काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/ ८३ का लागि बजेट ल्याएको छ।
आइतबार राष्ट्रिय सभा गृहमा बसेको नगर सभा बैठकमा उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट पेश गरेकी हुन्।
पूर्वाधारमा ५१ प्रतिशत, शिक्षा स्वास्थ्य तथा सामाजिक क्षेत्रमा २० प्रतिशत र बाँकी अन्य क्षेत्रका लागि बजेट ल्याएको छ।
यही नगरसभा सुरूमा मेयर बालेन शाहले नीति तथा कार्यक्रम पेश गरेका थिए। नीति तथा कार्यक्रम पास गर्नासाथ उपमेयर डंगोलले बजेट पेश गरेकी हुन्।
काठमाडौं टावर नक्सा पास विवाद सुरू भएयता ६ महिनापछि शुक्रबार मात्रै मेयर बालेनले कार्यपालिका बैठक डाकेका थिए।
मेयर बालेन आगामी आर्थिक वर्षको बजेट ल्याउन र कार्यपालिका बैठक बोलाउन उपमेयर सुनिता डंगोल र तीन जना वडाध्यक्षले मेयर बालेनसँग विभिन्न चरणमा छलफल गर्दै आएका थिए।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले काठमाडौं टावरको नक्सा स्वीकृत गरेपछि मेयर बालेनले उनको उपस्थितिमा कुनै हालतमा बैठक नराख्ने अडान लिएका थिए। जसले गर्दा महानगरको बजेट समयमा आएको थिएन।
स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० गतेभित्र बजेट ल्याउनुपर्ने र २५ गतेभित्र नगरसभाबाट पास गर्नुपर्ने प्रावधान छ। तर महानगरले भने कार्यकारी र मेयरको विवादका कारण बजेट समयमा आएको थिएन।