नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको सर्वोच्च निकाय केन्द्रीय समिति बैठक आजदेखि सञ्चालन गर्न थालेका छन्।
सभापति शेरबहादुर देउवाको कुर्सी खाली राखेर खड्काले केन्द्रीय समिति बैठक सुरू गरेका हुन्।
सभापति देउवाले असोज २८ गते केन्द्रीय समितिमा उपस्थित भएर उपसभापति खड्कालाई कार्यवाहक सभापति तोकेको घोषणा गरेका थिए।
भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि कांग्रेसभित्र नीति र नेतृत्व परिवर्तनको बहस चुलिएका बेला सभापति देउवाले पार्टीका नियमित गतिविधि सञ्चालनको जिम्मेवारी कार्यवाहक सभापति खड्कालाई दिएका हुन्।
७९ वर्षीय देउवाले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेका ७२ वर्षीय खड्का लामो समयदेखि उनकानिकट सारथि हुन्।
कांग्रेसको १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य रहेका खड्कालाई सभापति देउवाले महामन्त्री मनोनीत गरेका थिए।
साथै १४ औं महाधिवेशनमा भने सभापति देउवाकै प्यानलबाट उम्मेदवार रहेर खड्का उपसभापति जितेका थिए।
२०७८ पुस १५ गते कांग्रेसले वरीयता तोक्दा सभापति देउवापछि उपसभापति खड्काको नाम थियो। अहिले पनि यही वरीयता कायम छ।
खड्का राजनीतिक रूपमा कांग्रेसका संस्थापक नेताहरू बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईबाट दीक्षित थिए। उनी आफूलाई कृष्णप्रसादका अनुयायीसमेत बताउँछन्।
खड्का अहिले पनि ललितपुरको बाँडे गाउँस्थित 'भट्टराई आश्रम' गइरहन्छन् र उनको पूर्णकदको शालिकमा ढोग गर्छन्, धुपबत्ती र फूलमाला चढाउँछन्। कुनै राजनीतिक निर्णय लिनुअघि वा केही उपलब्धि भएपछि सबभन्दा पहिला बाँडे गाउँ आश्रम जाने गरेको खड्का निकट नेताहरू बताउँछन्।
यसपालि कार्यवाहक सभापति भइसकेपछि उनी बाँडे गाउँ गएका छैनन्। तर चाँडै नै जाने तयारीमा रहेको खड्काका स्वकीय सचिव गौतम बिसीले बताए।
'उहाँ किसुनजी आश्रम जाने तयारीमै हुनुहुन्छ, पार्टीको एकपछि अर्को बैठक भएकाले समय मिलेको छैन, छिट्टै जानुहुन्छ,' उनले भने। जेन–जी आन्दोलन क्रममा प्रदर्शनकारीहरूले सरकारी तथा निजी संस्थाहरू सँगसँगै बाँडे गाउँको भट्टराई आश्रममा पनि आगजनी र तोडफोड गरेका थिए।
देउवाको राजनीतिक उदयमा कृष्णप्रसादको आशीर्वादले ठूलो भूमिका खेलेको थियो। उनी गिरिजाप्रसाद कोइरालासँग सम्बन्ध बिग्रेपछि कृष्णप्रसादको नजिक पुगेका थिए। खड्का भने पहिलेदेखि नै भट्टराई निकट थिए। गणेशमान र कृष्णप्रसाद दुवैसँग उनको निकट सम्बन्ध थियो।
त्यही भएर खड्कालाई देउवाभन्दा पुरानो संस्थापन मान्नेहरू पार्टीभित्रै छन्। खड्का पनि आफूलाई यो धारको सच्चा उत्तराधिकारी मान्छन्।
