नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्न नेता शेखर कोइराला र महामन्त्री गगन थापानिकट नेताहरूले महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन आह्वान गरे पनि यसले गति लिन सकेको छैन।
जेनजी पुस्ताको भदौ २३ र २४ गतेको आन्दोलनपछि कांग्रेसमा सुधारबारे व्यापक चर्चा भइरहेको छ। तर सभापति शेरबहादुर देउवा र उनी पक्ष अहिले नै नेतृत्व हस्तान्तरणको पक्षमा छैनन्। सभापति देउवाको कार्यकाल एक वर्ष थप गर्नेमा उनीनिकट नेताहरू लागेका छन्।
यतिका वर्ष देउवाको छहारीमा रहेका नेताहरू अहिले नै उनको विकल्प खोज्ने पक्षमा नरहेको उक्त समूहका गतिविधिबाट देखिन्छ।
तर संस्थापनइतर समूह जेनजी पुस्ताको भावनाअनुसार पनि अब पार्टीमा नेतृत्व परिवर्तन र सुधार आवश्यक रहेको निष्कर्षमा छ।
तर नेता शेखर कोइराला र महामन्त्री थापा निकटबीच मन मिलेको देखिँदैन। १४ औं महाधिवेशनमा एकै समूहमा रहे पनि यसबीचमा शेखर-गगन समूह बनेको थियो।
महामन्त्री थापा पक्ष नियमित नभए विशेष महाधिवेशनमा जान तयार देखिन्छ तर नेता कोइराला पक्ष दुई कित्तामा बाँडिएको छ। कोइराला अहिलेको नेतृत्व (सभापति शेरबहादुर देउवा) लाई लिएर चुनावमा जान नहुनेमा छन्। तर नेतृत्व परिवर्तन कसरी गर्ने भन्ने प्रक्रियागत अलमल शेखरमा देखिने उनीसँग कुराकानी गरेका नेताहरू बताउँछन्।
त्यसैले पनि कोइरालाले आफूनिकट युवा नेताहरूलाई सभापति देउवा पक्ष र महामन्त्री थापा पक्ष दुवैतिर बाँडेर कुराकानी र गतिविधिमा सामेल गराएको चर्चा कांग्रेसभित्र छ।
नेता गुरूराज घिमिरे, देवराज चालिसेलगायत नेता विशेष महाधिवेशन माग गर्न महामन्त्री थापा पक्षसँगै उभिएर हस्ताक्षर गरिरहेका छन् भने शेखरनिकट नेता भूपेन्द्रजंग शाहीलगायत नेता नियमित महाधिवेशनका पक्षमा देखिएका छन्।
काठमाडौंमा शेखर कोइरालाको दुई वटा सचिवालय छ।
अनामनगरस्थित सम्पर्क कार्यालयबाट विशेष महाधिवेशनका पक्षमा शेखर पक्षका नेताहरूले विशेष महाधिवेशन माग गर्न हस्ताक्षर अभियान चलाएका बेला बालुवाटारस्थित बिशालनगरको शेखरकै सचिवालयबाट 'सभापति देउवालाई नै रिझाउने' गतिविधि भएकोमा उनीनिकट नेताहरू नै असन्तुष्ट छन्।
‘अनामनगर कार्यालयबाट विशेष महाधिवेशन माग गर्न हस्ताक्षर अभियान चलाइको छ तर विशालनगर कार्यालयबाट भने सभापति देउवालाई म तपाईंसँगै छु र हस्ताक्षर महामन्त्री निकटले गरेका हुन् भन्ने रिपोर्टिङ गराइएको छ। एकै नेताको दुई चरित्र देखिँदा कार्यकर्ता अलमलमा छौं।’
विशालनगर कार्यालयमा प्राय: कोइराला उपस्थित हुन्छन्। तर हिजोआज सिन्धुपाल्चोक कांग्रेस पूर्वसभापति भूपेन्द्र थापा त्यहाँ रहेर नेताहरूलाई फोन गर्ने गरेको स्रोतको भनाइ छ।
संस्थापनइतर समूहलाई एकजुट बनाउने पहलस्वरूप भन्दै केही नेताले बुधबार नेता कोइराला र महामन्त्री थापालाई एकै ठाउँमा राखेर कुराकानी गराएका थिए। भेटमा कोइराला र थापा अहिलेको नेतृत्व परिवर्तन र चुनावका पक्षमा उभिए। तर कोइरालाले नेतृत्व परिवर्तनको प्रक्रियामा भने अझै सोचेर अघि बढ्नुपर्ने कुरा राखेपछि महामन्त्री थापा पक्ष शशंकित छ।
