राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूविरूद्ध गुट बनाएर घेराबन्दी भएको बताएका छन्।
काठमाडौं क्षेत्र नम्बर ५ को जनजागरण तथा अगुवा कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आफूलाई असहयोग भइरहेको बताएका हुन्।
‘हिजोअस्ती गुट बनाएर, थर्काएर, अध्यक्षलाई घेराबन्दी गरेर हिँड्ने?,’ पार्टी महामन्त्री धवल शम्शेर राणालाई लक्ष्य गर्दै उनले भने।
अध्यक्ष लिङ्देनले यसो भनिरहँदा महामन्त्री राणालगायतले काठमाडौंमा शनिबार दिउँसो बेग्लै भेला गरेका थिए।
उक्त भेलाले अध्यक्ष लिङ्देन विधानअनुसार नचलेकोले निर्वाचन आयोगमा ध्यानाकर्षण गराउने निर्णय गरेको थियो।
अध्यक्ष लिङ्देनले असार २५ गते सगुनसुन्दर लावतीलाई प्रवक्ताबाट पदमुक्त गरेका थिए भने सोही दिन अनुशासन समिति अध्यक्षमा उपाध्यक्ष रोशन कार्कीलाई मनोनीत गरेका थिए। त्यसअघि अनुशासन समिति अध्यक्ष नवराज सुवेदी थिए।
सुवेदीले चैत ४ गते ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ घोषणा गरेका थिए। उक्त समितिको संयोजक सुवेदी नै बसे भने राप्रपा परित्यागको घोषणा गरेका थिए।
अध्यक्ष लिङ्देनले पार्टीभित्रका असन्तुष्टहरूलाई लक्ष्य गर्दै आफूले गल्ती गरेको भए महाधिवेशनमा हराउन चुनौती पनि दिए।
‘मैले गल्ती गरेको छु भने महाधिवेशनमा हराइदिने हो अहिले अल्झाउने होइन,’ उनले भने, ‘महाधिवेशनले मलाई म्यान्डेट दिएको छ, अहिले काममा सघाउने हो। अध्यक्षले मनोनीत गर्ने भनेर विधानमै भएका मानिसहरू चाहे उपाध्यक्ष हुन्, महामन्त्री हुन्, अध्यक्षको सहयोगको लागि हो। अध्यक्षलाई अल्झाउन, बदनाम गर्न, नभएको कुरा सञ्चार माध्यममा लेख्न र लेखाउन बनाइएको होइन।’
आफूले मनोनीत गरेकाहरूले आफैलाई घेराबन्दी गरेको भनाइ अध्यक्ष लिङ्देनको छ।
यो पनि: अध्यक्ष लिङ्देनको निर्णयविरूद्ध निर्वाचन आयोग जाँदै राप्रपा महामन्त्री धवल शम्शेरलगायत