देउवा र खड्का १०औं महाधिवेशनदेखि नै एकै समूहमा छन्। पार्टी फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनाउँदा पनि उनीहरू एकै समूहमा रहे।
उनीहरूको आपसी सम्बन्ध पनि बेलाबखतबाहेक प्राय: सुमधुर नै रह्यो। कुनै कुनै घटनामा मतभेद भए पनि खड्काले कहिल्यै देउवाको साथ छाडेनन्। त्यसैले पनि देउवाले पछिल्लो समय खड्काकै कुरा बढी सुन्न थालेको कांग्रेस नेताहरू बताउँछन्।
'कुनै बेला सम्बन्ध धेरै राम्रो त केही घटनामा मतभेद पनि रह्यो होला तर दुवै एकअर्काका परिपूरकजस्तै हुन्,' खड्का निकट एक नेताले भने, 'जेन–जी आन्दोलन नभएको भए पुरानै ७ बुँदे सहमतिअनुसार देउवा प्रधानमन्त्री बन्ने र खड्कालाई कार्यवाहक दिने भन्ने थियो। आन्दोलनपछि खड्काले अलि चाँडै नै कार्यवाहकको जिम्मेवारी पाउनुभयो।'
आफ्नो शारीरिक अस्वस्थताका कारण सभापतिले सक्रिय राजनीति नगर्ने भनेपछि विधानअनुसार पनि उपसभापति कार्यवाहक हुने व्यवस्था छ। त्यही भएर आफूनिकट र विधान अनुसार पनि मिल्ने भएकोले देउवाले खड्काले कार्यवाहक दिएको नेताहरू बताउँछन्।
व्यक्तिगत स्वभाव हेर्दा खड्का सामान्यतया अड्कलेर बोल्छन्। खुलेर लामो कुरा गर्दैनन्। विषयवस्तुलाई छोटकरीमा सरल ढंगले प्रस्तुत गर्ने शैली छ।
अड्कलेर बोले पनि राम्रो वा नराम्रो छुट्याएर समर्थन वा विरोध गर्ने आँट भने देखाउने गरेका छन्। सभापति देउवासँग निकट भए पनि उनले राम्रो काम गर्दा प्रशंसा गर्ने र 'गल्ती' गरेका बेला आलोचना गर्न उनी हिच्किचाएनन्।
चौधौं महाधिवेशनअघि देउवा सचिवालयले 'देउवा मलाई मनपर्छ' भन्ने भिडिओ बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्न थालेको थियो। यसलाई अनावश्यक भनेर खड्काले आलोचना गरे। त्यसपछि त्यस्ता भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्न छाडिएको थियो।
सभापति देउवाले खड्कालाई भरोसा गर्ने र विगतदेखि नै महत्त्वपूर्ण जिम्मेवारी दिने गरेका थिए। देउवा आफू प्रधानमन्त्री हुँदा होस् वा कांग्रेसको समर्थनमा केपी शर्मा ओली वा प्रचण्ड प्रधानमन्त्री हुँदा होस्, खड्का महत्त्वपूर्ण बैठकमा देउवासँगै रहे।
कांग्रेस केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले खड्कासँग जिल्लादेखि केन्द्रसम्म पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभव रहेको बताए।
'उहाँ केन्द्रीय सदस्य, सहमहामन्त्री, महामन्त्री, उपसभापति हुँदै कार्यवाहक सभापति हुनुभएको छ,' उनले भने, 'उहाँ पार्टीमा क्रमश: आफूलाई विकास गर्दै लगेको नेता हो।'
खड्कालाई इमानदार, स्वच्छ छविको र धेरै मन्त्रालयको मन्त्री हुँदा पनि कलंक नलागेको व्यक्तिका रूपमा सबैले चिन्ने गरेको उनले बताए।
