बाँके क्षेत्र–२ मा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि २० जना उम्मेदवार मैदानमा खडा छन्।
स्वतन्त्र रूपमा ५० वर्षीय मनोजकुमार चौधरी, ३७ वर्षीय शौभाग्यजंग शाह र ३७ वर्ष विपेन्द्र लामा तामाङ उम्मेदवार छन्।
प्रमुख राजनीतिक दलहरूमध्ये नेपाली कांग्रेसका ५० सुधान्सु कोइराला, नेकपा (एमाले) का ४६ वर्षीय मोहम्मद इस्तियाक राई, राष्ट्रिय स्वतन्त्र पार्टीका ४३ वर्षीय विवेककुमार श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका ३७ वर्षीय दिपेन्द्र विष्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४८ वर्षीय ऋषिराज देवकोटा प्रतिस्पर्धामा छन्।
त्यस्तै, आम जनता पार्टीका ४४ वर्षीय अब्दुल उमर साई, राष्ट्रिय जनमत पार्टीका ४० वर्षीय इरफान अहमद शेख, जय मातृभूमि पार्टीका ५८ वर्षीय गोपालप्रसाद गिरी, जनता समाजवादी पार्टी नेपालका ४८ वर्षीय कमरूद्धिन राई, राष्ट्रिय जनमोर्चाका ५४ वर्षीय जगदिश ढकाल उम्मेदवार छन्।
उज्यालो नेपाल पार्टीका ५८ वर्षीय शैलेन्द्रकुमार कर्ण, राष्ट्रिय एकता दलका ४१ वर्षीय सीताराम यादव, नेपाल मजदुर किसान पार्टीका ४८ वर्षीय प्रकाश शाह, नेपाल कम्युनिष्ट पार्टीका ४५ वर्षीय महेन्द्र प्रकाश चन्द, प्रगतिशील लोकतान्त्रिक पार्टीका ५३ वर्षीय माजिद अलि शेष, श्रम संस्कृति पार्टीका ४२ वर्षीय रामचरण चौधरी र जनमत पार्टीका ३४ वर्षीय मो.आजाद साई उम्मेदवार छन्।
बाँके–२ मा सबभन्दा बढी उमेरका उज्यालो नेपाल पार्टीका ५८ वर्षीय शैलेन्द्रकुमार कर्ण छन् भने जनमत पार्टीका ३४ वर्षीय मो.आजाद साई सबभन्दा कान्छा उम्मेदवार हुन्।
हाल एमाले उम्मेदवार इस्तियाकको यो पाँचौं संघर्ष हो।
कांग्रेसका ५० वर्षीय सुधान्सु कोइराला बाँके २ मा पहिलो पटक निर्वाचनमा भिड्दै छन्। ठूलो बुवा सुशील २०७० फागुन १३ मा नेपालको ३७ औं प्रधानमन्त्री भएपछि भतिज सुधान्सु बैंकको जागिर छोडेर सघाउन सचिवालयमा गएका थिए। यद्यपि सुधान्सुको परिवारिक पृष्ठभूमि पूर्ण रूपमा राजनीतिक हो। उनका स्वर्गीय पिता डा. अरूण कोइराला र आमा किरण कोइराला दुबै जना कांग्रेस बाँकेका पूर्वपार्टी सभापति हुन्। त्यो बेला सुरूमा सुधान्सु तरूण दलको केन्द्रीय प्रतिनिधि बनेका थिए। उनी पार्टीको १३ औं महाधिवेशनबाट पार्टी जिल्ला सदस्य र १४ औं महाधिवेशनबाट कांग्रेसको जिल्ला सचिवमा निर्वाचित भएका थिए। सुधान्सु बिपी अध्ययन प्रतिष्ठान बाँकेका अध्यक्ष पनि हुन्।
स्वतन्त्र पार्टीका विवेककुमार श्रेष्ठ व्यापारिक पृष्ठभूमिका हुन्। उनको खेलकुद क्षेत्रमा योगदान छ।
नेकपाका उम्मेदवार दिपेन्द्र विष्टको पृष्ठभूमि पनि व्यापार नै हो। नेपालगंजमा उनको नाम र पहिचान छ। तर, दुरदराजमा कमै छ। त्यसमाथि पछिल्लो राजनीतिक समीकरणपछि नेकपा बनेको हो। तारा चुनाव चिह्न र उम्मेदवार दुवै नयाँ हुन्।
