मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विश्वासको मत पाएका छन्।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा उपस्थित सबै सदस्यहरूले उनलाई विश्वासको मत दिएका हुन्।
उपस्थित प्रदेशसभा सदस्यको संख्या ९२ थियो।
मुख्यमन्त्री कृष्ण प्रसादले संविधानको धारा १६४ को उपधारा ४ बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न राखेको प्रस्तावको पक्षमा अर्थात ‘हुन्छ’ भन्ने पक्षमा पूरै ९२ मत नै खसेको थियो।
१०७ सदस्य रहेको मधेस प्रदेशसभामा मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ५४ मत आवश्यक पर्थ्यो।
उपसभामुख बबिता कुमारी राउत ईशरले प्रदेश मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभामा विश्वासको मतका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको सदनलाई जानकारी दिइन्।
सत्तापक्षीय सम्पूर्ण दलले मात्रै नभई प्रमुख प्रतिपक्षी नेकपा एमाले सहितका दलले यादवलाई विश्वासका मत दिएका छन्।
मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरिसकेपछि प्रदेशसभा बैठक पुस ६ गते आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगन गरिएको छ।
६ दलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता यादव मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए। उनले मंसिर २१ गते पद तथा गोपनीयताको शपथ लिएका हुन्।
आफूसँगै उनले नेपाली कांग्रेस, जनमत र नेकपा एकीकृत समाजवादीबाट तीन मन्त्रीलाई शपथ खुवाएका थिए।
उनले मंसिर २९ गते नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीलाई समेत सरकारमा लगेका थिए। उनीसँग हाल ६ सदस्यीय मन्त्रीमण्डल छ भने ६ वटा मन्त्रालयले पूर्णता पाउन बाँकी छ।