नेपाली कांग्रेसका ५ जना पूर्वपदाधिकारीले सभापति शेरबहादुर देउवालाई भेटेर अबको सभापतिका लागि कसैलाई ‘ग्रिन सिग्नल’ दिने काम भएको छ कि छैन भनेर बुझेका छन्।
चाक्सीबारी छलफलको निष्कर्ष सुनाउन मंगलबार बूढानीलकण्ठ पुगेका नेताहरूले सभापति देउवासँग करिब पौने २ घन्टा कुरा गरेका थिए।
आफ्नो टिमबाट अबको सभापति उम्मेदवारबारे कसैलाई वचन दिएको अवस्था छ कि छैन भन्ने मुख्य चासो देउवानिकट ५ जना पूर्वपदाधिकारीहरूको थियो।
चाक्सीबारीमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शशांक कोइराला र प्रवक्ता प्रकाशशरण महतले सोमबार छलफल गरेर विभिन्न विषयमा सभापतिको ध्यानाकर्षण गराउने निर्णय गरेका थिए।
मंगलबार ७ भाइको प्रतिनिधित्व गर्दै ५ जना पूर्वपदाधिकारी देउवा निवास पुगेका थिए। पूर्वउपसभापति निधि इजरायलका राजदूतसँग भेटवार्तामा व्यस्त रहे भने पूर्वमहामन्त्री कोइराला बिपी स्मृति दिवसमा सुन्दरीजल गएकोले बूढानीलकण्ठमा थिएनन्।
कुराकानीको सुरूवात पूर्वउपसभापति गोपालमान श्रेष्ठले गरे। उनले नेपाली कांग्रेस फुटेर नेपाली कांग्रेस (प्रजातान्त्रिक) बन्ने बेला सभापति देउवालाई साथ दिएकोलगायत फेहरिस्त सुनाए।
पार्टी फुट र देउवामाथि संकट आइपरेका बेला साथ दिएका नेताहरूलाई दुई पटकसम्म सभापति र पटकपटक प्रधानमन्त्री भइसकेका देउवाले चटक्क भुल्न नहुने कुरा श्रेष्ठले राखे।
१५ औं महाधिवेशनका लागि देउवा समूह एकढिक्का राख्नुपर्ने, पहिलेदेखि दु:ख गर्दै आएका र संकटमा देउवासँगै उभिएकालाई प्राथमिकता दिनुपर्ने कुरा श्रेष्ठको थियो।
अबको सभापति उम्मेदवार चयन गर्नुअघि आफूहरूसँग परामर्श गर्नसमेत श्रेष्ठले सभापति देउवालाई सुझाव दिएका छन्।
‘सभापतिजीले हामीसँग पनि परामर्श गर्नुपर्यो, हामी पार्टीमा सिनियर मानिसहरू हौं, तपाईंलाई पूरा सहयोग गर्दै आएका साथीहरू हौं, आगामी १५ औं महाधिवेशनका लागि सभापति देउबाबाट मैले ग्रिन सिग्नल पाइसकेँ भनेर केही हिँडिरहेका छन्, के हो त्यो कुरा?,’ उपसभापति श्रेष्ठले सभापति देउवालाई सोधे।
सभापति देउवाले तत्काल जबाफ दिए- मैले कसैलाई ग्रिन सिग्नल दिएको छैन।
यसपछि श्रेष्ठले २०७८ सालमा भएको १४ औं महाधिवेशनको कुरा निकालेका थिए।
‘म पनि १४ औं महाधिवेशनमा सभापति पदको आकांक्षी थिएँ। तपाईंले नै मलाई बालुवाटार बोलाएर तपाईंले १० औं महाधिवेशनदेखि नै सहयोग गर्नुभएको छ यसपालि पनि मलाई नै सहयोग गर्नस् गोपालमानजी भन्नुभएको हो, १५ औंमा तपाईंलाई मेरो उम्मेदवार बनाउँछु भन्नुभएको थियो, त्यसबेला त्यहाँ दाइ-भाउजू नै हुनुहुन्थ्यो,’ श्रेष्ठले पुराना कुरा निकाल्दै देउवालाई भने।
यसपछि श्रेष्ठले पार्टी फुटेको बेलाको कुरा निकालेका के थिए- विजयकुमार गच्छदार बोल्न थाले।
‘गोपालमान दाइ कार्यवाहक सभापति हुनुहुन्थ्यो, म महामन्त्री थिएँ, हामीले ११ औं महाधिवेशन गरेर तपाईंलाई निर्विरोध सभापति बनायौं। तर तपाईंले त्यतिबेला अलिकति स्पेश दिनुभएन, पदाधिकारी बनाउनुभएन। त्यसमा मलाई चित्त दुखेको थियो,’ गच्छदारले भने।
गच्छदारलाई पनि देउवाले तत्काल जबाफ दिए- खोइ, त्यसबेला म जेलमा थिएँ, के-के भयो, धेरै कुरा मैले भुलेँ पनि!
