राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेन–जी पुस्ताको अनिवार्य सहभागितामा सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्रीका लागि प्रस्तावित उम्मेदवारप्रति आफ्नो समर्थन रहने जनाएको छ।
पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै ती उम्मेदवारले बृहत् राजनीतिक अनुमोदन प्राप्त गर्ने शुभेच्छा व्यक्त गरेका छन्।
'राष्ट्रियसभाको स्थायी स्वरूप र गतिशीलता कायम राखी अन्तरिम सरकारले आगामी प्रतिनिधिसभाको निर्वाचन ६ महिनाभित्र गर्ने गरी ताजा मतादेशको अपरिहार्यता र आन्दोलनको म्यान्डेटबीच सन्तुलन राख्न रास्वपा उचित ठान्छ,' विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रपतिको प्रत्यक्ष पहल र संवादका आधारमा आसन्न संक्रमणकालीन राजनीतिक कोर्सलाई संरक्षकत्व दिइने अपेक्षा उनले राखेका छन्।
उनले भदौ २३ को जेन–जी आन्दोलनमाथि भएको बर्बर दमन र त्यसपछि भएका मानवीय क्षति, निजी र सार्वजनिक सम्पत्तिमाथि आक्रमण लगायतका हिंसात्मक घटनाको उच्चस्तरीय न्यायिक छानबिन र २०४६ पछिका उल्लेख्य भ्रष्टाचार मुद्दाहरूमाथि निष्पक्ष अनुसन्धान र न्यायिक निरूपणका लागि नयाँ सरकार बनेको १५ दिनभित्र स्वतन्त्र आयोगहरू गठन गर्न पनि आह्वान गरेका छन्।