प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी युवाहरूले चाहेको परिवर्तनलाई लिएर राजनीतिक दलहरूले आफूलाई सुधार गर्न जरूरी भएको बताएकी छन्।
जेन–जी आन्दोलन एक महिना पुगेको अवसरमा बिहीबार राति भिडिओ सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले उक्त कुरा बताएकी हुन्।
युवाहरूले चाहेको परिवर्तन आगामी निर्वाचनपछि पनि निरन्तर कायम रहनुपर्ने उल्लेख गर्दै उनले यसका लागि सबै युवा सचेत हुनुपर्ने बताइन्।
'विगतका सरकारले युवाहरूको आवाज सुन्न सकेनन्, उनीहरूका माग सुन्न सकेनन्,' उनले भनिन्, 'हामी सबैले आफ्नो कमजोरी र गल्ती स्वीकार गर्नुपर्छ।'
भिडिओ सन्देशका मुख्य बुँदा यस प्रकार छन् —
- भविष्यको नेपाल निर्माणमा जेन-जी युवाहरूलाई अर्थपूर्ण रूपमा सहभागी गराउन नयाँ संयन्त्र स्थापना गर्ने छौं।
- पीडित परिवारलाई राहत दिन र घाइतेको उपचारका लागि विशेष कार्यक्रम ल्याएका छौं। उनीहरूको कल्याणका लागि आगामी दिनमा थप संयन्त्रहरू बनाउँदै जाने छौं।
- जेन-जी आन्दोलन क्रममा युवाहरूले गरेको बलिदानका पछाडि राजनीतिक र आर्थिक सुधार देख्ने तीव्र चाहना छ। उनीहरूले देशमा न्याय र विधिको शासनको अपेक्षा गरेका छन्। भ्रष्टाचार र बेथिति उन्मूलन भएको हेर्न चाहेका छन्। युवा पुस्ताको यो चाहना सबैले स्वीकार गर्नुपर्छ।
- भ्रष्टाचार, बेराजगारी, विभेद लगायतका समस्या सम्बोधन गर्न राजनीतिक र प्रशासनिक सुधार गर्न प्रतिबद्ध छौं।
- वर्तमान सरकार र निर्वाचनपछि आउने नयाँ सरकार दुवैले युवाहरूको सपना साकार पार्न र समृद्ध नेपाल बनाउन कदम चाल्ने छन्।
- हामी सहिदहरूको बलिदान खेर जान नदिन प्रयास गर्नेछौं।
- सबैलाई संयम राख्न र हिंसाको चक्र रोक्न अपिल गर्छु।