यसपछि विजयकुमार फेरि बोले। ‘सभापतिजी, खोइ त, गोपालमानजीलाई वरिष्ठ नेता बनाउने भनेर पटकपटक कुरा गरिएको थियो, बनाउनु भएन। उहाँलाई वरिष्ठ नेता बनाउनुस्,’ गच्छदारको भनाइ थियो।
बूढानीलकण्ठमा पालैपालो सबै नेताहरूले कुरा राखेका थिए।
समसामयिक राजनीतिक घटनाक्रम, सरकारका कामकारबाही, सरकारका एक वर्षका काम र मन्त्रीहरूका मूल्यांकनलगायत विषयमा उनीहरूले सभापति देउवासँग कुरा राखेका थिए।
सरकारले चुस्तदुरूस्त काम गर्नुपर्यो, भ्रष्टाचारमा जोडिएकाहरूलाई संरक्षण गरेको भन्ने सुनिन्छ, त्यसबाट उन्मुक्ति पाउनुपर्यो, राजनीतिक कार्यदलले पनि मुलुकको स्वार्थलाई हेर्नुपर्यो, यो गठबन्धन २०८४ सम्म जाओस् भन्ने इच्छा भए पनि एमालेसँग भएको सहमतिअनुसार ७ बुँदे कार्यान्वयन हुनुपर्यो भन्ने विषयमा उनीहरूले सभापति देउवासँग कुरा राखेका थिए।
रूपन्देही ३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनमा पनि कांग्रेसले विजय हासिल गर्ने गरी तयारी थाल्नुपर्ने उनीहरूको भनाइ थियो। ‘पुरानै उम्मेदवार उठाएर हुन्छ कि नयाँ उठाएर हुन्छ, कांग्रेसले नै रूपन्देही ३ मा विजय हासिल गर्नेगरी सभापतिजी अघि बढ्नुपर्छ भनेर कुरा राख्यौं,’ पूर्वउपसभापति श्रेष्ठले भने, ‘सभापतिजीले सल्लाह गर्दै जाऔंला भन्नुभयो।’
उक्त छलफलमा सहभागी प्रवक्ता प्रकाशशरण महतले चाक्सीबारी छलफललगायत विभिन्न समसामयिक राजनीतिक घटनाक्रमबारे सभापतिलाई ‘ब्रिफिङ’ गरिएको बताए।
‘पहिले पार्टीको विभिन्न जिम्मेवारीमा रहनुभएका साथीहरूले समन्वय भएन भन्ने कुरा गर्नुभयो, पार्टीभित्र र सरकारका कतिपय कुराहरूमा पनि समन्वय गरेर जानुपर्ने आवश्यकता औंल्याउनुभएको छ,’ उनले भने, ‘सरकारको भूमिका प्रभावकारी बनाउनुपर्छ, नियुक्ति, सरूवा र बढुवालाई पारदर्शी बनाउनुपर्छ भन्ने कुरा छन्, सबै नियुक्ति प्रधानमन्त्रीको पार्टीले गर्ने कुरा पनि आउँदैन, यो गठबन्धन सरकार हो।’
प्रवक्ता महतका अनुसार छलफलमा निजामती सेवा विधेयकमा राखिएको दुई वर्षे कुलिङ पिरियड, एमालेले राष्ट्रिय सभामा राखेको संशोधन, भूमि विधेयकलगायत विषय पनि उठ्यो।
‘कुलिङ पिरियड २ वर्ष राख्ने सहमति भएको हो, त्यो राख्नैपर्छ भनेर सभापतिज्यूले पनि भन्नुभएको छ,’ उनले भने, ‘भूमि विधेयक पनि हतार गर्नु हुन्न, सबैको सहमतिले निष्कर्षमा पुगेपछि मात्र सदनमा अघि बढाउनुपर्छ भन्ने सभापतिज्यूको कुरा छ।’
पार्टीभित्र पुराना र नयाँ पुस्तालाई जोडेर सँगसँगै लैजानुपर्ने आवश्यकता रहेको पनि उनले बताए।
चाक्सीबारीमा सोमबार भएको छलफलमा नेता शेखर कोइरालाको पछिल्लो सक्रियता- प्रमुख प्रतिपक्षी दल नेता प्रचण्ड र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटबारे पनि कुरा उठेको थियो। पूर्वमहामन्त्री शशांक कोइरालाले यस विषयमा चासो देखाएका थिए।
