जेनजी पुस्ताको आन्दोलनपछि सत्ताबाट बाहिरिएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक नजिकिएपछि अब पार्टी कसले नेतृत्व गर्ने भन्नेबारे ४ विकल्पमा केन्द्रित रहेर आन्तरिक छलफल हुन थालेको छ।
भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा सभापति शेरबहादुर देउवा र उनकी पत्नी तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवामाथि कुटपिट भएको थियो।
सभापति देउवाको गर्धनमा गहिरो चोट लागेको थियो भने टाउकोमा १२ टाँका लगाइएको थियो। उक्त टाँका खोलिसकिएको छ। सभापति देउवा दम्पती स्वास्थ्यलाभ गरिरहेका छन्।
सभापति देउवाले बदलिएको परिस्थितिबीच केन्द्रीय समिति बैठक बोलाएका हुन्। यो बैठकमा अबको पार्टी नेतृत्व र त्यसका लागि प्रक्रियाबारे कुनै न कुनै रूपमा छलफल हुने कांग्रेस नेताहरू बताउँछन्।
केन्द्रीय समितिका एजेन्डा अहिलेसम्म तय भइसकेको छैन।
यसअघिका केन्द्रीय समिति बैठकअघि सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाएर एजेन्डा तय गर्थे। पदाधिकारी र पूर्वपदाधिकारीहरूबीच कुरा भएर पनि केन्द्रीय समितिका एजेन्डा तय हुन्थे। तर यसपालि सभापति देउवाले पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यलाई अहिलेसम्म भेटेका छैनन् तर फोनमा भने कुराकानी गरिरहेका छन्।
‘एक, दुई दिनमा सभापतिज्यूले नेताहरूसँग भेटघाट सुरू गर्नुहोला, उहाँले फोन भने गर्नुभएको थियो,’ सभापति देउवानिकट एक केन्द्रीय सदस्यले भने, ‘उहाँको स्वास्थ्यको कुरा भयो, सुधारोन्मुख रहेछ। पार्टीबारे धेरै कुरा गर्न पाइएन। विशेष महाधिवेशन पनि भन्दैछन् भन्ने खालको कुरा भने गर्नुभएको थियो।’
सभापति देउवाको टाउकोमा लगाइएको टाँका खोलिएको र घर भाडामा लिएर बस्न सुरू गरेकोले एक दुई दिनपछि सभापति देउवाले नेताहरूसँग भौतिक रूपमा भेटघाट गर्न सक्ने ती केन्द्रीय सदस्यले जानकारी दिए।
सभापति देउवाले अहिले पार्टी नेतृत्व छाड्ने वा नछाड्नेबारे मुख नखोलेको पनि ती केन्द्रीय सदस्यले बताए।
२०७८ मंसिरमा भएको १४ औं महाधिवेशनबाट देउवा दोस्रो पटक सभापति निर्वाचित भएका थिए। उनको नियमित चार वर्षे कार्यकाल मंसिरसम्म छ।
कांग्रेस विधानमा एक व्यक्ति दुई पटकभन्दा बढी सभापति हुन पाउँदैन। त्यसैले पनि सभापति देउवाले तेस्रो पटक सभापति उम्मेदवार नहुने कुरा केही समयदेखि नै बताउँदै आएका थिए।
सभापतिमा देउवालाई नै निरन्तरता दिने पक्षमा उनीनिकट नेताहरू पनि देखिँदैनन् तर सार्वजनिक रूपमा अभिव्यक्ति दिइरहेका छैनन्।
प्रक्रिया पूरा गरेर सभापति देउवालाई धन्यवाद दिने र नयाँ नेतृत्वबाट कांग्रेसलाई अघि बढाउने पक्षमा उनीहरू पनि छन्। सभापति देउवाले फोन गरिरहेकोले पनि उनीनिकट नेताहरू केन्द्रीय समिति बैठकअघि देउवाको विकल्पमा बोलिरहेका छैनन्।
कांग्रेसमा नियमित महाधिवेशन, विशेष महाधिवेशन, कार्यवाहक सभापति तोक्ने र अहिलेको केन्द्रीय समिति नै विघटन गर्ने ४ विकल्पमाथि नेताहरूले कुराकानी गरे पनि यो पदाधिकारी तहमा सामूहिक छलफलको विषय भने बनेको छैन।
नियमित महाधिवेशनका पक्षमा कांग्रेसका सबै छन्। सभापति देउवाको कार्यकाल मंसिरमा सकिने भएकोले अब नियमित महाधिवेशन गर्नुपर्ने धारणा छ।
विशेष महाधिवेशन माग गर्ने सन्दर्भमा भने मतभेद देखिन्छ। अधिकांश जिल्लामा महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न हस्ताक्षर गरिरहेका छन्।
विधानअनुसार १४ औं महाधिवेशनका ४० प्रतिशत प्रतिनिधिले विशेष कारण देखाएर विशेष महाधिवेशन माग गरे सभापति देउवाले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने हुन्छ।
