नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री आफताब आलमको निधन भएको छ।
एक महिनाभन्दा लामो समयदेखि सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत रहेका ६३ वर्षीय आलमको गएराति निधन भएको हो।
अस्पतालका प्रशासन प्रमुख नारायणप्रसाद दाहालका अनुसार गएराति २:५९ बजे आलमको निधन भएको हो।
उनी दसैंअघि देखि नै अस्पताल भर्ना भएका थिए।
उनी मिर्गौला र उच्च रक्तचापको बिरामी थिए। जेठ १४ गते नख्खु कारागारबाट छुटेपछि उनलाई मस्तिष्काघात भएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गरिएको थियो।
अस्पताल लगिएको १०/१२ दिनपछि नै उनको भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको प्रशासन प्रमुख दाहालले जानकारी दिए।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको साबिक राजपुर गाविस-४ फरहदवामा बम बिस्फोट गराएको र त्यसक्रममा केहीलाई जिउँदै इँटाभट्टामा लगेर जलाएको आरोप कांग्रेस सांसद आलमसहितका व्यक्तिमाथि छ।
आलमका काका शेख इद्रिसको गोठमा चैत २७ गते साँझ साढे ६ बजे बम विस्फोट भएको थियो। विस्फोटमा परी गोठमा भएका केही व्यक्तिको मृत्यु र झन्डै दुई दर्जन घाइते भएको आशंका थियो। मृतक र घाइतेलाई नजिकैको इँटाभट्टाको भुंग्रोमा हालेर जलाइएको आरोप आलममाथि लागेको थियो।
प्रहरीको अनुसन्धानको क्रममा आलमको निर्देशनमा घटना लुकाउने उद्देश्यले विस्फोटमा परी मृत्यु भएका तथा घाइते भएका मानिसहरूलाई ट्र्याक्टरमा राखी इँटा भट्टामा जलाएको देखिएको थियो।
आलम तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको सरकारमा २०५४ सालमा श्रम राज्यमन्त्री भएका थिए।
त्यसपछि २०५५ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा आलम वन राज्यमन्त्री भएका थिए।
२०५६ मा कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा स्थानीय विकास राज्यमन्त्री भएका थिए। त्यसपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा भूमिसुधार मन्त्री बने।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए।
प्रचण्ड नेतृत्वको सरकार ढलेर माधवकुमार नेपाल नेतृत्वमा बनेको सरकारमा आलम श्रम तथा यातायात मन्त्री बनेका थिए। उनी २०६७ मा कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएका थिए।