कोशी प्रदेशको राजधानी विराटनगरस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयको एउटा कोठामा सोमबार दिउँसो कर्मचारीहरू सिसिटिभी फुटेज हेर्दै थिए।
भदौ २४ गते मन्त्रालयमा तोडफोड र आगजनी मच्चाउने समूहका सबै क्रियाकलाप सिसिटिभीमा सुरक्षित रहेकामा कर्मचारीहरू ढुक्क थिए।
सचिव रामप्रसाद आचार्यसहित उच्च तहका कर्मचारीले यी दृश्य हेरिरहँदा आर्थिक मामिला तथा योजनामन्त्री राम राना मगर पनि त्यहीँ आइपुगे।
राना तिनै मन्त्री हुन्, जो चढेको गाडीले ललितपुरमा एक जना बालिकालाई ठक्कर दिएको थियो।
एमालेको विधान महाधिवेशनमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले घटनाको बचाउ गर्दै बालिकालाई गाडीले सामान्य रूपमा छोएको भए पनि राजनीतिकरणको प्रयास भएको अभिव्यक्ति दिएका थिए।
सामाजिक सञ्जाल बन्द गराएर सबैको आलोचनाको केन्द्रमा परिरहेका ओलीले गोदावरीबाट दिएको त्यस्तो अभिव्यक्तिले भदौ २३ र २४ को आन्दोलनमा घिउ थप्ने काम गरेको थियो।
परिणामतः ओली सत्ताच्यूत भएका छन्।
जेन–जी आन्दोलनका बलमा सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ।
पूर्वप्रधानन्यायाधीश कार्कीले प्रधानमन्त्रीको जिम्मेवारी लिएर फागुन २१ गते नयाँ चुनाव गर्ने घोषणा गरिरहँदा मुलुक सम्पूर्ण रूपमा खरानी बनेको भाष्य स्थापित हुँदै गएको छ। सबैतिरबाट सरकारी सम्पत्तिमा भएको क्षतिका विवरण धमाधम सार्वजनिक भइरहेका छन्।
तर के पछिल्लो आन्दोलनमा मुलुकभरिकै सरकारी संरचना ध्वस्त भएका हुन्? सबैतिर खरानीकै साम्राज्य स्थापित भइसकेको हो?
यसबारे सेतोपाटीले विभिन्न प्रदेशका जिल्लामा भएका क्षतिको समग्र विवरण नियाल्ने प्रयत्न गरेको छ। यो स्टोरीमा हामी कुरा गर्दैछौं, कोशी प्रदेशको।
हामीले कोशी प्रदेशका १४ जना प्रमुख जिल्ला अधिकारी, प्रदेशस्थित विभिन्न मन्त्रालयका कर्मचारी र स्थानीय तहका प्रतिनिधि तथा कर्मचारीसँग कुराकानी गरेका छौं।
उनीहरूसँगको कुराकानीले के देखाउँछ भने, कोशी प्रदेशको तराई क्षेत्रमा पर्ने जिल्लाहरूमा सरकारी तथा निजी संरचनाहरूमा ठूलो क्षति भएको छ। झापा, मोरङ, सुनसरी लगायत तराईका ठूला जिल्लामा अहिलेसम्म के कति क्षति भयो भन्ने विवरण नै पूरा संकलन भइसकेको छैन।
तर तराईका जिल्ला खरानीको थुप्रोबाट उठ्न खोजिरहँदा कोशीकै पहाडी जिल्लाहरू भने निर्विघ्न रूपमा अघि बढिरहेका छन्।
कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भवन। तस्बिर: राजु अधिकारी/सेतोपाटी
त्यसो त भदौ २३ र २४ गते कोशीका धेरै पहाडी जिल्लामा पनि आन्दोलन उठेकै थियो। प्रदर्शनहरू चर्केकै थिए। यद्यपि तराईका जिल्ला आगोको लप्कामा लपेटिँदा पहाडका आन्दोलनकारीले पर्याप्त संयम र धैर्य देखाएको देखिन्छ।
कोशीका पहाडी जिल्लामा छिटपुट अपवादबाहेक सबैजसो सरकारी सम्पत्ति सुरक्षित रहेको पाइएको छ।
हिमाली जिल्ला सोलुखुम्बुमा भदौ २४ गते ठाउँ–ठाउँमा विरोध प्रदर्शन भयो। तर त्यहाँ निजी त छाडौं, सरकारी सम्पत्तिमा समेत कहीँकतै आक्रमण भएन।
सोलुखुम्बुमा कारागारबाट ८७ जना कैदीबन्दी जेल तोडेर भागेका थिए। तीमध्ये ७५ जना फर्केर आइसकेको र बाँकी १२ जनाको खोजी भइरहेको कारागार प्रशासनले जनाएको छ।