पार्टीलाई एकताबद्ध बनाउने हो भने विशेष महाधिवेशन गर्न नहुनेमा सभापति देउवानिकट सुदूरपश्चिमका नेताहरू छन्। उनीहरूले दसैंअघि सामूहिक विज्ञप्ति निकालेर विशेष महाधिवेशनले पार्टी कमजोर हुने र विभाजन ल्याउने चेतावनी दिएका थिए।
त्यसअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नियमित वा विशेष महाधिवेशन प्रस्ताव गरेका थिए। नेता शेखर कोइराला पक्षका केही नेताहरूले पनि विशेष महाधिवेशनको माग गरे।
महामन्त्रीद्वय थापा र शर्मा तथा नेता कोइराला पक्षका नेताहरूले केन्द्रीय समितिले विशेष महाधिवेशन बोलाउन माग गर्ने निर्णय गर्ने नदेखिएको भन्दै महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन सुरू गरेका थिए। केन्द्रीय समितिमा सभापति देउवा पक्षका ८० प्रतिशत बढी छन्।
जिल्लाहरूमा महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनका लागि गोप्य रूपमा हस्ताक्षर गरेर महामन्त्रीहरूलाई पठाउन सुरू गरेका छन्। विशेष महाधिवेशन माग गर्ने महाधिवेशन प्रतिनिधि ४० प्रतिशत कट्नेमा उनीहरू ढुक्क छन्।
१४ औं महाधिवेशनमा शेखर कोइरालाले ४० र गगन थापाले ६४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मत पाएकोले उनीहरू विशेष महाधिवेशनका पक्षमा उभिनेमा शेखर-गगन पक्ष विश्वस्त देखिन्छ। तर नेता शेखरनिकट केही नेता विशेष भन्दा नियमित महाधिवेशनमै जोड दिइरहेका छन्।
नियमित महाधिवेशन गर्न क्रियाशील सदस्यता टुंगो लगाउनुपर्ने हुन्छ। क्रियाशील सदस्यता नवीकरणको म्याद असोज मसान्तसम्म दिइएको छ भने नयाँ क्रियाशील सदस्यता खोलिएकै छैन। पार्टीमा सक्रिय रहेका सबैको सदस्यता नवीकरण गरिदिएर १५ दिन म्याद दिई नयाँ क्रियाशील बाँड्नेबारे कुराकानी पनि चलिरहेको छ। २०७८ मंसिरको १४ औं महाधिवेशनमा कांग्रेसमा ८ लाख ८२ हजार ८ सय १६ जना थिए। यीमध्ये आधाभन्दा बढीले नवीकरण गरेका छन्। यसलाई बढाएर कम्तीमा पनि ८२ प्रतिशत बढी पुर्याउने लक्ष्य कांग्रेसको छ। प्रत्येक महाधिवेशनमा क्रियाशील सदस्यतालाई लिएर कांग्रेसमा विवाद हुने गर्छ, समिति नै बनाएर विवाद निरूपण गर्ने गरिएको छ।
कांग्रेसभित्र कार्यवाहक सभापति तोकेर जाने विषयमा पनि कुराकानी भइरहेको छ। सभापति देउवानिकट नेताहरू सभापतिमा देउवालाई निरन्तरता दिन नसक्ने अवस्थामा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेर जान सकिने विकल्पमा छन्। साथै उनीहरू नियमित महाधिवेशन पक्षमा छन्।
कांग्रेसभित्र अहिलेका सभापति, पदाधिकारी, केन्द्रीय समिति विघटन गरेर संयोजक तोकेर अघि बढ्न सकिने विकल्पमाथि पनि कुरा चलेको छ। माओवादीले पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संयोजक तोकेर विशेष महाधिवेशनमा जाने निर्णय गरेको छ। तर कांग्रेसमा देउवालाई नै संयोजक तोकेर जाने विषयमा भने मतभेद छ।
पार्टी रूपान्तरणका लागि नेतृत्व र नीति दुवैमा परिवर्तन गर्ने पक्षमा कांग्रेसका अधिकांश नेताहरू छन्। सभापति देउवाको कार्यकाल सकिन लागेकोले पनि नेतृत्व र नीति परिवर्तनको कुरा आएको हो। १४ औं महाधिवेशनमा कांग्रेसले नीतिबारे छलफल नै नगरी नेतृत्व मात्रै चुनेको थियो।
संस्थापनइतर एक केन्द्रीय सदस्यले विशेष महाधिवेशन माग गर्न महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन भइरहेको बताए।
‘असोज २६ गतेदेखि केन्द्रीय समिति बैठक छ, उक्त बैठकले नियमित वा विशेष महाधिवेशनबारे केही निर्णय लिएन भने त्यही बैठकमा विशेष महाधिवेशन माग गर्न ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाउने तयारी छ,’ उनले भने, ‘हस्ताक्षर बुझाएपछि सभापतिले ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्छ। नेतृत्व छाड्न सभापतिमाथि दबाब पनि पर्छ।’
महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्न हस्ताक्षर गरिरहेको सूचना सभापति देउवासम्म पुगेको छ। उनले आफूनिकट केही केन्द्रीय सदस्यहरूसँग टेलिफोन कुराकानीमा यो सन्दर्भ जानकारीसमेत गराएका छन्।
केन्द्रीय सदस्य नैनसिंह महरले अब पार्टी कसरी अघि बढ्छ भन्ने विषय केन्द्रीय समितिबाटै निष्कर्षमा पुगिने बताए।
त्यसअघि अहिलेको अवस्था आउनुमा सरकार चलाउने संयन्त्रमा बस्ने नेताहरूले पनि जिम्मा लिनुपर्ने उनको भनाइ छ।
‘चुनावमा गठबन्धन निर्णय गर्ने, टिकट बाँड्ने, ओली सरकार हुँदा संयन्त्रमा रहने सबैले अहिलेको अवस्थामा आएकोमा जिम्मा लिनुपर्छ,’ उनले भने, ‘तीन पटक सांसद र केन्द्रीय समितिमा रहेका, दुई पटक मन्त्री भएका, ओली सरकारका मन्त्री, ७० वर्ष उमेर पुगेका र अवसर पाएका नेताहरू र पूर्व तथा वर्तमान पार्टी पदाधिकारीले एक पटक कुलिङमा बस्नुपर्छ। संघर्ष गरेका, अवसर नपाएका, योगदान दिएका र योग्यता पुगेकालाई अब पार्टी नेतृत्वमा ल्याउनुपर्छ।’
यसो गर्न सके पार्टी रूपान्तरण चाहने र जेनजी पुस्ताको आन्दोलनको भावना पनि सम्बोधन हुन सक्ने महरले बताए।
उनले नेतृत्वका विषयमा केन्द्रीय समिति बैठकले साझा धारणा बनाएर जाने पनि बताए।
संस्थापनइतर एक केन्द्रीय सदस्यले महामन्त्रीद्वय गगन र विश्वप्रकाश तथा नेता शेखर कोइरालासँग सभापति देउवाले अहिले भेटघाट नगरेको बताएका छन्। ‘असोज २६ गते केन्द्रीय समिति बैठक भएकोले त्यसअघि सभापतिले भेटघाट गर्नुहोला,’ ती नेताले भने।
नेता गुरूराज घिमिरेले विशेष महाधिवेशन माग गर्न हस्ताक्षर संकलन अभियान चलिरहेको बताए।
‘केन्द्रीय समितिको मुखैमा विशेष महाधिवेशन माग गर्दै ५० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बुझाउने तयारीमा हामी छौं,’ उनले भने, ‘जिल्ला जिल्लाबाट साथीहरूले फोनमा जानकारी दिएअनुसार अहिलेसम्म विशेष महाधिवेशन माग गर्न ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर भइरहेको छ। यसलाई हामी ५० प्रतिशतबढी पुर्याउँछौं।’
उनले केन्द्रीय समिति बैठकले अग्रगामी निर्णय नलिने देखिएकोले हस्ताक्षर गर्नु परेको बताए।
‘यो कार्यसमितिको म्याद थप गर्ने पक्षमा हामी छैनौं, नियमित महाधिवेशन पनि यो तयारीले छिट्टै होलाजस्तो हामीलाई नलागेर विशेष महाधिवेशन बोलाउन माग गर्न खोजेका हौं,’ उनले भने।
नेतृत्व परिवर्तन गरेर जानुपर्छ भन्नेमा नेता शेखर कोइराला र महामन्त्री गगन थापालगायत रहेको उल्लेख गर्दै उनले नियमित कि विशेष महाधिवेशन भन्नेमा चाहिँ नेताहरूबीच छलफल चलिरहेको बताए।
‘आज पनि नेता कोइराला र महामन्त्री थापाबीच सौहार्दपूर्ण कुराकानी भएको भन्ने जानकारी पाएको छु। उहाँहरू महाधिवेशन गराउने जिम्मेवारीमा पनि हुनुहुन्छ,’ उनले भने, ‘सकेसम्म नियमित महाधिवेशन गराउने प्रयासमा उहाँहरू रहनुहोला, हामीलाई त यो तयारीले अहिले नियमित महाधिवेशन हुन्छ जस्तो लाग्दैन।’
सुशीला कार्की नेतृत्वको अहिलेको सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभा चुनाव तोकेको छ। त्यसअघि नेतृत्व र नीति परिवर्तन गरेर जाने पक्षमा कांग्रेसका नेताहरू देखिन्छन्।
असोज २६ देखि सुरू हुने केन्द्रीय समिति बैठकका बेला विशेष महाधिवेशन माग गर्दै ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सभापति देउवालाई बुझाएमा उनले पुसभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने हुन्छ।
विशेष महाधिवेशन भएमा चार वर्षअघि २०७८ मंसिरको १४ औं महाधिवेशनमा मत दिएका महाधिवेशन प्रतिनिधिले नै मत दिन पाउनेछन्। त्यसबेला ४७४३ जना महाधिवेशन प्रतिनिधि थिए।