उत्तर कोरियामाथि अमेरिकाको नयाँ नाकाबन्दीः तेल र टेक्सटायलमा कडाइ


गत साता शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियामाथि संयुक्त राष्ट्र संघले नयाँ नाकाबन्दी लगाएको छ। उत्तरलाई हतियार बनाउन निरुत्साहित गर्न नयाँ नाकाबन्दीमार्फत् राष्ट्र संघले तेल निर्यात र कपडा आयात दुवैमा कडाइ गर्ने भएको बिबिसीले जनाएको छ।

अमेरिकाले सोमबार संयुक्त राष्ट्र संघको सुरक्षा परिषद वैठकमा नाकाबन्दी मापदण्डबारे मस्यौदा पेश गरेको थियो। त्यसमा उसले उत्तरमा पूर्णरुपमै तेल निर्यात बन्द गर्ने प्रस्ताव राखेको थियो। तर, वैठकमा रसिया र चीनले यी मापदण्ड केही लचिला हुनुपर्ने प्रस्ताव राखेपछि तेल निर्यातमा सीमांकन गरिएको हो।

राष्ट्र संघले पारित गरेको नयाँ नाकाबन्दीमा के छ?

-उत्तरमा सिमित मात्रामा तेल र तेलजन्य पदार्थ निर्यात गरिनेछ। उत्तरमा सबैभन्दा धेरै तेल निकासी चीनले गर्छ।

-उत्तरको दोस्रो ठूलो राजस्वको श्रोत टेक्सटायल निर्यात प्रतिबन्ध गरिनेछ। उसको निकासी हाल करिब ३ अर्ब डलर बराबरको छ। नयाँ नाकाबन्दीले उत्तर कोरियाको एक तिहाइ निकासी प्रभावित हुन्छ जसले वार्षिक ७० करोड डलरभन्दा बढीको कारोबार कम गर्छ।

-उत्तर कोरियाली वैदेशिक कामदारलाई नयाँ भिसा नदिने। यसबाट उत्तरको वार्षिक राजस्वमा ५० करोड डलरभन्दा बढी गिरावट आउने अमेरिकाको अनुमान छ।

उत्तरका राष्ट्रपति किम जोङ उनमाथि भ्रमण रोक लगाउने पनि नाकाबन्दी प्रस्तावमा थियो जुन पास भएन।

नयाँ नाकाबन्दीको कुराले उत्तर निकै चिढिने अनुमान छ। सोमबारै वैठकको निर्णय आउनुअघि आफूविरुद्ध नाकाबन्दी थपे ‘अमेरिकाले ठूलो मूल्य चुकाउनुपर्नेछ’ भन्दै उत्तरले चेतावनी दिएको थियो।

उत्तरमाथि नयाँ नाकाबन्दीबारे बोल्दै संयुक्त राष्ट्र संघका लागि अमेरिकी दूत निक्की हालेले सोमबारको वैठकमा पनि आफूहरु युद्ध नचाहने दोहोर्‍याएकी थिइन्।

पहिले पनि यसैमा जोड दिदैं आएकी निक्कीले सोमबार नाकाबन्दी पास भएपछि भनिन्, ‘नाकाबन्दीमा कडाइ गर्नुपर्दा हामीलाई पनि खुसी लागेको छैन। हामी युद्धतर्फ मोडिइरहेका होइनौं।’

त्यस्तै दक्षिण कोरियाली प्रवक्ताले भने  यस्ता खेलवाडले नकारात्मक नतिजा ल्याउँछ भन्ने कुरा उत्तरले बझ्नपर्ने बताए। उत्तरका गतिविधिले ऊमाथि नाकाबन्दी झनै चर्किनेबाहेक अरु केही नहुने उनले बताए।

युरोपियन युनियनले पनि उत्तरविरुद्ध नाकाबन्दी लगाउने तयारी गरिरहेको छ। यसबारे कुनै निर्णय भने गरेको छैन।

अमेरिकाको पहलमा पहिले संयुक्त राष्ट्र संघले एक महिनाअघि उत्तर कोरियासहित इरान र रसियामा नयाँ नाकाबन्दी लागू गरेको थियो।

यसपछि उत्तर र अमेरिकाबीच तनाव चर्किएको हो। यस तनावसँगै उत्तरले प्रशान्त महासागर क्षेत्रमा रहेको अमेरिकी भूभाग गुआम टापू हमला गर्ने चेतावनी दिएको थियो।

साउथ चाइना सि, कोरिया र ताइवानसम्मको पहुँच हुनसक्ने सामरीक महत्व भएको गुआम टापूमा अमेरिकी हवाइ सैन्य अड्डा छन्।

उत्तरले पहिलेदेखि नै गुआम आक्रमणको धम्की दिदैं आएकोमा केही साताअघि जापानी आकाश हुँदै एक क्षेप्यास्त्र प्रहार गरेको थियो। उक्त क्षेप्यास्त्र गुआम नजिकै समुन्द्रमा पड्केको थियो। यसलाई उसले अमेरिकाविरुद्ध सैन्य कारवाहीको पहिलो कदम भनेपछि तनाव झनै चर्कियो।

दुई देशबीचको तनाव त्यसपछि विश्वव्यापी हुँदै गएको हो। झन् गत साता उत्तरले राष्ट्र संघको चेतावनी र अन्तर्राष्ट्रिय समुदायको आग्रहका बावजुद शक्तिशाली क्षेप्यास्त्र परीक्षण गर्यो। छिमेकी देशमा कम्पन नै ल्याएको यो परीक्षणमा हाइड्रोजन बम भएको उत्तरले दाबी गर्दै आएको छ।

आफूलाई शक्तिशाली देखाउन उत्तरले आठ वर्षदेखि बारम्बर क्षेप्यास्त्रहरु परीक्षण गर्दै आएको छ।

विगतमा दक्षिण कोरिया र अमेरिकाले आलोचना गर्दै आएका भए पनि जापानी आकाशमार्ग हुँदै क्षेप्यास्त्र परीक्षण भएपछि जापानले तत्काल संयुक्त राष्ट्र संघलाई सुरक्षा परिषद वैठक बोलाउन आग्रह गरेको थियो।

यसैबीच गतसाताको शक्तिशाली क्षेप्यास्त्र परीक्षण पश्चात् भने परिस्थितिले गम्भीर रुप लिएको र तत्काल समाधानको बाटो खोज्न पर्ने भन्दै उत्तरमाथि कडाइ गर्नै नयाँ नाकाबन्दी लगाइएको हो।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.