प्रतिनिधिसभा निर्वाचनको मतगणना स्थल सुरक्षित गर्नको लागि रूपन्देहीमा १० फिट अग्लो तार जाली लगाइएको छ।
रूपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतका अनुसार रूपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रमा मतपत्र जोगाउनको लागि १० फिट अग्लो तार जाली लगाएर मतगणनालाई व्यवस्थित गर्न लागिएको हो।
रूपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ मा देवदह आदर्श बहुमुखी क्याम्पस सित्तलनगर, क्षेत्र नम्बर २ मा बुटवल उपमहानगरपालिकाको वडा नं ११ को कार्यालय देवीनगर, निर्वाचन क्षेत्र नम्बर ३ भैरहवास्थित भैरहवा नमूना माध्यमिक विद्यालय, क्षेत्र नं ४ मा कोटहीमाई गाउँपालिकाको कार्यालयको सभा हल र क्षेत्र नं ५ मा गैडहवा गाउँपालिका कार्यालयलाई मतगणना स्थल तोकिएको छ।
मुख्य निर्वाचन अधिकृत बस्नेतका अनुसार मतपत्र जोगाउन समस्या नहुने गरेर मतगणनाको व्यवस्थापन गरिएको हो।
विद्युत् आपूर्ति सहज बनाउन तार जालीको अगाडि जोडिएको बत्ती चार्ज हुने किसिमको जडान गरिएको छ भने मतगणना परिसरमा सिसी टिभी क्यामरा पनि जडान गरिएको उनले जानकारी दिए।
मतगणनाको क्रममा मतगणनामा खटिएका कर्मचारी, सुरक्षाकर्मी बाहेक अरू कसैलाई तार जाली भित्र छिर्न नपाउने उनले बताए।
उनका अनुसार उम्मेदवारका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूलाई तार जाली बाहिरबाट हेर्न दिइने व्यवस्था मिलाइएको छ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरको मतगणनाका क्रममा तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनु दाहालका प्रतिनिधिले मतपत्र मुखमा हालेपछि देशभरि नै मतगणना स्थलमा तार जाली लगाएर व्यवस्थापन गर्न थालिएको हो।