२०७९ मा धवलले जितेको यो क्षेत्रमा राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटा उम्मेदवार छन्। धवलको जस्तो भरोसा दिलाउन देवकोटा सक्छन् कि सक्दैनन्? त्यो चुनावमा देखिनेछ।
बाँके–२ मा फागुन २१ गतेको निर्वाचनका लागि कुल मतदाता एक लाख आठ हजार दुई सय ९० जना छन्। जसमध्ये ५७११७ पुरूष, ५११६७ महिला र ६ जना अन्य मतदाता छन्। यहाँ १८ देखि ४० वर्ष उमेर समूहका मतदाता ४५ प्रतिशत छन्। त्यसमध्ये पनि सबभन्दा धेरै २० देखि ४० वर्षका ३६ प्रतिशत, ४१ देखि ६० वर्षका ३५ प्रतिशत, ६० वर्षभन्दा माथिका १८ र १८ देखि २५ वर्षका ९ प्रतिशत मतदाता छन्।
यो निर्वाचन क्षेत्रमा जम्मा दुई पालिका मात्रै पर्छन्। डुडुवा गाउँपालिका र नेपालगञ्ज उपमहानगर।
डुडुवामा ६ वटा मात्रै छन् भने नेपालगंजमा २३ वडाहरूमध्ये वडा नं. १६ र १७ नम्बर बाहेक अन्य २१ वडा बाँके क्षेत्र नं. २ मा पर्छन्। डुडुवाको प्रमुख/ उपप्रमुखसहित वडा नं. १ कांग्रेसले जितेको छ। एमालेले ५ र ६ र जसपा नेपालले २, ३ र ४ वडाहरू जितेको छ। नेपालगंजमा मेयर कांग्रेस र उपमेयर जसपा नेपालले जितेका थिए। तर, हाल उपमेयर पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनेका छन्। नेपालगंजका २१ वडाहरूमध्ये जसपा नेपालले सबभन्दा धेरै ६ वडाहरू जितेको छ। उसले ५,१३,१४,१५,२०,२२ नम्बर वडाहरू जितेको छ। त्यसपछि एमालेले १,६,७,९,१८, कांग्रेसले १२,१९,२१,२३, माओवादीले ३,४,११, राप्रपाले २,८,१०, वडाहरू जितेको छन्।
बाँके–२ मा २०७९ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशम्शेर राणा २९५७७ मत प्राप्त गरी निर्वाचित भएका थिए। निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका मोहमद इस्तियाक राईले २३५२० र तेस्रो स्थानका कांग्रेसका सुदीप नरसिंह राणाले जम्मा ४४०३ मत मात्रै प्राप्त गरेका थिए।
२०७९ मा प्रदेशसभा तर्फ २ (क) मा जनता समाजवादी पार्टीका भण्डारीलाल यादव ११५०४ मत प्राप्त गरी विजयी भएका थिए। निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार विजयबहादुर यादवले ९३५८ मत प्राप्त गर्दा कांग्रेसका राजकुमार कुर्मीले ८७३१ मत पाएका थिए।
२ (ख) मा पनि जसपाकै आदेशकुमार अग्रवाल ८२४६ मत प्राप्त गरी निर्वाचित भएका थिए। एमालेका निकर गुरूङले ६७०९ र कांग्रेसका सुरेन्द्र हमालले ६३४७ मत पाएका थिए।
बाँके २ मा २०७९ को निर्वाचनमा पार्टीलाई प्राप्त समानुपातिक तर्फको सबैभन्दा धेरै २० हजार २५१ मत जसपाले पाएको छ। राप्रपाले ११ हजार ३८० मत र काँग्रेसले १० हजार १९८ मत पाएको छ। राप्रपालाई सघाएको एमालेको मत ९ हजार ३४५ मत मात्रै थियो।
विगत फर्केर हेर्दा बाँकेका तीन वटै निर्वाचन क्षेत्र २०४८ र २०५६ मा नेपाली कांग्रेसले क्लिनस्विप गरेको थियो। ती दुबै निर्वाचनमा कांग्रेसबाट सुशिल कोइराला बाँके २ बाटै निर्वाचित भएका थिए। २०५१ को मध्यावधिको निर्वाचनमा भने तीन वटै सिट जितेर राप्रपाले आफ्नो झन्डा फहराएको थियो।