'सगरमाथा अञ्चलका सबैजसो जिल्ला एकदमै शान्त र शालिन रूपमा प्रस्तुत भए,' सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले सेतोपाटीसँग भनिन्, 'यहाँ पनि जेन–जी युवाहरूको प्रदर्शन भयो। ठाउँ–ठाउँमा जुलुस निस्किए। तर कहीँकतै आक्रमण गर्ने, तोडफोड गर्ने काम भएन।'
खोटाङमा पनि सरकारी तथा निजी सम्पत्तिमा कहीँकतै क्षति नभएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन्।
'प्रदर्शन यहाँ पनि भए, निषेधाज्ञा र कर्फ्यू पनि लगाइयो,' श्रेष्ठले भनिन्, 'तर सबै आन्दोलनकारी शान्तिपूर्ण प्रदर्शनमा मात्र केन्द्रित हुनुभयो। सबैको धैर्य र संयमले अन्यत्र जस्तो भौतिक क्षति भएन।'
ओखलढुंगा, धनकुटा, भोजपुर, पाँचथर, संखुवासभा, तेह्रथुम लगायतका जिल्लामा सरकारी सम्पत्तिहरूमा कहीँकतै क्षति नभएको ती जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जानकारी दिएका छन्।
तेह्रथुमको आठराईमा रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीको पुर्ख्यौली घरमा आगजनी हुनु जिल्लामा भएको एक मात्र आगजनीको घटना हो।
'खरको छाना भएको पूर्वप्रधानमन्त्रीको पुर्ख्यौली घरमा भएको आगजनी बाहेक अन्यत्र तोडफोड र आगजनी भएन,' प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले भने, 'जिल्लामा भएका प्रदर्शनहरू शान्तिपूर्ण रहे।'
त्यस्तै, संखुवासभाको धर्मदेवी नगरपालिकामा रहेको तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा पनि तोडफोड प्रयास भयो। त्यही पालिकामा रहेको माओवादी युद्धका सहिदको शालिक तोडफोड प्रयास पनि भयो। तर यी दुईबाहेक जिल्लाभरि कतै पनि तोडफोड र आगजनीका घटना नभएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताइन्।

तोडफोड र आगजनी धेरै भएको पहाडी जिल्लामा इलाम एक हो।
इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले दिएको जानकारी अनुसार भदौ २४ गते इलाममा सरकारी कार्यालय तथा सवारी साधनमा तोडफोड र आगजनीका घटना भएका छन्।
तोडफोडबाट जिल्ला प्रशासन कार्यालयमा आंशिक क्षति पुगेको छ भने चोकबजारको प्रहरी पोस्टमा तोडफोड र कागजपत्रमा आगजनी भएको छ। बिब्ल्याँटे बजारको प्रहरी पोस्टमा पनि तोडफोड र आगजनी भएको छ।
इलाम नगरपालिका कार्यालयमा आगजनी र तोडफोड हुँदा पाँच करोड रूपैयाँ बराबरको क्षति भएको अनुमान छ। कार्यालयका सवारी साधन, भवन, झ्याल, ढोका, फर्निचर, कागजात, ल्यापटप, दराज लगायतमा क्षति भएका छन्।
जिल्ला निर्वाचन कार्यालयका ल्यापटप, एउटा गाडी, दुई मोटरसाइकल, भवनका झ्याल–ढोका, मतपेटिका, फर्निचर, फोटोकपी, कम्प्युटर लगायतमा पनि तोडफोड गरिएको छ।
प्रशासन कार्यालयका अनुसार करदाता सेवा कार्यालयमा समेत क्षति भएको छ। कार्यालयका सबैजसो कागजात बाहिर निकालेर डढाइएको छ। कार्यालयको एउटा गाडी पनि तोडफोडमा परेको छ।
माई नगरपालिकाका चार मोटरसाइकल र एउटा गाडी तोडफोड भएको छ। कार्यालयका कागजात र सामग्री बाहिर निकालेर जलाइएको छ।
माईकै वडा नम्बर १, २, ३, ४, ७, ८, ९ र १० नम्बर वडा कार्यालयका कागजात र सामग्री बाहिर निकालेर जलाइएको छ। माईकै सुखानी अध्ययन केन्द्रमा तोडफोड र आगजनी भएको छ। माई–४ को दानाबारी सामुदायिक सिकाइ केन्द्रमा आगजनी हुँदा करिब १३ लाख रूपैयाँ बराबरका सामग्री जलेर नष्ट भएको केन्द्रको अनुमान छ।
