एमालेका मधेस अनुहार


हामी घर पुग्दा उनी भेटिएनन्। घरदैलो कार्यक्रममा गएका रहेछन्। फोन गरेपछि घरदैलो छाडेर प्रचार कार्यालय आए।

हामीलाई आफ्नो कार्यालयसम्म ल्याइदिने मान्छे देखेर सायद उनी अचम्मित भए। ती मान्छेले मोटरसाइकलमा साइकल छाप झन्डा फहराइरहेका थिए भने छातीमा राजपा लेखिएको लोगो टाँसेका थिए।

‘मनोनयन दर्ता गर्ने दिनसम्म केही पर ठूलो बोर्ड टाँसिएको थियो,’ राजविराज–९, मलेठबाट एमाले वडा अध्यक्ष उम्मेदवार महेश्वर यादवले भने, ‘बोर्डमा लेखिएको थियो– राप्रपा र एमाले प्रवेश निषेधित क्षेत्र।’

स्थिति यस्तो थियो, पहिलो र दोस्रो चरणको निर्वाचनमा देशभरिबाट पहिलो पार्टी बनेको नेकपा एमालेले राजविराज–९ मा उम्मेदवार पाउन सकेको थिएन। यसअघिको निर्वाचनमा साविकको मलेठ गाविसबाट सबैभन्दा बढी मत पाएको भए पनि एमालेलाई उम्मेदवार छान्न सकस परेको थियो। त्यसको कारण थियो– गत फागुन २३ गतेको घटना।

फागुन २३ गते मलेठको गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा एमालेको सभा थियो। मेची–महाकाली अभियानअन्तर्गतको उक्त सभामा अध्यक्ष केपी शर्मा ओली लगायत नेताले सम्बोधन गर्दै थिए। सुरुमा कार्यक्रम सामान्य रूपमा चले पनि अन्तिममा स्थिति बिग्रियो। प्रहरीले गोली चलायो। गोली लागेर पाँच जनाको ज्यान गयो। तीमध्ये तीन जना मलेठकै थिए।

त्यो कार्यक्रममा यादव पनि गएका थिए। २०५४ देखि एमाले राजनीतिमा लागेका यादवलाई पार्टीको कार्यक्रममा टोलकै मान्छे प्रहरीको गोली खाएर मरेको देख्दा दुःख लाग्यो। उक्त घटनामा मारिएका वीरेन्द्र मेहताको घरबाट मुस्किलले पाँच मिनेटको दुरीमा उनको घर थियो।

‘त्यसपछि त ओलीको गोलीले मान्छे मरे भन्दै एमालेलाई बाहिर निस्कन सक्ने अवस्था पनि भएन,’ यादवले भने, ‘सरकार माओवादीको थियो, गृहमन्त्री कांग्रेसको थियो, तर मान्छे भन्थे–केपी ओलीले गोली हान्यो। मलाई लाग्थ्यो, घटना एमालेका कारण होइन, सरकार र राजपाका कारण भएको हो।’

आफूलाई लाग्ने यही कुरा केही दिनपछि उनले एक–दुई जनालाई भन्न थाले। नजिकै मेडिकल चलाउने उनले धेरैका शरीरमा लागेको चोटको औषधि दिएका छन्, मनमा लागेको यो ‘चोट’मा पनि मह्लम लगाउन थाले।

आफूलाई औषधि दिने ‘डाक्टर’ भएकाले धेरैले उनलाई सम्मान नै गर्थे। कुरा मन परे पनि नपरे पनि कम्तीमा सुनेर जान्थे। तर, चोट त्यति छिट्टै निको हुनेवाला थिएन। मधेसवादी दलले एमालेलाई सुरुदेखि नै लगाउँदै आएको ‘मधेसविरोधी’ दलको आरोपमा त्यो घटनाले एक इँटा थपिदियो।

परिस्थिति यस्तो बन्यो, २०५४ को चुनावमा गाविस अध्यक्ष जितेको, दोस्रो संविधानसभा निर्वाचनमा सबैभन्दा बढी ५४१ मत पाएको एमालेलाई वडामा उठ्ने उम्मेदवार पाउनै मुस्किल भयो।