मंगलबार शशांक देउवा निवासमा थिएनन् तर पनि त्यहाँ शेखरको पछिल्ला गतिविधिबारे नेताहरूले प्रश्न उठाए।
‘राष्ट्रपति भइसकेको व्यक्ति फेरि पार्टीमा सक्रिय हुने कुरा संविधानको बर्खिलाप हो, गणतन्त्रलाई हसीउडाउनुजस्तै भएन र यो?,’ पूर्वउपसभापति गोपालमान श्रेष्ठले भने, ‘हुन त यसबारे एमालेभित्र पनि छलफल चलिरहेको छ, आवश्यक निर्णय लिन्छ होला। हाम्रो शेखरजीले पनि पूर्वराष्ट्रपतिजीलाई अहिलेको परिस्थितिमा भेट्न हुँदैनथ्यो।’
शेखरको प्रसंग आएपछि सभापति देउवाले ‘बाहिर धेरै हल्लाखल्ला गर्नुभन्दा संसदीय दल नेता परिवर्तन गरेर देखाउन’ भनेका थिए। २०७९ पुस ६ मा भएको संसदीय दल नेता निर्वाचनमा देउवाले ६४ र गगन थापाले २४ मत ल्याएका थिए।
साथै सभापति देउवाले गठबन्धन सरकारका विषयमा केही कुरा भए सार्वजनिक रूपमा बोल्नुअघि आफूलाई भने प्रधानमन्त्रीलाई सुनाएर समस्या हल गर्ने कुरा राखेका थिए।
बूढानीलकण्ठको छलफलमा श्रेष्ठले ठट्टा गर्दै थपे, ‘केपी ओलीजीले ५३/५४ वर्षकी विद्यादेवी भण्डारीजीलाई राष्ट्रपतिमा पठाउनुभयो। उहाँ दुई कार्यकाल राष्ट्रपति भएर रिटायर्ड हुँदा अहिले ६३/६४ वर्ष पुग्नुभयो होला, उमेर बाँकी नै छ भनेर उहाँ फेरि सक्रिय राजनीतिमा आउन खोज्नुभएजस्तो छ। सभापतिजी, अब राष्ट्रपति सिफारिस गर्दा ७० कटेकालाई मात्रै गर्नू!’
यो कुरा सुनेर सभापति देउवा पनि फिस्स हाँसे।
सभापति देउवाले बालुवाटार नै पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी पूर्वराष्ट्रपति एमाले राजनीतिमा फर्कन लागेकोमा ध्यानाकर्षण गराएका थिए भने नेपाली सेनाको परमाधिपति भइसकेको व्यक्ति पार्टी विशेषको राजनीतिमा फर्कन मिल्दैन भनेका थिए।
सभापति देउवानिकट ११ जना नेताहरू गत फागुन २ गते पनि सभापति देउवालाई भेटेर अबको सभापतिलगायत विषयमा कुराकानी गरेका थिए। त्यसबेला पनि अबको सभापति उम्मेदवार नभनेका देउवाले यसपालि पनि नेताहरूलाई आफूपछि समूह नेता को हो भनेर प्रष्ट भनेनन्।
‘सभापतिज्यूले समय आएपछि भन्नुहोला, तर सभापतिजीले केही संकेत गर्नुभएन भन्दैमा हामीले आफ्नो गतिविधि रोक्ने कुरा आउँदैन, आफ्नो ढंगले हामी सक्रिय भइरहन्छौं,’ प्रवक्ता महतले भने।
१५ औं महाधिवेशनका लागि महामन्त्री गगन थापा र नेता शेखर कोइरालाले प्रचार र दौडदुप गरिरहेको भन्दै देउवा समूहमा पनि उम्मेदवार तोकेर गतिविधि सुरू गरिहाल्न नेताहरूले माग गरेका छन् तर सभापति देउवाले यसबारेमा चासो देखाएका छैनन्।
एमालेसँग ७ बुँदे सहमतिअनुसार सभापति देउवा प्रधानमन्त्री बन्ने पालो कुर्दैछन्। २०८३ असारमा ओलीले देउवालाई प्रधानमन्त्री हस्तान्तरण गर्ने सहमति छ। यसपछि मात्रै सभापति देउवाले १५ औं महाधिवेशन गर्ने तयारी गरेका छन्।