पूर्वऊर्जामन्त्री दीपक खड्काले आफू भागेको भनेर सरकारले गलत प्रचार गरेको बताएका छन्।
बूढानीलकण्ठस्थित आगो लागेको आफ्नो घरको कम्पाउन्डमा पत्रकारहरूसँग कुराकानी गर्दै खड्काले आफूविरुद्ध कुनै आरोप नलागेको भए पनि गृहमन्त्रीले भाग्यो भनेर गलत प्रचार गरेको बताएका हुन्।
उनले राज्यले गल्ती गर्यौ र यहाँ जान पाउँदैनौं नभनुन्जेल जो जतासुकै जान सक्ने पनि बताए।
'सरकारले मलाई चिठी काटेको छ? वारेन्ट जारी भएको छ? कहिँ नजानू भनेको छ? मेरो के रोक गरेको छ र म भागेँ भन्ने? सरकारले त्यसो भन्न मिल्छ? गृहमन्त्री त कानुनको विद्यार्थी पनि हो,' उनले भने।
खड्काले भदौ २४ मा प्रदर्शनकारीहरूले आफ्नो घरमा आगजनी गरेपछि सेनाले सुरक्षा दिएर राखेको बताए।
७/८ दिन सेनाकै सुरक्षामा बसेर बाहिर निस्केपछि सामान्य भेटघाटमा व्यस्त भएको र परिवारसहित चितवन गएको पनि बताए।
चितवन जाँदा छोरालाई डेंगी भएपछि भारत गएको उनले बताए।
'११ दिन मेदान्त हस्पिटलमा उपचार क्रममा बसेको छु बच्चासहित। मलाई पनि डेंगी भयो। श्रीमती उतै छिन्। त्यो छोडेर समाजमा दिग्भ्रमित पारेर सरकार एक जनाको पछि लाग्दा सिंगो समाज भ्रमित भयो। दुःख लागेर आएँ,' उनले पत्रकारहरूसँग भने।
गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार नयाँ पत्रिकालाई दिएको अन्तर्वार्तामा तत्कालीन ऊर्जामन्त्री देश छाडेर भागिसकेको र अरू व्यक्तिहरू पनि भाग्ने तयारीमा रहेको बताएका थिए।
यो पनिः तत्कालीन ऊर्जामन्त्री भागिसके, अरू पनि भाग्न खोज्दै छन्: गृहमन्त्री अर्याल