जेन-जी आन्दोलन क्रममा नयाँबानेश्वरमा प्रहरीले चलाएको गोली र अश्रुग्यासले घाइते भएका सय जनाभन्दा बढी सिभिल अस्पतालमा उपचाररत छन्।
तीमध्ये दुई जनाको मृत्यु भइसकेको अस्पतालले जनाएको छ।
अहिले सिभिल अस्पतालको अवस्था तनावपूर्ण छ। यहाँ घाइतेहरू ल्याउने क्रम जारी छ। एकैचोटि ठूलो संख्यामा घाइतेहरू ल्याइँदा अस्पताल प्रशासनले राम्ररी सम्हाल्न सकेको छैन। सबै घाइतेलाई बेडमा राखेर उपचार पनि गर्न सकिएको छैन। लगभग ३० जना घाइतेको भुइँमै उपचार भइरहेको छ। भुइँमा रगतका टाटाहरू यत्रतत्र देखिन्छन्।
ठूलो संख्यामा ल्याइएका घाइतेको उपचार निम्ति उपकरणहरू पनि पर्याप्त छैन। त्यस्तै, डाक्टर पनि पर्याप्त संख्यामा नभएकाले धेरै घाइतेलाई नर्सहरूले नै उपचार गरिरहेको देखिन्छ। उपचारमा संलग्न नर्सहरू स्थिति सम्हाल्न आफूहरूलाई धौ धौ परेको बताउँछन्।
अस्पताल अस्तव्यस्त भएपछि यहाँ ल्याइएका धेरै घाइतेलाई उपचार निम्ति ट्रमा सेन्टर लगायत अन्य अस्पताल पनि पठाइएको छ।
हामीले हेरेका घाइतेमध्ये अधिकांशको खुट्टामा गोली लागेको छ। घाइतेहरू धेरैजसो २० देखि ३० वर्ष उमेरका छन् भने महिलाहरू खासै छैनन्।
हामीले केही घाइतेसँग कुराकानी पनि गरेका छौं।
तीमध्ये तिघ्रामा गोली लागेका २८ वर्षीय विप्लव थापाले आफू कामका लागि बैंक जाँदै गर्दा अचानक गोली लागेको बताए।
'म बैंक जाँदै थिएँ। बाटोमा गोली चलिसकेको रहेछ। मलाई थाहै थिएन,' उनले भने, 'त्यही बेला मलाई तिघ्रामा गोली लाग्यो।'
उनले आफूसँगै गएका साथीलाई पनि गोली लागेको र उनलाई वीर अस्पताल लगिएको जानकारी दिए।
त्यस्तै, २० वर्षीय नवीन कपालीको पाखुरामा गोली लागेको छ। सरकारको भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरूद्ध पहिलोपटक प्रदर्शनमा आएको उनले बताए।
'हामीले शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहँदा प्रहरीले एक्कासि अश्रुग्यास हान्यो, गोली चलायो,' उनले भने, 'हामी त के गर्ने अलमलमा पर्यौं।'
तिघ्रामा गोली लागेका २४ वर्षीया चाँदनीले पनि शान्तिपूर्ण प्रदर्शन दबाउन प्रहरीले अश्रुग्यास, पानीको फोहोरा र गोली एकैचोटि हानेको बताए।