सेतोपाटीसँग सम्बन्धित दुई वटै रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
मंगलबार न्यायाधीशहरू हरिप्रसाद फुयाल र नृपध्वज निरौलाको इजलासले सेतोपाटीसँग सम्बन्धित दुई वटै रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।
निर्वाचन पूर्वप्रकाशन गर्ने निर्वाचन विश्लेषणविरूद्ध प्रेस काउन्सिल र निर्वाचन आयोगले पत्र काटेपछि सेतोपाटीका प्रधान सम्पादक अमित ढकालले फागुन १४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
सेतोपाटीले निर्वाचन विश्लेषण हटाउन लगाउने र प्रकाशन हुन लागेका विश्लेषण प्रकाशन गर्न नरोक्न भन्दै अन्तरिम आदेशको माग गरिएको थियो।
त्यसैगरी सेतोपाटीविरूद्ध अधिवक्ता आभाष रेग्मी सहितले यस्ता सामग्री हटाउन र प्रकाशन हुनबाट रोक लगाउनु भन्दै अन्तरिम आदेश जारी गर्न माग गरेका थिए।
यी दुबै रिटमा मंगलबार न्यायाधीशहरू फुयाल र निरौलाको इजलासले मौन अवधि सुरू भइसकेको सन्दर्भमा अन्तरिम आदेश जारी गरिरहन नपर्ने आदेश सुनाएको हो।
‘मौन अवधि सुरू भइसक्यो। अब अन्तरिम आदेश जारी गरिरहन परेन,’ न्यायाधीश फुयालले इजलासमा भनेका थिए।
यसअघि फागुन १५ गते सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले अन्तरिम आदेशका लागि दुबै पक्षलाई उपस्थित हुन आदेश दिएको थियो।
त्यसैगरी दुबै पक्षका विपक्षीहरूका नाममा कारण देखाउ आदेश जारी गरेको थियो।