नेपाली कांग्रेसका नेता शेखर कोइरालाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित नेताहरूसँग छलफल गरेका छन्।
कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा आज बिहान भएको छलफलमा संस्थापनइतर पदाधिकारीहरूलगायत नेताहरू सहभागी थिए।
नेता कोइराला, उपसभापति धनराज गुरूङ, महामन्त्रीद्वय थापा र शर्मा, सहमहामन्त्री जीवन परियार बद्रीप्रसाद पाण्डेबीच छलफल भएको नेता कोइरालाको सचिवालयले जानकारी दिएको छ।
पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरी नियमित महाधिवेशन कार्यतालिका ल्याउने विषयमा उनीहरूबीच छलफल भएको हो।
छलफलमा छिटो नियमित महाधिवेशन कार्यतालिका ल्याउनुपर्ने विषयमा कुरा उठेको थियो। आजकै केन्द्रीय समिति बैठकमा कार्यतालिका पेस गरिनुपर्ने विषयमा नेताहरूबीच कुराकानी भएको छ।
‘चुनावअघि नै महाधिवेशन गरेर जानुपर्छ भन्ने निष्कर्ष रह्यो,’ छलफलमा सहभागी एक पदाधिकारीले भने, ‘सकेसम्म मंसिरभित्रै र ढिलोमा पुस १६ गतेदेखि सुरू गर्ने गरी नियमित महाधिवेशन कार्यतालिका ल्याउनुपर्छ, त्यसभन्दा ढिलो गर्न हुँदैन भन्ने निष्कर्षमा हामी छौं।’
यो छलफलपछि महामन्त्रीद्वय थापा र शर्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्का भेट्न पुगेका छन्। आज दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्दैछ।
सभापति शेरबहादुर देउवा पक्षले चुनावअघि महाधिवेशन गर्न नसकिने र विशेष महाधिवेशनमा पनि जान नसकिने बताइरहेका छन्।
महामन्त्री थापा बिहीबारको केन्द्रीय समितिमा अनुपस्थित रहेका थिए।
कांग्रेसमा मंसिरभित्रै नियमित महाधिवेशनको माग भइरहेको छ।
साथै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसमेत बुझाएका थिए।
यो पनि: