क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ।
अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था डाइरेक्ट रिलिफको सहयोग र वान हार्ट वर्ल्डवाइडको समन्वयमा क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरु मन्त्रालयलाई हस्तान्तरण गरिएको हो।
मन्त्रालयले आइतबार नै क्यान्सर उपचारमा संलग्न चार अस्पतालहरु; विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल,भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँके र वीर अस्पताल काठमाडौंलाई हस्तान्तरण समेत गरेको छ।
औषधिहरु असार २७ गते शुक्रवार नेपाल आइपुगेका थिए। सोही दिन स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले भण्डारण गरेको थियो। औषधि तथा सामग्रीहरु हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा क्यान्सरका धेरै समस्याहरु रहेको र औषधि पनि महँगो रहेको बताए।
साथै उपलब्ध हुन समस्या हुने र विपन्न नागरिकहरु यसको पहुँच बाहिर रहने भएकाले विपन्न नागरिकहरुलाई लक्षित गरी औषधि ल्याइएको उनले बताए।
यसले धेरै नागरिकलाई राहत पुर्याउने विश्वास आफ्नो रहेको पनि बताए। औषधिमा राज्यको कुनै लगानी नरहेको र राज्यको लगानी बिनै नागरिकलाई केही राहत दिनका लागि सरकारले प्रयास गरेको बताए।
मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा क्रमशः सुधार गर्दै लैजाने प्रतिवद्धता जनाउनु भयो। नेपालमा झन्डै ५० लाख मानिसले अस्पताल जानुपर्छ, उपचार सेवा उपलब्ध छ, राज्यले कतिपय रोगको निःशुल्क उपचार गर्दछ भन्नेकुरा नै जानकारी नहुने गरेको बताए।
लक्षित समूहलाई यसबारे बुझाउने गरी काम गर्न जरुरी रहेको बताए।
'यी अस्पतालहरुमा हाम्रो स्वास्थ्य सेवा विभागमार्फत हामीले यो औषधि उपलब्ध गराउनेछौँ। यसले धेरै नागरिकलाई राहत पुर्याउनेछ भन्ने हाम्रो विश्वास छ। राज्यको कति पनि लगानी भएको छैन। राज्यको लगानी बिनै नागरिकलाई केही राहत पुर्याउने कोशिस गरेका छौं,’ उनले भने।
स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर आदि स्वास्थ्य समस्यामा प्रयोग हुने यी औषधि र स्वास्थ्य सामग्रीहरु चार अस्पतालमा क्यान्सरका बिरामीहरुलाई निःशुल्क उपलब्ध गराइनेछ।
मन्त्रालयले सम्बन्धित निकायहरुको सहयोग र समन्वयमा यि औषधि तथा स्वास्थ्य सामग्रीहरु भविष्यमा पनि निरन्तर उपलब्ध गराइने मन्त्रालयले बताएको छ। –न्युज एजेन्सी नेपाल