उनीहरूले सभापति देउवाले छिटो केन्द्रीय समिति बैठक बोलाउनुपर्नेसमेत माग गरेका थिए। भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित घरमा देउवा दम्पतीमाथि आक्रमण भएको थियो। सभापति देउवा दम्पतीको स्वास्थ्यमा सुधार भएर ललितपुरको एक घरमा बस्न थालेको स्रोत बताउँछ।
‘सभापतिज्यूको स्वास्थ्यमा धेरै राम्रो सुधार आएको छ, ललितपुरको एक घरमा उहाँहरू बस्दै आउनुभएको छ। त्यही घरबाट सभापति देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाले नेताहरूलाई फोन गरेर अब सभापति नहुने भएकोले यो कार्यकाल साथ दिन भनिरहनुभएको छ,’ स्रोतले भन्यो।
सभापति देउवा सक्रिय भएसँगै उनीपक्षका नेताहरूले फेसबुकमा उनका पक्षमा स्टाटस लेख्ने र विशेष महाधिवेशन विरोध गर्दै विज्ञप्तिहरू जारी गर्नेजस्ता गतिविधि सुरू गरेका छन्। प्रवक्ता प्रकाशशरण महतले त पत्रकार सम्मेलन गरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नाम नलिई उनीहरूका अभिव्यक्तिमाथि कटाक्ष गर्दै 'आलो घाउमा नुनचुक छर्ने काम गरेको' आरोप लगाएका थिए।
कतिपयले सभापति देउवा अस्पतालमै रहेको र घाइते हुँदा पनि सभापतिबाट राजीनामा मागेर असंवेदनशील बनेको आरोप लगाउने गरेका छन्। तर संस्थापनइतर समूहले सभापति देउवा अस्पतालमा नरहेको र ललितपुरको एक घरबाट राजनीतिक गतिविधि गरिरहेको दाबी गरेको छ।
सभापति अनुपस्थित रहेका बेला उपसभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसम्पादन समिति बैठक राखेका थिए। त्यो बैठकमा महामन्त्रीद्वयले नियमित वा विशेष महाधिवेशन प्रस्ताव राखेपछि देउवानिकट नेताहरूले विरोध गरेका थिए। उपसभापति पूर्णबहादुर खड्काले सानेपामा पत्रकारहरूसँग कुराकानी गर्दै अहिले सभापतिबाट देउवाको विकल्प खोज्न हतार हुने अभिव्यक्ति दिएका थिए।
सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक बोलाए उक्त बैठकबाट साझा धारणा बनाएर जानेमा नेताहरू छन्। तर सभापति देउवाले कहिले केन्द्रीय समिति बोलाउँछन् यकिन छैन। सभापति देउवानिकट एक नेताका अनुसार अब छठपछि मात्रै केन्द्रीय समिति बैठक बस्छ र एक वर्ष कार्यकाल थप हुन्छ। यसो गरे विरोध गर्ने पक्षमा संस्थापनइतर पक्ष छ। त्यसपछि सभापतिले राख्ने बैठकमा भाग नलिनेजस्ता विरोध हुन सक्ने नेताहरू बताउँछन्।
साथै सभापति देउवानिकट नेताहरूले प्रतिनिधि सभा विघटनको विरोध गर्नुपर्ने र चुनावमा भाग लिन नहुने कुरा पनि गर्न थालेका छन्। कांग्रेसले कार्यसम्पादन समितिबाट प्रतिनिधि सभा विघटन असंवैधानिक भनेको छ। तर संस्थापनइतर समूह भने फागुन २१ को प्रतिनिधि सभा चुनावमा भाग लिनुपर्नेमा छन्।
तर पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सार्वजनिक रूपमै प्रतिनिधि सभा विघटन असंवैधानिक रहेको र यस्तो अवस्थामा चुनावमा भाग लिन नहुने कुरा राखेका छन्।
