प्रधानमन्त्री केपी शर्मा ओलीले सुख्खाग्रस्त मधेसमा तत्कालीन समस्या समाधानका लागि ५ सय डिप बोरिङ जडान गर्ने घोषणा गरेका छन्।
शुक्रबार महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले एउटा डिप बोरिङबाट ६० बिघा क्षेत्रफल सिँचाइ गर्न सकिने बताए।
उनले पानीको अभावका कारण मधेस सुख्खाग्रस्त भएको बताउँदै सरकारले संकटग्रस्त क्षेत्र घोषणासमेत गरिसकेको बताए।
सरकार संकटग्रस्त क्षेत्र घोषणा मात्रै गरेर नबस्ने भन्दै दीर्घकालीन र तत्कालीन उपायहरू सुरू गरिसकेको बताए।
चुरेमा पानीका तालतलैया बनाउने, पानी जम्मा गर्ने कार्यमा सरकार लागेको उनले बताए।
सरकारको तर्फबाट मधेसमा पानीको समस्या समाधान गर्न सबै सरकारी निकाय, गैरसरकारी निकायहरूलाई आग्रह उनले गरे।
प्रधानमन्त्री ओलीले भने, ‘मधेस सुख्खाग्रस्त छ। पानीको अभावको कारणले सुख्खाग्रस्त भएकाले संकटग्रस्त क्षेत्र घोषणा गरेका छौँ। संकटग्रस्त क्षेत्र घोषणा गर्ने मात्रै होइन यस क्षेत्रमा दीर्घकालीन र तत्कालीन दुई उपायहरुबाट काम गर्नेछौँ। चुरेमा पानीका तालतलैया बनाउने, पानी जम्मा गर्ने, जसबाट जमिनको सतहको पानी तल जान नदिने गरी अनुकूल वातावरणतर्फ फर्काउने काम गर्दछौँ। तत्कालका लागि अरू विभिन्न काम अघि बढाउनेछौँ। अहिलेको सरकारको तर्फबाट यस काममा मद्दत गर्न सरकारका सबै निकायहरूलाई आग्रह गर्दछु। गैरसरकारी संघसंस्था सबैलाई साथ सहयोग गर्न आग्रह गर्दछु। हामी अहिले तत्काल केही डिप बोरिङहरू जडान गर्ने र डिप बोरिङमार्फत तत्कालका लागि ५ सय जति डिप बोरिङ गर्नेछौँ। एउटाले लगभग ६० बिघा जमिन सिँचाइ गर्न सकिन्छ।’
प्रधानमन्त्री ओलीले ८ वटै जिल्लालाई ध्यानमा राखेर काम गर्ने प्रतिबद्धता जनाए। —न्युज एजेन्सी नेपाल