बजारमा रहेका एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, एकीकृत समाजवादी लगायत पार्टी कार्यालयमा तोडफोड भएको छ।
इलामको रोङ गाउँपालिका–२ को वडा कार्यालयमा पनि तोडफोड र कागजपत्रमा आगजनी गरिएको छ।
ताप्लेजुङको फुङलिङ नगर कार्यालयमा तोडफोड र आगजनी हुँदा कांग्रेस, एमाले, माओवादी र रास्वपा पार्टी कार्यालयमा पनि तोडफोड भएको छ। २४ गते राति पाथिभरा मन्दिर नजिकैका तीनवटामध्ये एउटा भवनमा आगजनी र दुइटा भवनमा तोडफोड भएको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जानकारी दिए।
भित्री मधेसको जिल्ला उदयपुरमा त्रियुगाका पूर्वमेयर बलदेव चौधरी, अहिलेकी उपमेयर महेश्वरी राईको घरमा आगजनी भएको छ। कोशीकी उपसभामुख सिर्जना दनुवार र त्रियुगाका मेयर बसन्त बस्नेतको घरमा पनि तोडफोड भएको छ। यसबाहेक जिल्ला प्रशासनमा ढुंगामुढा गर्नेबाहेक अरू क्षति नभएको प्रजिअ प्रेमप्रसाद लुइँटेलले जानकारी दिए।

कोशीमा झापा, मोरङ र सुनसरीमा सबभन्दा धेरै क्षति भएको छ।
झापामा मात्र स्थानीय तहका १२ वटा कार्यपालिका भवनमा आगजनी भएको र ५५ वटा वडा कार्यालयमा आगजनी भएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले जानकारी दिए।
त्यस्तै, संघीय कार्यालयहरू १० वटा, ३ वटा प्रादेशिक कार्यालय, ३ वटा पार्टी कार्यालय र २२ वटा प्रहरीका भवनमा आगजनी तथा तोडफोड भएका छन्। दमक र बिर्तामोडमा रहेका भाटभटेनीका दुइटा भवन पनि आगजनीको चपेटामा परेका छन्।
झापामा आन्दोलन क्रममा ज्यान गुमाउनेहरू पनि छन्।
बिर्तामोडमा भदौ २४ मा एक जनाको ज्यान गएको थियो भने बिएन्डसी अस्पतालमा उपचार क्रममा तीन जनाको मृत्यु भएको थियो। प्रजिअ अधिकारीले अस्पतालमा मृत्यु भएकाहरू कुन जिल्लाका हुन् भन्ने खुलेको छैन।
यसबाहेक झापामा सवारी साधन, जनप्रतिनिधि र राजनीतिज्ञ, कर्मचारी धेरैको घरमा आगजनी भएको छ। यसको पूर्ण विवरण आइनसकेको अधिकारीले बताए।
आन्दोलनको पहिलो दिन भदौ २३ मै दुई जनाले ज्यान गुमाएको सुनसरीको धरानस्थित भाटभटेनीमा अहिलेसम्म ४ जनाको शव फेला परिसकेको छ। इटहरीसहित स्थानीय तहका भवनहरू जलेका छन्। प्रशासनले सोमबार क्षति मूल्यांकन समिति गठन गरेको छ।
'सहायक प्रजिअको नेतृत्वमा समिति गठन भएको छ, अब क्षतिको विवरण बिस्तारै खुल्छ,' प्रजिअ धर्मेन्द्रकुमार मिश्रले भने।
उनको यही भनाइले पनि सुनसरीमा भएको क्षतिको विवरण धेरै भएको देखाउँछ।
प्रदेशको राजधानी रहेको मोरङमा पनि क्षतिको आकार ज्यादै ठूलो छ। कोशी प्रदेशसभा, विराटनगर महानगर कार्यालय, मुख्यमन्त्री कार्यालय, जिल्ला प्रशासन, अदालतसहितका सरकारी कार्यालय, भाटभटेनी सहितका भवन जलेर ठूलो क्षति भएको छ।
भाटभटेनीमा सोमबार एक जनाको शवसमेत फेला परेको छ। प्रजिअ इन्द्रदेव यादव क्षतिको यकिन विवरण आइनसकेको बताउँछन्। सवारी साधन कति जले भन्ने विवरण पनि संकलन भइरहेको उनको भनाइ छ।
'क्षतिको विवरण आउन अझै एक–दुई दिन लाग्छ,' उनले भने, 'मोरङमा क्षतिको आकार ठूलो रहेको देखिन्छ।'
कोशी प्रदेश सरकारले पनि क्षतिको विवरण संकलन गरिरहेको बताएको छ।
आन्तरिक मामिला मन्त्रालयका सचिव रामप्रसाद आचार्य प्रदेशभरीमा ३ सयभन्दा बढी सवारी साधनमा क्षति पुगेको अनुमान लगाउँछन्।
'सबैतिरबाट क्षतिको विवरण संकलन हुने क्रम जारी छ,' उनले भने।
***







