रोबोटले हाम्रा सन्तानको जागिर खोस्दैछ!


रोबोटको काम के हो?

हाम्रो काम सहज बनाउनु।

के रोबोटले हाम्रो काम मात्र सहज बनाइरहेको छ? या, हाम्रो कामै खोसिरहेको छ? अझ भन्नुपर्दा, हाम्रो अस्तित्व नै ध्वस्त पार्दैछ कि?

अमेरिकी कम्पनी टेस्लाका सिइओ एलन मस्क भन्छन्, ‘हो, रोबोटले हाम्रो अस्तित्व ध्वस्त पार्दैछ।’

आफ्नो काम छिटोछरितो र व्यवस्थित होस् भनेर मान्छेले नै बनाएको रोबोटले उसकै विनाश कसरी गर्न सक्छ?

यसको जवाफ मस्कले भन्दा ७ वर्षीय बालक टोबीको भनाइले प्रस्ट हुन्छ।

‘रोबोटले मेरो सबै काम गरिदिन्छ,’ टोबी खुसी हुँदै भन्छन्, ‘म र मेरो भाइलाई रोबोट एकदमै मनपर्छ।’

उनले यस्तो जवाफ दिँदा हामीले भन्न सकेनौं, ‘टोबी, कुनै दिन तिमीले त्यही रोबोटको आदेशमा काम गर्नुपर्ने हुनसक्छ। वा, तिम्रा सबै काम रोबोटले गरिदिँदा तिमी आफैं बेरोजगार हुन सक्छौ।’

टोबीजस्ता लाखौं केटाकेटी आज रोबोट संसारमा भुलिरहेका छन्।

यही देखेर एलन मस्क ‘डराएका’ छन्। उनी बारम्बर भन्दै छन्, ‘हामी आफैंलाई पुर्ने खाडल खन्दै छौं। रोबोट विकास नियन्त्रण गर्नुपर्छ।’

यसरी बोल्नेमा मस्क एक्लै छैनन्। माइक्रोसफ्ट संस्थापक बिल गेट्स र वैज्ञानिक स्टेफन हकिङ रोबोट विकास समयमै नियन्त्रण गरिनुपर्ने बताउँछन्।

रोबोटका कारण आइपर्ने समस्या अध्ययनमा लागेका सयौं संस्था र व्यक्ति यसमा सहमत छन्। यी सबैको भनाइ एउटै छ– रोबोट हामीले विकास गरेका हौं, तर सधैं हाम्रो नियन्त्रणमा रहँदैन। यसले के–कति काम गर्न सक्छ भन्ने कहिल्यै थाहा हुँदैन। यसको क्षमता हाम्रो समझभन्दा धेरै पर हुन्छ। अहिले हाम्रो काममा सहयोग गर्ने रोबोटले कुनै दिन हाम्रै काम खोस्छ। हामीलाई ‘बेकामे’ बनाउँछ। हाम्रो अस्तित्व नै ध्वस्त पार्न सक्छ।

उनीहरूले भनेजस्तै रोबोट विकासबाट प्रभावित हुन बच्चाले रोबोट नै खेल्नुपर्छ भन्ने छैन।

संसारको कुनै एक ठाउँमा पर्ने प्रभाव भाइरसझैं सबतिर फैलिँदै जान्छ। रोबोट नै नचलाउने केटाकेटीको भविष्यमाथि पनि यसले प्रहार गर्दै जान्छ।

कल्पना गर्नुहोस्, तपाईं छोरीलाई अमेरिकाको ‘एल स्कुल अफ मेडिसिन’ मा रेडियोलोजिस्ट पढाउन चाहनुहुन्छ। रेडियोलोजिस्टको तलब नै समान्यतया साढे चार लाख डलरभन्दा बढी हुन्छ। यही सपना पूरा गर्न तपाईं अनेकौं प्रयास गरेर छोरीलाई रेडियोलोजी पढाउने तयारी गर्न थाल्नुहुन्छ।

तपाईंको सपना त्यतिखेर टुट्छ, जब तपाईंले छोरीको निम्ति कल्पना गरेको जागिर अरू नै कसैले खाइदिन्छ– रोबोटले।

रोबोटले तपाईंकी छोरीभन्दा गुणस्तरीय काम गर्न सक्छ। स्क्यानहरू तथ्यगत हिसाबमा पढ्न सक्छ। र, मानव शरीरको भित्र–भित्र चिहाउन सक्छ।

त्यसो भए, तपाईं विकल्पतिर लाग्नुहोस्। छोरीलाई ‘सर्जन’ बनाउने तयारी गर्नुहोस्।

त्यो जागिर पनि सुरक्षित भने छैन।

संसारका धेरै ‘अत्याधुनिक प्रविधियुक्त’ अस्पतालमा अचेल रोबोटले नै शल्यक्रियामा सघाउन थालेको छ।

गत वर्षकै कुरा हो, ‘स्टार’ नामको ‘सर्जन रोबोट’ ले सुँगुरको शल्यक्रिया गर्न मान्छेलाई सघाएको थियो। त्यो एकदमै सफल सावित भयो।

अब तपाईं छोरीको भविष्य कहाँ खोज्नुहुन्छ?

