नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालिको महाधिवेशन आफ्नो निर्देशनात्मक मन्तव्यपछि बिनाछलफल सकिने बताएका छन्।
'यसपल्ट मैले एकतर्फी रूपमा महाधिवेशनलाई सम्बोधन गर्ने हो। मेरो उद्घाटन मन्तव्य आउँछ, त्यत्ति हो। त्यसमा पनि छलफल हुँदैन,' एमालेको केन्द्रीय शिक्षा तथा मानव स्रोत विभागले शुक्रबार आयोजना गरेको विद्वत वर्गको अन्तरसंवाद कार्यक्रममा ओलीले भने।
उनले आफ्नो निर्देशनात्मक सम्बोधनपछि त्यसमा छलफल गर्न नभ्याइने बताएका छन्।
'भ्यायौं भने महाधिवेशन पाँच-सात दिन जान्छ। त्यो हामी धान्न सक्दैनौं,' उनले भने।
अहिलेको अवस्थामा त्यति लामो समय महाधिवेशन गर्न आवश्यक नभएको उल्लेख गर्दै ओलीले भने, 'अहिले विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्नेछ। त्यसपछि हामी सुविस्तासँग नीति निर्माणको काम गरौंला, कार्यान्वयन गरौंला। अहिले मुख्य काम विघटित प्रतिनिधिसभा पुनर्स्थापना हो। राष्ट्रिय राजनीतिको चुरो कुरा यही हो। उपलब्धि हासिल गर्नुपर्ने यहीँनिर छ। प्रयास गर्नुपर्ने विन्दु यही हो। हामी अहिले यसैमा जोड दिन्छौं।'
नेतृत्व चयन र पार्टी पुनर्गठनको कुरा उठाउँदै केही नेताहरूले उपद्रव मच्चाएकाले मात्र महाधिवेशन एक वर्षअगाडि सारेको उनले बताए।
'केही साथीहरूले नेतृत्व चयनको कुरा उठाएको तपाईंहरूले सुन्नुभएकै छ। पार्टीमा पुनर्गठन चाहियो भनेर एकथरी साथीहरू धेरै कराएकाले, अनुशासनहीन ढंगले उपद्रव मच्चाएकाले एक वर्षपछि गरे हुने महाधिवेशन अगाडि सारेका हौं,' उनले भने।
'काम नगर्नेहरू गए हुन्छ, काम गर्ने बसे हुन्छ। कसले काम गरेको छ, कसले गरेको छैन भन्ने कार्यकर्ताहरूले देखेका छन्,' उनले अगाडि भने, 'को अड्या छ, को लड्या छ, कसले काम गरेको छ, कसले गरेको छैन, कार्यकर्ताहरूले मूल्यांकन गर्छन्।'