भरतपुरको अन्तिम फैसला अब वडा नम्बर २० ले गर्ने, ३३०० मत निर्णायक हुने


भरतपुर महानगरपालिका, वडा नम्बर २० को गणना गर्न बाँकी ३ हजार ३ सय २ मत नै अब भावी मेयरको निम्ति निर्णायक बन्ने भएको छ।

यसअघि माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछि विवादित भई शुक्रबार पुन: निर्वाचन भएको १९ नम्बर वडाको गणना सकिँदासम्म एमालेका देवी ज्ञवाली २ सय २१ मतले अगाडि छन्। अब यहाँ ज्ञवाली वा उनलाई पछ्याइरहेकी माओवादी-कांग्रेस गठवन्धनकी रेणु दाहालमध्ये को मेयर निर्वाचित हुन्छन् भन्ने वडा नम्बर २० को नतिजाले तय गर्नेछ। स्थानीय पार्टी प्रतिनिधिका अनुसार उक्त वडाको मतगणना भर्खरै सुरु भएको छ।

भरतपुर महानगरको अन्तिम चुनावी परिणाम आउन अब यही एउटा वडाको मतगणना बाँकी छ। यहाँ ४ हजार ३ सय ४१ मतदाता रहेकामा ३ हजार ३ सय २ मत खसेका थिए। अघिल्लोपटक १९ वडाको गणना हुँदाहुँदै विवाद उब्जेपछि २० वडाको गणना पनि रोकिएको थियो। भरतपुरमा १९ र २० वडा भनेका लगभग सडक वारि र पारिजस्तै छन्।

गणना जारी रहेको यो वडामा पनि नेपाली कांग्रेस र एमालेकै पकड बढी छ। माओवादी केन्द्र तेस्रो स्थानमा रहे पनि यहाँ उनीहरु १९ नम्बर वडाको तुलनमा बलियो छन्। यस आधारमा मेयरका दुवै उम्मेदवारले अन्य वडामा जस्तै यहाँ पनि नेपाली कांग्रेसकै मतको भर पर्नुपर्छ।

एमालेले आफ्नो मतका अतिरिक्त कांग्रेसबाट माओवादीलाई जाने भोट जति काट्न सक्यो ज्ञवाली उति बलियो हुँदै जानेछन्। दाहालको स्थिति पनि यही हो। कांग्रेससँग गठवन्धन गरेर मेयरमा भिडिरहेकी दाहाललाई जति बढी कांग्रेसीको भोट पर्यो, उनी मेयर सपनामा उति नजिक पुग्नेछिन्। अहिलेकै रफ्तारमा गणना भए आइतबार दिउँसोसम्म यो दोधार स्थिति अन्त्य भई चुनाव भएको झन्डै तीन महिनापछि भरतपुरले मेयर पाउनेछ।

हुन त पुन: निर्वाचन भएको १९ नम्बर वडाको मत गनिसक्दा ज्ञवालीले अघिल्लोपटक पाएको मत पनि सबै सुरक्षित गर्न सकेको देखिएन। दाहालले भने कांग्रेसका ‘रूष्ट’ मत र एमालेका पनि केही मत तान्न सफल भएकी छन्। यहाँ नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ। कांग्रेसका विजयी वडाध्यक्ष उम्मेदवार कर्णबहादुर गुरूङले १४७६ मत ल्याएका छन् भने उनका निकट प्रतिद्वन्द्वी एमालेका प्रकाश तामाङले १०९७ मत पाए।

यही वडाबाट ज्ञवालीले ९६६ मत पाएका छन्। एमालेका वडाध्यक्षले पाएकोभन्दा उनको मत १३१ कम हो। यसले वडाध्यक्षमा एमालेलाई गएको केही मतदाताको मत दाहालले तानेको देखिन्छ।

त्यस्तै कांग्रेसका वडाध्यक्षको भन्दा माओवादी केन्द्रकी दाहालले ५३ मत बढी पाएकी छन्। उनले यो वडाबाट १५२९ मत पाइन्।

यसरी रेणुले १९ नम्बर वडाको यसपालिको मतदानमा आफ्नो पक्षमा धेरै मत बढाएकी भए पनि उनले देवीसँगको अन्तर पूर्ति गर्न सकेकी छैनन्। १९ नम्बर वडाको मत गन्नुअघि देवी र रेणुको अग्रता ८६४ थियो, अहिले २२१ मा झरेको छ। यसले भरतपुर निर्वाचन अझ रोचक मोडमा पुगेको छ। मेयरको अन्तिम टुंगो लगाउने जिम्मा अब मतगणनाको अन्तिम पारीमा वडा नम्बर २० ले पाएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.