वकिल बनाउन चाहनुभयो भने त्यहाँ पनि रोबोटले आफ्नो प्रभाव देखाइसकेको छ। ठूल्ठूला कम्पनीसँग काम गर्ने वकिलले हजारौं कागजात व्यवस्थापन गर्नुपर्छ, पढ्नुपर्छ, बुझ्नुपर्छ।

यस्तोमा मान्छेले कति भ्याउँछन् र?

यहीँनिर तपाईंको जागिरमा मद्दत गर्न रोबोट आइपुग्छ। अहिले थुप्रै रोबोटरूपी सफ्टवेयरले यस्ता काम गर्दै आएका छन्। कम समयमै धेरै काम गर्ने यी रोबोट हाबी हुँदै गएपछि कुनै पनि कम्पनीमा तपाईंको के

आवश्यकता रह्यो?

यी सबै पेसा छाडेर आफ्ना छोरीलाई पत्रकार बनाउने सोच्नुहोला। त्यसमा त रोबोटको काम छैन भन्ठान्नुहोला।

यहाँ पनि तपाईं भ्रममा हुनुहुन्छ।

पत्रकारितामा पनि रोबोट छिरिसकेको छ। यसको उदाहरण हो, अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी)।

एपीले ‘अटोमेटेड इन्साइट्स’ नामक कम्पनीको एउटा सफ्ट्वेयर प्रयोग गरिसकेको छ। यसले समाचार दोहोरिने वा नक्कल हुने समस्याबाट जोगिन मद्दत गर्छ।

कतिपय स्थानमा कम्प्युटरले नै समाचार लेख्न थालेको छ। ती समाचार मान्छेले लेखेभन्दा उत्कृष्ट भएको टिप्पणी गरिएको छ। कम्प्युटरमा सबैतिरका तथ्यांक र शब्द छानेर सकेसम्म राम्रो लेख्ने सफ्टवेयर हुन्छ।

यसले मान्छेको बौद्धिक क्षमतामा चुनौती खडा गरेको छ।

रोबोटले पाइलट बनेर हवाइजहाज पनि उडाइसकेको छ।

गत वर्ष ‘डिफेन्स एड्भान्स्ड रिसर्च प्रोजेक्ट्स एजेन्सी’ (डार्पा) नामक कम्पनीको रोबोट–पाइलटले सफलतापूर्वक जहाज उडाएको थियो। हामीले चालकरहित कार र पाइलटरहित जहाज युगमा कदम राखिसकेका छौं। अब उपभोग गर्ने दिन धेरै टाढा छैन।

सेयर बजारधरि रोबोटबाट अछुतो छैन।

ठूला कम्पनी तथा बैंकले सेयर कारोबारमा सल्लाह र सुझाव लिन, ट्रेन्ड अध्ययन गर्न र मौद्रिक नीति आकलन गर्नसमेत विभिन्न रोबोटरूपी सफ्ट्वेयर प्रयोग गर्न थालेका छन्।

‘ब्लुमबर्ग’ नामक समाचार संस्थाका अनुसार संसारकै ठूलोमध्येको कम्पनी ‘ब्ल्याक रक’ ले यस वर्ष सुरूआतमै केही कर्मचारी हटाएको थियो। कम्पनीको उच्च पदमा बस्ने र धेरै तलब पाउने कर्मचारी हटाएर उसले कम्प्युटर सफ्ट्वेयर र ‘अल्गोरिदम’ राखेको जनाएको थियो।

यी सब हेर्दा तपाईंलाई लाग्ला, कहीँ–कहीँ त यस्तो भइहाल्छ नि!

यस्तो सोच्दै हुनुहुन्छ भने तपाईं गलत हुनुहुन्छ।

रोबोटले हाम्रो जागिर कहीँ–कहीँ मात्र खोस्दैन, सबैतिर खोस्नेछ।

यसलाई अझ प्रस्ट बनाउँछ अक्सफोर्ड विश्वविद्यालय, इञ्जिनियरिङ विभागको अध्ययनले। सन् २०१३ को उक्त अध्ययनले एक भयानक तथ्य उजागर गरेको छ– हाल भएका रोजगारमध्ये ४७ प्रतिशत रोबोटकै कारण गुम्दै जाने जोखिममा छ। चाहे त्यो काम बिमा फारम भर्ने होस्, चाहे खेलको रेफ्री वा ऋण दिने अधिकृत। यी सब काममा मान्छेको साटो रोबोट प्रयोग हुन थालेको छ। यसले मान्छे प्रतिस्थापन हुने सम्भावना अधिक रहेको अध्ययनले देखाएको छ।

गत साता पनि ‘म्याकिन्सी ग्लोबल इन्स्टिच्युट’ ले एक प्रतिवेदन सार्वजनिक गरेको थियो। त्यसमा उल्लेख छ– आगामी १०÷१२ वर्षमा एकतिहाइ अमेरिकीले रोबोटका कारण रोजगार गुमाउनुपर्ने वा बदल्नुपर्ने हुनसक्छ।

अब भन्नुहोस्, हाम्रै जागिर जोखिममा पर्न थालिसकेका बेला हाम्रा छोरीछोराको भविष्य के होला?

