सरकारले माग सम्बोधन गर्ने भएपछि नेपाल चिकित्सक संघको आन्दोलन स्थगित


सरकारले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि नेपाल चिकित्सक संघले आन्दोलन स्थगित गरेको छ।

शुक्रबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी कार्यालयमा संघ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच वार्ता भएको थियो। वार्तामा संघले उठाएका माग सम्बोधन गर्दै चिकित्सकलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका हुन्।

चिकित्सकहरुमाथि हातपात भइरहेको र सुरक्षा महसुस नभईरहेका बेला सरकारले स्वास्थ्य बढावा दिने भएकाले सुरक्षा प्रत्याभूति हुनुपर्ने माग संघले उठाउँदै आएको थियो।

वार्तामा प्रधानमन्त्रीले चिकित्सको सुरक्षाका लागि आफूले जस्तोसुकै कदम चाल्ने प्रतिवद्धता जनाएको र मन्त्रीपरिषद्को निर्णय पनि सच्चिएर आएकाले आन्दोलन स्थगित गरिएको संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले जानकारी दिए।

असोज २ गतेको मन्त्रीपरिषद बैठकले चिकित्सकको चरम लापरवाहीका कारण बिरामीको मृत्यु वा अंगभंग भएमा त्यसको भरपाई गराउने व्यवस्थासहितको स्वास्थ्य सेवा विधेयक बनाउन स्वास्थ्य मन्त्रायलाई निर्देशन दिएको थियो। सो निर्णय सच्याइएपछि चिकित्सकले तत्काललाई आन्दोलन स्थगित गरेका हुन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.