आफ्नो राजनीतिक यात्रामा पूर्णबहादुर आठ पटक मन्त्री भए। युवा, खेलकुद तथा संस्कृतिदेखि जनसंख्या तथा वातावरण, वाणिज्यदेखि सूचना तथा सञ्चार र उद्योगदेखि गृह र रक्षा मन्त्रालयसमेत सम्हाले। २०७९ चैतमा उनी उपप्रधान तथा रक्षामन्त्री भएका थिए।
उनले लामो समयदेखि पार्टी संगठनमा काम गर्दै आएका छन्। उनी २०४४ देखि २०४८ सम्म कांग्रेस सुर्खेत सभापति थिए। त्यसयता केन्द्रीय राजनीतिमा सक्रिय छन्।
२०४८ देखि लगातार सुर्खेतबाट चुनाव जित्दै आए पनि उनी २०७४ मा हारेका थिए। २०७९ मंसिरमा सुर्खेत–१ बाट निर्वाचित भए।
'पार्टीमा अन्त्यन्त सक्रियतापूर्वक लाग्न सक्ने, पार्टीको आन्तरिक सारतत्व बुझेको र पार्टीलाई सही ढंगले अघि बढाउन सक्ने क्षमता उहाँमा छ,' केन्द्रीय सदस्य घिमिरेले भने, 'सबैसँग समन्वय गरेर पार्टीलाई अघि बढाउन सक्ने खुबी पनि उहाँसँग छ। त्यस कारण उहाँको कार्यकालमा पार्टीले सही बाटो समात्न सक्छ भन्ने मलाई विश्वास छ।'

केही समयअघि बाँडे गाउँमै पुगेका बेला हामीले पूर्णबहादुर खड्कालाई सोधेका थियौं, 'तपाईं केका लागि किसुनजीको आश्रम धाउनुहुन्छ, शक्ति कि साधना?'
उनको जबाफ थियो, 'किसुनजीसँग २०३४ सालदेखि मेरो साक्षात्कार भयो। कुनै सुख वा दु:ख पर्दा म आश्रम आउँथेँ। कुनै अभियान सञ्चालन गर्नुअघि आशीर्वाद लिन पनि यहीँ आउने गर्थेँ। दु:ख लागेका बेला पीडा बिर्सने मूल आधार नै किसुनजी हुनुहुन्थ्यो।'
भट्टराईको निधनपछि पनि सुखदु:खमा आफू आश्रम पुग्ने गरेको उनले बताएका थिए।
'उहाँको निधनपछि पनि म कुनै सफलता प्राप्त भए वा कुनै दु:ख पर्दा किसुनजीको पूर्णकदको शालिकमा आफूलाई समर्पित गर्दै सुखदु:ख साट्छु,' उनले भनेका थिए।
आफूलाई 'सन्त नेता' भट्टराईको भक्त बताउने खड्का सबैले उनको जीवनबाट प्रेरणा लिनुपर्ने धारणा राख्छन्।
भट्टराईको आदर्श, निष्ठा, अनुशासन र आमनेपाली जनताप्रति समर्पित र अनुशासित हुने व्यवहारको अनुसरण सबैले गर्नुपर्ने खड्काको भनाइ छ।
'सामाजिक र राजनीतिक जीवनमा समर्पित मानिसहरूको जीवन पद्धति कस्तो हुनुपर्छ, उनीहरूको आचार–विचार कस्तो हुनुपर्छ भन्ने कुरा पार्टीका संस्थापकमध्ये एक सन्त नेता किसुनजीबाट हामी सबैले सिक्नुपर्छ,' खड्का सधैं भन्ने गर्छन्।
कांग्रेस नेताहरू पनि भट्टराई र खड्काको जीवनशैलीमा तालमेल भेट्छन्।
जसरी प्रधानमन्त्री निवास बालुवाटारबाट निस्कँदा भट्टराईको साथमा टिनको बाकस, सुराही र छाता मात्र थिए, उपसभापति खड्काले पनि सादगी जीवन अपनाएका छन्। उनी भाइ–बुहारीको घरमा बस्छन्। त्यही घर पनि जेन–जी आन्दोलन क्रममा भदौ २४ गते आगजनीमा परेपछि उनी दु:खी थिए।
