जुम्लाको तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलमाथि कुटपिट भएको छ।
सोमबार साँझ ५ बजे लिताकोटस्थित घरमा छिमेकीहरूले कुटपिट गरेको उपाध्यक्ष रेवती रावलले जानकारी दिइन्।
उनका अनुसार एक छिमेकी परिवारले लेनदेनको विषयमा सबै कुरा नबुझी आएर आफूमाथि कुटपिट गरेको हो।
'उनीहरूसँग लेनदेनको कुरा थियो जुन सकिसकेको थियो,' उनले भनिन्, 'मैले पैसा दिइसकेको थिएँ तर परिवारमा जानकारी गराएको रहेनछ। त्यसैले मलाई कुटपिट गरे। उनीहरूले मादक पदार्थ सेवन गरेर मेरो घरमा छिरेका थिए।'
हाल रावल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छिन्।
घटनापछि उनले मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दिइसकेको बताइन्।