‘पहिलेका अध्यक्ष छोटेलाल यादवजीले एकदिन मलाई तपाईं वडाध्यक्ष लडनुस् भन्नुभयो, मैले तपाईं अध्यक्ष हो तपाईं नै लड्नुस् भनेँ,’ यादव भन्छन्, ‘अन्त टिकट खोसाखोस हुँदा यहाँ फालाफाल थियो।’

छोटेलालले भनेपछि महेश्वर वडाध्यक्ष उठ्न तयार भए। त्यसको केही दिनपछि छोटेलाल एमाले छाडेर राजपा गए र अहिले उनी पनि वडाध्यक्ष उम्मेदवार छन्।

मधेसमा धेरैले एमालेलाई ‘मधेसविरोधी’ को आरोप लगाउँछन्। त्यो आरोपको सामना पार्टी अध्यक्ष ओलीभन्दा बढी मधेसमा उम्मेदवार बनेका एमाले नेता–कार्यकर्ताले धेरै गर्नुपर्छ। त्यसमा पनि महेश्वरले त झन् बढी त्यसको उत्तर दिनुपर्छ। किनकि, मलेठको घाउमा अझै टाटा बसिसकेको छैन।

केही दिनअघि मात्रै महेश्वर उक्त घटनामा मारिएका वीरेन्द्र मेहताको घर गएका थिए। ‘उनकी पत्नी कमाउने मान्छे गइहाल्यो अब कसरी छोराछोरी हुर्काउने भनेर रुन्छिन्,’ महेश्वरले भने, ‘मैले उनलाई सहानूभूति दिएँ। एमालेले मारिएका परिवारलाई एक रोजगारी र केटाकेटीको पढाइ गरिदिनुपर्छ जस्तो लाग्छ।’

स्थानीय चुनावमा उम्मेदवारका एजेन्डा स्थानीय हुन्छन्। महेश्वरले भने राष्ट्रिय एजेन्डाको जवाफ दिइरहनु परेको छ। ‘पहिलो कुरा त मलेठ घटना एमालेका कारण भएको होइन भन्छु, अर्को एमाले मधेसविरोधी पार्टी होइन भन्छु,’ उनले भने।

यति हुँदाहुँदै अहिलेको संविधानमा संशोधन आवश्यक छ भन्ने उनलाई लाग्छ। ‘म एमालेभन्दा पहिला मधेसी हुँ, हाम्रो मधेसमा नागरिकता लगायतको कुरा छ, त्यसमा संशोधन गर्नुपर्छ जस्तो लाग्छ,’ महेश्वरले भने।

कहिलेकाहीँ उनलाई आफ्नै पार्टीप्रति पनि गुनासो हुन्छ, यस्तो संवेदनशील ठाउँमा चुनाव लडिरहे पनि कसैको हौसला र साथ नपाउँदा। ‘घटना भएदेखि अहिलेसम्म कुनै केन्द्रीय नेता यहाँ आउनुभएको छैन, म उम्मेदवार बनेपछि कसैले फोन पनि गर्नुभएको छैन,’ उनले भने, ‘जे गरिरहेका छौं, हामी आफैंले गरिरहेका छौं।’

यी सबैका बाबजुद चुनाव आफूले जित्ने उनीभित्र आँट छ। यसका लागि एमालेको संगठन त एकातिर छ, अर्कातिर आफ्नो पेसाका कारण चिनजान भएकाले भोट दिने उनको विश्वास छ। ‘एमालेलाई भनेर भोट हाल्ने पनि छन्, मलाई महेश्वर यादव भनेर भोट दिने पनि छन्,’ उनले भने, ‘त्यही भएर म जित्छु भन्ने लागेको छ।’

उनले मधेसका अन्य ठाउँमा उम्मेदवार भएकाहरूलाई सन्देश दिन पनि छुटाएनन्, ‘राजनीतिको बाटो सधैं सजिलो हुँदैन। जस्तो समस्या आउँछ त्यसलाई आफैंले समाधान गरेर जानुपर्छ।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.