'काठमाडौंमा पूर्णबहादुर खड्काको घर छैन भन्यो भने कोही पत्याउँदैन। म के गरूँ? काठमाडौंमा मेरो एक टुक्रा जमिन पनि छैन। तर यो कुरा आज को पत्याउँछ? मेरो यो अवस्था मैले समाजलाई कहिल्यै बुझाउन नसकेको रहेछु,' खड्काले भनेका थिए, 'मेरो भाइको ससुरालीले बनाइदिएको घरमा म बसेको छु, त्यो घर पनि मेरो भन्दै जलाइदिए। त्यो डा. डम्बर खड्का र सन्जुको घर हो, जुन सन्जुको सपनाको मन्दिर थियो। परिवार, श्रीमान र छोराछोरीलाई उनले एउटा नासो छाडेर गएकी थिइन्।'
त्यसपछि खड्काले जेन–जी आन्दोलन क्रममा सुर्खेतमा रहेको आफ्नो पुर्ख्यौली घर पनि आगजनी भएको प्रसंग निकाले।
'मेरी आमाले आजभन्दा ४० वर्षअघि बनाएको घर थियो त्यो। बहुत कम परिवारले पुरानो घर जतनसाथ राख्छन्। हामीले जस्तो घर थियो, त्यसलाई नभत्काएर संग्रहालयका रूपमा राखेका थियौं। बुबाआमाका कपडा, दराज जस्ताको तस्तै जोगाएर राखेका थियौं। चिरकालसम्म राख्ने र त्यो घर नचलाउने भनेर सम्हालेर राखेका थियौं। त्यो घर केका लागि जलाइदिए?' उनले दु:खी हुँदै भनेका थिए।
कार्यवाहक सभापति खड्काले बाबुले बनाएको दुईकोठे अर्को घरको प्रसंग पनि सुनाए।
'अर्को घर बुबाले दुई कोठाको बनाउनुभएको थियो। पछि विष्णु खड्काले त्यो घरलाई चार कोठाको बनाए। त्यो घर बनाउँदा म पनि यहीँ बस्ने हो भनेर चार लाख रूपैयाँ दिएको थिएँ,' उनले भने, 'त्यो घरमा समेत आगजनी गरियो।'
उनले कुनै बेला आफूले सुविधाको गाडी लिएको तर दुई–तीन वर्षपछि १० लाख रूपैयाँ ऋण लागेर बेचिदिएको पनि बताएका छन्।
'त्यसपछि मसँग गाडी थिएन। कतै जानुपरे ट्याक्सी बोलाएर जाने गरेको थिएँ,' उनले भने, 'भाइको ससुरालीले बनाएको घरमा बस्छु। भाइ विष्णुले आफ्नो पौरख र परिश्रमले एउटा गाडी किनेर पठाइदिए, त्यो गाडी चढ्दैछु।'
खड्काले आफ्नो जन्म र बाल्यकालबारे पनि केही कुरा बताएका छन्।
'चप्पल लगाएर काठमाडौं आएका नेता अहिले यस्तो उस्तो भएका छन् भन्ने न्यारेटिभ बनाइएको छ। म मगन्ते र भिग मगुवाको छोरा थिइनँ। मेरी आमा त्यो बेलाको जिम्मलकी छोरी र बुबा मुखिया हुनुहुन्थ्यो। म ५ कक्षा पढ्दै गर्दा मेरे बुबाले मलाई सुट लगाइदिएर काठमाडौं पठाउनुभएको थियो।'
पूर्णबहादुरलाई उनका बाबु प्रेमबहादुरले एउटा लौरो पनि उपहार दिएका थिए। उनी त्यही लौरो बोकेर सुर्खेतका विभिन्न गाउँ जान्छन्। २०४८ सालदेखि नै त्यही लौरो लिएर निर्वाचन क्षेत्र घुम्दै आएका छन्।
उनी त्यो लौरो सुर्खेत क्षेत्र नम्बर १ मा जाँदा मात्र टेक्छन्, अन्यत्र प्रयोग गर्दैनन्।

खड्काले उक्त लौरोको प्रसंगबारे सुर्खेतमा भनेका थिए, 'जब जब म झुप्रा खोलाबाट पूर्व आउँछु, सधैं लट्ठी लिएर आउँछु। यो लट्ठी मैले हिँड्न नसकेर टेक्न वा आड लिन बोकेको होइन। २०४६ सालमा पूर्वतिर जनआन्दोलनको तयारी गरेर आउँदा मलाई जन्म दिने बुबाले यो लट्ठी उपहार दिनुभएको हो।'
त्यति बेला बुबाले भनेको कुरा उनले पटक पटक सुनाउने गरेका छन्।