केन्द्रीय समितिले नियमित महाधिवेशन वा विशेष महाधिवेशनबारे केही निर्णय नलिएका खण्डमा राष्ट्रिय भेला बोलाएर विशेष महाधिवेशन बोलाउन महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर लिने पक्षमा संस्थापनइतर समूह छ।
असोज ६ गते नेता कोइराला र महामन्त्री थापानिकट १०९ महाधिवेशन प्रतिनिधिले वक्तव्य जारी गरेर केन्द्रीय समितिले विशेष महाधिवेशन बोलाउने अवस्था नदेखिएकोले महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन सुरू गरेको उल्लेख गरेका थिए।
विशेष महाधिवेशनबारे जिल्लाहरूमा चर्चा चले पनि हस्ताक्षर संकलन भने भइसकेको छैन।
सभापति शेरबहादुर देउवा पक्ष भने विशेष महाधिवेशन बोलाउने काम भए पार्टी कमजोर र विभाजन हुन सक्नेमा छ।
देउवानिकट सुदूरपश्चिम कांग्रेसका नेताहरूले बुधबार विज्ञप्ति जारी गरेर पार्टी विभाजन गर्न सक्ने विशेष महाधिवेशनका पक्षमा नलाग्न अपिल गरेका थिए।
कांग्रेसमा २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि थिए।
यसको ४० प्रतिशतको हस्ताक्षर गरी कारण खुलाएर विशेष महाधिवेशन बोलाउन सक्ने विधानको व्यवस्था छ।
सभापतिमा देउवाले ६०, शेखरले ४० प्रतिशत मत ल्याउँदा महामन्त्रीमा गगनले ६४ प्रतिशत मत ल्याएका थिए। यो हिसाबले शेखर वा गगन पक्षले चाहे विशेष महाधिवेशन बोलाउन ४० प्रतिशत हस्ताक्षर पुर्याउने देखिन्छ।
तर विशेष महाधिवेशन माग भएर तीन महिनाभित्र विशेष महाधिवेशन भएका खण्डमा फेरि सभापति पदमा शेरबहादुर देउवा उठ्न पाउँछन् कि पाउँदैनन् भन्ने कुरा पनि छ।
विधानअनुसार देउवा तेस्रो कार्यकाल सभापति उम्मेदवार हुन पाउँदैनन् तर विशेष महाधिवेशनका हकमा के हुन्छ विधान प्रष्ट छैन।
सभापति देउवानिकट नेताहरू अविश्वास प्रस्ताव पारित गरेर हटाउन चुनौती दिन्छन्।
विधानअनुसार पार्टीका सबै तहको सभापतिविरूद्ध सम्बन्धित समितिका २५ प्रतिशत सदस्यले अविश्वास प्रस्ताव दर्ता गर्न सक्छन् त्यसको ६० दिनभित्र दुई तिहाइले प्रस्ताव पारित गर्नुपर्ने हुन्छ।
देउवाका पक्षमा १४ औं महाधवेशनका बेलाको स्थितिअनुसार केन्द्रीय समितिमा ८० प्रतिशत बढी केन्द्रीय सदस्य छन् भने महाधिवेशन प्रतिनिधि ६० प्रतिशत छन्। उनीहरू पार्टी रूपान्तरणका पक्षमा उभिएनन् भने दुई तिहाइ पुर्याएर सभापति देउवालाई हटाउन गाह्रो छ। त्यसैले पनि धेरै नेताहरू नियमित महाधिवेशनका पक्षमा छन्।
नेता शेखर कोइराला र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मा नियमित महाधिवेशनकै पक्षमा केन्द्रीय कार्यसम्पादन समितिको हालैको बैठकमा प्रस्तुत भएका थिए। मंसिरमा देउवाको ४ वर्षे कार्यकाल सकिने भएकोले नियमित महाधिवेशन गर्नुपर्ने उनीहरूको जोड थियो।
तर सभापति देउवा पक्ष भने एक वर्ष कार्यकाल थप गर्ने तयारीमा छ। यसबाट नेता शेखर र महामन्त्रीद्वय थापा तथा शर्मा शशंकित छन्। त्यसैले उनीहरूले नियमित महाधिवेशन नभए विकल्प विशेष महाधिवेशन मात्र हो भनिरहेका हुन्।