सात वर्षीय टोबी र उनका ४ वर्षका भाइ एन्टोन नै अहिले आफ्ना कामका निम्ति रोबोटको भर पर्छन्। रोबोटको भर परे पनि भविष्यमा ‘के’ बन्ने सपना देख्न त छाड्दैनन्।

टोबी कार र फिल्म भनेपछि हुरूक्कै हुन्छन्। उनको सपना छ– ट्याक्सी सेवा कम्पनी ‘उबर’ को चालक वा अभिनेता बन्ने।

उनलाई यो थाहा छैन, उबरले आगामी दुई वर्षमा २४ हजार वटा चालकरहित कार किनेर सडकमा चलाउने बताइसकेको छ। अहिलेका उबर चालककै जागिर धरापमा परिसकेको छ।

अब टोबी हुर्केर चालक नै नचाहिने गाडी कसरी चलाउलान्?

उसो भए अभिनेता बन्लान् कि?

यो हामीले व्यवहारमा नदेखे पनि संकेत पाइसकेका छौं।

‘कुनै रोबोटले अभिनेताका रूपमा मान्छेले नै पाउनेजस्तो सहानुभूति नपाउला भन्न सकिन्न,’ हलिउड अभिनेता ड्वेनी जोनसोनले भने।

फिल्ममा रोबोटको भूमिका त हामीले देख्दै आएका छौं। ती रोबोट चर्चित छन्। लोकप्रिय छन्। र, जटिल समस्या भनेको उनीहरू मानवीय संवेदना पाउन सक्षम छन्।

फिल्म ‘टान्सफर्मर्स’ का गाडीरूपी रोबोटलाई नै लिनुहोस्– कत्ति मान्छेको आकर्षण छ त्यसमा।

फिल्मी क्षेत्रमा रोबोट प्रयोग नौलो होइन। हलिउड धेरैअघिदेखि नै विभिन्न कामकाजमा रोबोटको भर पर्दै आएको छ। चाहे प्राविधिक काममा होस् चाहे फिल्मका चरित्रको व्यक्तितत्व दर्शाउन।

सन् १९७० दशकको हलिउड फिल्म ‘स्टार वार्स’ मा एक पात्र थिइन्– राजकुमारी लिया। यो फिल्मको नयाँ भाग २०१६ मा आएको थियो, जसमा फेरि लियाको भूमिका राखिने भयो। कम्प्युटररूपी रोबोटले नै पुरानी लियाका आधारमा नयाँ लियाको स्वरूप डिजाइन गरेको हो।

त्यसैले टोबीको अभिनेता बन्ने सपनामाथि रोबोटको प्रहार हुँदैन भन्न सकिन्न।

उनका भाइ एन्टोनको भविष्य पनि रोबोट प्रभावबाट छेकिन सक्दैन।

उनी फुटबल खेलाडी बन्ने सपना देख्दैछन्। दुःखको कुरा, गत सोमबार भएको एक खेलबारे उनलाई थाहा छैन। त्यो दिन ड्यालास काउड्रोइड्स र सियाटल सिबट्सबीच फुटबल भएको थियो। ती दुवै टोली मान्छेको होइन, रोबोटको हो।

उसो भए एन्टोनको सेना बन्ने चाहना त पूरा होला नि!

त्यो पनि आशा मात्र गर्न सकिन्छ।

रुसले अस्ति भर्खरै ‘फेडोर’ नामको सैन्य रोबोट सार्वजनिक गरेको थियो। त्यसले एउटा सेनाले गर्ने सब काम गर्न सक्थ्यो। बन्दुक र गाडी चलाउने, प्राथमिक उपचार गर्ने र सल्युट हान्ने कामसमेत गथ्र्यो। यसलाई अझ विस्तार गर्ने रुसको योजना छ।

अमेरिकासँग त सन् २०२५ सम्म यस्ता हजारौं रोबोट हुने बेलायतका विज्ञले अनुमान गरेका छन्।

यो भयो कामको कुरा।

रोबोटले त मान्छेको पहिचानमा समेत ‘अधिकार’ जमाइसकेको छ। तपाईंलाई याद होला, गत महिना मात्र सोफिया नामकी रोबोटले साउदी अरबको नागरिकता पाएको थियो।

यो सुरूआत मात्रै हो, अब कति देशले कति रोबोटलाई आफ्ना नागरिक बनाउँछन्, देख्न बाँकी नै छ।

अब सोच्नुहोस्, आजकै दिनमा हाम्रो रोजगार धरापमा छ, पहिचान धर्मराउन थालेको छ भने, अबको २५ वर्षमा के होला?

‘हामी यो संसारका बुद्धिमान प्राणीको श्रेणीमा पर्ने छैनौं,’ टेस्ला सिइओ मस्क भन्छन्, ‘रोबोटले हाम्रो मस्तिष्क क्षमता पराजित गर्छ। हामीमाथि अधिन जमाउन सक्छ। हामीले नै बनाएका चिजले हाम्रो विनाश गर्न सक्छ।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.