नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विपदको अवस्थामा सबै नागरिक, कांग्रेस नेता कार्यकर्ता तथा जनप्रतिनिधिलाई राहत तथा उद्धारमा जुट्न आग्रह गरेका छन्।
शनिबार एक विज्ञप्ति सार्वजनिक गर्दै उनले सरकारले जारी गरेका सूचनालाई व्यापक रूपमा प्रचारप्रसार गर्न र सम्भावित जोखिममा रहेका स्थानका जनतालाई सचेत गराउन पनि आग्रह गरेका छन्।
'भारी वर्षाले सिर्जित विपदको यो अवस्थामा म आमनेपाली नागरिक, नेपाली कांग्रेसका साथीहरू, स्थानीय तह तथा प्रदेशका निर्वाचित प्रतिनिधिलाई सरकारले जारी गरेका सूचना व्यापक रूपमा फैलाउन र सम्भावित विपदको समयमा आफ्नो ख्याल गर्दै उद्धार, राहत र सेवामा जुट्न अनुरोध गर्छु,' महामन्त्री थापाले भनेका छन्।
उनले पार्टीका सबै तहका कार्यकर्तालाई पनि पार्टीले जारी गरेका निर्देशन र सूचनालाई आत्मसात गर्दै आफ्ना ठाउँमा सक्रिय रहन आग्रह गरेका छन्।
विपद व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको भन्दै उनले सबै निकाय र जनशक्ति साझा जिम्मेवारीका साथ खटिनु समयको माग भएको बताएका छन्।