मुलुकमा गणतन्त्र स्थापनापछि भने बाँकेमा कुनै पार्टीले फेरि त्यसैगरी क्लिनस्विप गर्न सकेका छैनन्। त्यस्ता परिणाम मिस्रित आएका छन्।
२०७० को दोस्रो संविधानसभा चुनावमा १ ठाउँमा कांग्रेस र ३ ठाउँमा एमालेले जितेको थियो। २०७० मा कांग्रेसका सुशील कोइरालाले धवललाई पराजित गरेका थिए। त्यो बेला बाँके– २ नम्बर निर्वाचन क्षेत्र ३ अन्तर्गत थियो। बाँकेमा त्यसपछि तीन निर्वाचन क्षेत्र कायम गरिएको थियो। २०७४ को संघीय संसद्को चुनावमा एमाले, माओवादी र संघीय समाजवादी फोरमले १/१ सिट जितेका थिए।
बाँके–२ मा २०७४ इस्तियाक राईले २१ हजार ५ सय ७५ मत प्राप्त गरी निर्वाचित हुँदा एमाले र माओवादी गठबन्धनका उम्मेदवार पशुपति दयाल मिश्रले १५ हजार ९ सय ५१ मत र राप्रपा–नेपाली कांग्रेसको गठबन्धनका राप्रपाका ओमप्रकाश आजादले ११ हजार ६ सय २२ मत ल्याएका थिए। त्यो निर्वाचनमा ५४ हजार २ सय ७३ मत सदर भएको थियो।
कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री सुशील कोइराला २०४८, २०५६ र २०७० मा गरी तीन पटक बाँके–२ क्षेत्रबाटै निर्वाचित भएका थिए। २०७० मा राप्रपाका धवल शम्शेर राणालाई सुशीलले पराजित गरेका थिए। यद्यपी २०५१ , २०६४ मा सुशील पनि यही क्षेत्रमा पराजय व्यहोर्नु परेको थियो। धवलले २०५४ मा एमालेबाट र २०७४ मा राप्रपाबाट नेपालगंजको मेयर जितेका थिए। तर, धवल पनि यही क्षेत्रमा २०५१, २०६४ र २०७० को संसदीय निर्वाचनमा पराजित भएका थिए। त्यो बीचमा उनी कहिले राप्रपा– एमाले र फेरि राप्रपाबाट चुनाव लडेका थिए।
बाँके–२ मा विगत नियाल्दा कहिले सुशीलले धवललाई धवलले इस्तियाकलाई र इस्तियाकले सुशीललाई पराजित गरेका छन्।
हालसम्मको यहाँको अवस्था विश्लेषण गर्दा यहाँका मतदाताले हरेक पटक मत परिवर्तन गरेका उदाहरण छन्। यहाँका मतदाता दलभन्दा पनि बलियो उम्मेदवार बढी हेर्छन् भन्ने विगतका नतिजाले पुष्टि हुन्छ।
कांग्रेसका तत्कालीन सभापति सुशीलको अवसानपछि सोही भरोसाका साथ २०७९ मा यहाँका मतदाताले राप्रपाका धवललाई विजयी गरेका थिए। त्यतिखेर जसपा नेपालका उम्मेदवार तथा पूर्वमन्त्री इस्तियाक पराजित भएका थिए। तर, धवल यो पटक मैदानमा छैनन्। इस्तियाक भने मैदानमा छन्। इस्तियाक यो पटक एमालेका उम्मेदवार हुन्।
राप्रपाबाट राजनीति यात्रा सुरू गरेका इस्तियाकले मधेसी जनअधिकार फोरम, जसपा हुँदै पछिल्लो समय एमाले प्रवेश गरेका छन्।
पछिल्लो समय इस्तियाकले जसपा छोडेर एमाले रोजेपछि जनता समाजवादीले कमरुद्दिन राईलाई चुनावमा उतारेको छ।
२०७९ को चुनावमा कांग्रेस, एमाले र राप्रपाले समान १/१ सिट जितेका थिए। रास्वपाको पनि जबरजस्त 'इन्ट्री' ले यहाँको चुनावी माहोल थप रोचक बनेको छ।