाएको छ।

दुर्घटनामा घाईते भएका मोटरसाइकल चालक ललितपुर झम्सीखेल बस्ने सप्तरी राजविराजका १९ बर्षीय सन्तोष सिंहको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ।

मोटरसाइकलमा पछाडि सवार उनका १८ वर्षीय भाई सुभाष सिंहको भने बि.एण्ड बि. अस्पतालमै उपचार भइरहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.