बुबाले भनेका थिए, 'तिमी जतातिर जाँदैछौ, जुन भूभागतिर जाँदैछौ, त्यहाँका जनता विकासको दृष्टिले अत्यन्त पछाडि परेका छन्। बाटो छैन, खानेपानी छैन, सिँचाइ छैन, पुल छैन, विद्युत छैन, सञ्चार छैन, शिक्षा छैन, स्वास्थ्य छैन। सधैं विकासको अभावबाट त्यस क्षेत्रका जनता ग्रसित छन्।'
बुबाको त्यही भनाइबाट प्रेरित भएर राजनीतिक यात्रामा लागेको उनी बताउने गर्छन्।
त्यही राजनीतिक यात्राकै क्रममा अहिले उनी पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारीमा आइपुगेका छन्।
खड्कालाई कार्यवाहक सभापति बनाइएपछि अब देउवा निकट '६ भाइ' के गर्छन् भन्नेमा पनि सबैको चासो छ।
गत वर्ष फागुन २ गते नै 'अबको सभापति को' भन्दै देउवा निकट नेताहरू बुढानीलकण्ठ निवास पुगेका थिए।
त्यस बेला केही केन्द्रीय सदस्यसहित ११ जना नेता बुढानीलकण्ठ पुगेर देउवा समूहबाट १५औं महाधिवेशनका लागि सभापति उम्मेदवार तय गरेर जान सुझाएका थिए। तर देउवाले केही बोलेका थिएनन्।
त्यसपछि यो समूहका पदाधिकारी र पूर्वपदाधिकारी सम्मिलित ६ सदस्यीय बैठक बस्न थाल्यो। पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, शशांक कोइराला र प्रवक्ता प्रकाशशरण महतबीच धेरै पटक छलफल भए। पछिल्लो छलफल उनीहरूले प्रकाशमान निवास चाक्सीबारीमा असोज ५ गते गरेका थिए।
तर यी ६ भाइको बैठकमा देउवा पक्षकै नेता उपसभापति पूर्णबहादुर खड्का थिएनन्। बरू कार्यवाहक पाएकै भोलिपल्ट बुधबार खड्काले संस्थापन निकट नेताहरूसँग ललितपुरमा छुट्टै छलफल गरेका थिए।
विशेष महाधिवेशन माग गर्न २४८८ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको अवस्थामा कार्यवाहक सभापति खड्काले संस्थापन पक्षका नेताहरूसँग कुराकानी गर्दै अब कसरी अघि जाने भनेर सुझाव मागेका थिए।
छलफलमा गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला लगायत उपस्थित थिए। उनीहरूले नियमित महाधिवेशनमा जान जोड दिएका थिए।
त्यसको केही समयपछि पार्टी केन्द्रीय कार्यालय पुगेर कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशन माग गर्न महाधिवेशन प्रतिनिधिहरूले बुझाएको हस्ताक्षर बुझेका थिए।
सभापति देउवाले कार्यवाहक सभापतिमा खड्कालाई जिम्मेवारी दिएपछि देउवा निकट नेताहरू खड्कालाई नै आगामी सभापतिको उम्मेदवार मानेर अघि जान्छन् कि आ–आफै सभापति उठ्छन्, त्यो अहिलेसम्म यकिन छैन।
चौधौं महाधिवेशनमा पनि सभापतिमा देउवासहित, उनी पक्षकै विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरूङ उठेका थिए। दोस्रो चरणको चुनावमा उनीहरू सबैले देउवालाई नै सहयोग गरेका थिए।
कांग्रेसमा मंसिरभित्रै नियमित वा विशेष महाधिवेशनको बहस छ। केन्द्रीय समितिमा यसबारे छलफल सुरू भएको छ। केन्द्रीय समिति सकिँदासम्म महाधिवेशन कार्यतालिका पनि आउने सम्भावना छ।
***