‘पार्टीको १५ औं महाधिवेशन मंसिर मसान्तभित्र गर्न सकिन्छ र सक्नुपर्छ, नसकिए एक मात्र विकल्प- विशेष महाधिवेशन हो,’ महामन्त्री विश्वप्रकाश शर्माले आगजनी भएको सुनसरी पार्टी कार्यालय बुधबार अवलोकन गरेपछि कार्यकर्ताहरूले राखेका प्रश्नमा जबाफ दिँदै भनेका थिए।
पार्टी विधानको धारा १७ को उपधारा २ बमोजिम केन्द्रीय समितिले चाहेमा विशेष महाधिवेशन बोलाउन सक्ने उनले बताए।
सकेसम्म नियमित महाधिवेशन गर्न आफू र अर्का महामन्त्री गगन थापा लाग्ने बताएका उनले विधानले विशेष महाधिवेशन माग गर्न पनि सक्ने व्यवस्था गरेकोले केही महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गर्नुलाई अन्यथा लिन नहुने बताए।
विशेष महाधिवेशन माग गर्दा अर्को तीन महिना पर्खिनुपर्ने र त्यसबेला चुनाव आइसक्नेमा पनि नेताहरू छन्।
नेता भूपेन्द्रजंग शाहीका अनुसार मंसिरमा अहिलेको कार्यसमितिको कार्यकाल सकिने भएकोले अब नियमित महाधिवेशन नै गरे हुन्छ।
‘पार्टी यथास्थितिमा चल्दैन, पार्टीमा अपरेसन जरूरी छ, युवाको आक्रोश र जनताको भावना बुझ्न सकेन भने त पार्टी चल्न सक्दैन, अहिले पार्टी संकटको घडीमा छ, भावनामा बहकिएर निर्णय गर्ने छुट कसैलाई छैन, एकताबद्ध भएर जानुपर्छ,’ उनले भने, ‘मंसिरमा कार्यकाल सकिने भएकोले अब सबैको सहमतिमा नियमित महाधिवेशन गरे भइहाल्छ, विशेष महाधिवेशन भनेर कहिले गर्ने फेरि त्यो। विधानअनुसार ३ महिनामा भन्ने छ, मंसिर कट्छ, चुनाव आउँछ।’
नेता शेखरले नियमित वा विशेष महाधिवेशन के गर्ने हो केन्द्रीय समिति बोलाएर त्यहीँबाट साझा धारणा तय गर्नुपर्ने कुरा गर्दै आएका छन्। आफूसँगको भेटमा पनि नेता कोइरालाले केन्द्रीय समितिले नियमित वा विशेष महाधिवेशन के गर्ने हो साझा धारणा बनाउने कुरा गरेको शाहीले बताए।
संस्थापनइतर समूहले नियमित र विशेष महाधिवेशन माग गरेका बेला सभापति देउवा पक्ष भने रक्षात्मक बन्दै गएको छ। सभापति र केन्द्रीय सदस्य आरजु राणा देउवाले फोन गरेर नेताहरूलाई सहयोग गर्न भनेको नेताहरू बताउँछन्।
सभापति देउवा कार्यकाल थप गर्न र तत्काल राजीनामाको पक्षमा नदेखिएपछि संस्थापनइतर समूहले विशेष महाधिवेशन माग गर्न हस्ताक्षर अभियान सुरू गरेको थियो।
तर यो अभियानलाई सभापति देउवा पक्षले काउन्टर दिन थालेको छ।
सुदूरपश्चिम प्रदेश कार्यवाहक सभापति लोकराज अवस्थी, केन्द्रीय सदस्य सुशीला मिश्र, नृपबहादुर वड, मुख्यमन्त्री कमलबहादुर शाह, राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रलगायत देउवा पक्षका २३ जना नेताहरूले बुधबार हस्ताक्षर गरी विशेष महाधिवेशनको विरोध गरेका हुन्।
‘पार्टीभित्र अल्पमत, बहुमत, विशेष महाधिवेशन र हस्ताक्षर संकलन जस्ता विषय उठान गरी कार्यकर्तामा भ्रम सिर्जना गर्ने, पार्टीलाई विभाजनतिर लैजाने, पार्टीमा एकता कायम हुन नदिनेजस्ता गतिविधिले पार्टी कमजोर मात्र होइन, लोकतन्त्र नै समाप्त हुने भएकोले सबै साथीहरू सचेत र सजग रहन अपिल गर्दछौं,’ उनीहरूले भनेका छन्।
यस्तो मतभेदका बीच कांग्रेस अबका दिनमा कसरी अघि बढ्छ भन्ने प्रष्ट भइसकेको छैन।