नेकपा (एमाले) ले चार शक्तिले पार्टी र प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीविरूद्ध सुनियोजित रूपमा हमला बढाएको व्याख्या गरेको छ। अन्तरपार्टी निर्देशनमार्फत् उसले ती शक्तिको व्याख्या गरेको हो।
‘पछिल्लो समयमा हाम्रो पार्टी र नेतृत्वका विरुद्धमा सुनियोजित रूपमा हमला भइरहेको छ। यस्तो किन भइरहेको छ भन्ने कुरा पार्टी पंक्तिले बुझ्नुपर्दछ र त्यसको सशक्त प्रतिवाद गर्नुपर्दछ। यतिबेला हाम्रा विरूद्धमा चार प्रकारका शक्तिहरू केन्द्रित भएर कुप्रचारमा लागेका छन। उनीहरू गोयबल्स शैलीमा आम सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई हाम्रा विरूद्धमा दुरूपयोग गरिरहेका छन्,’ एमालेले अपानिमा भनेको छ।
एमालेले व्याख्या गरेको पहिलो शक्ति हो– पार्टीको देशभक्तिपूर्ण अडान र भूमिका मन नपराउनेहरू। यी शक्तिहरू आफ्नो प्रभुत्व र स्वार्थका लागि नेपालमा देशभक्त पार्टी र नेतृत्वलाई कमजोर बनाउन चाहने एमालेले बताएको छ।
‘त्यसका लागि उसले आफ्नो प्रभावलाई हाम्रा विरूद्धमा परिचालित गरेको देखिन्छ। पार्टीले त्यसप्रकारको हमलाको सुरुदेखि नै प्रतिवाद गरेर नै पार्टीलाई यहाँसम्म ल्याउन सफल भएको हो,’ एमालेले अपानिमा भनेको छ।
एमालेले प्रष्टरूपमा भन्न नसके पनि एमाले र अध्यक्ष ओलीविरूद्ध भूराजनीतिक चलखेल भइरहेको आरोप लगाएको हो।
त्यस्तै एमाले दोस्रो शक्ति पनि किटान गरेको छ। खास गरी नेपालमा राजसंस्था पुनःस्थापनाको सपना देखेका राजसंस्था समर्थक, दुर्गा प्रसाईं लगायतको समूहबाट पनि एमालेले थ्रेट महसुस गरेको छ।
यी शक्तिलाई एमालेले प्रतिगामी र प्रतिक्रियावादीको दोषारोपण गरेको छ।
‘उनीहरू हाम्रा कारणले उनीहरूको चाहना पूरा नभएका ठान्दछन् र हाम्रा विरूद्धमा केन्द्रित छन्,’ एमालेले भनेको छ।
एमालेले माओवादी केन्द्र पनि पार्टीविरूद्ध लागिरेहको अपानिमा उल्लेख गरेको छ। एमाले नेपालको वामपन्थी आन्दोलनको मुख्य शक्ति बनेकाले माओवादी केन्द्रको 'जादुयी नम्बर' औचित्यहीन रहेको विश्लेषण निकालेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला आफूहरूसँग ३२ सिटको म्याजिक नम्बर रहेको भन्दै सरकार गिराउन नसक्ने बताउँथे। एमालेले त्यसलाई लक्ष्य गरेर भनेको हो।
‘हाम्रा कारणले उनीहरूको सत्ता राजनीतिको ‘म्याजिक नम्बर’ औचित्यहीन बनेको र भूमिका खोसिएको ठानेर विक्षिप्त छन्। उनीहरू हाम्रा विरूद्धमा अराजनीतिक र अपराधिक तरिकाबाट छद्म रूपमा हमला गरिरहेका छन्,’ एमालेले भनेको छ।
एमालेले माओवादी केन्द्रलाई तेस्रो शक्ति ठानेको छ।
एमालेले उल्लेख गरेको चौथो शक्ति चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौं महानगरपालिकामा मेयर बालेन शाह, स्वतन्त्र रूपमा जितेका धरानका हर्क साम्पाङ लगायत नयाँ र वैकल्पिक शक्ति हुन्।
‘नयाँ वैकल्पिक शक्ति निर्माणको आकांक्षा बोकेका शक्तिहरू; उनीहरू लोकप्रियतावाद र अराजकतावादको सहारा लिएर अघि बढ्न खोजिरहेका छन्। उनीहरू आफ्नो उद्देश्य पूरा गर्नका लागि नेकपा (एमाले) ले बाधा पुर्याउने ठानेर हाम्रा विरूद्धको कुप्रचारमा केन्द्रित छन्। नीतिविहीन लोकप्रियतावाद र अराजकतावादले नेपाली समाजमा पुर्याउनसक्ने क्षतिका बारेमा हाम्रो पार्टी सचेत र स्पष्ट छ। पार्टी र नेतृत्वका विरूद्धमा रहेका यसप्रकारका शक्तिहरूले गरिरहेको षडयन्त्रपूर्ण र नियोजित हमलाको सिंगो पार्टीपंक्तिले दृढतापूर्वक प्रतिवाद गर्नुपर्दछ। गलत प्रवृत्तिको सशक्त प्रतिरोधबाट नै हामीले मिसन ८४ का लागि अनुकूल आधार तयार पार्न सक्दछौं,’ एमालेले अपानिमा भनेको छ।